Comments Add Comment

देउवाले बोलाए पदाधिकारी बैठक, पौडेल समूह आन्तरिक छलफलमा

१६ असार, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो बस्ने गरी शीर्ष नेतासहित पदाधिकारी बैठक बोलाएका हुन् ।

पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनका बारेमा छलफल गर्न बैठक बोलाइएको बताए ।

कांग्रेसमा क्रियाशील सदस्यताको विषयमा तीव्र विवाद देखिएको छ । असार २० गते क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानविन समितिलाई जिम्मेवारी दिइएको छ । तर समितिले नयाँ सदस्यताका बारेमा मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानविन गर्न सकेको छैन ।

छानविन समितिले क्रियाशील सदस्यबारे बनाएको मापदण्डको ड्राफ्ट यसअघिको पदाधिकारी बैठकमा पेश गरेको थियो । तर पदाधिकारी बैठकमै सहमति नजुट्दा समितिले काम अगाडि बढाउन सकेको छैन । बिहीबार बस्ने पदाधिकारी बैठकले सदस्यता छानविन बारे मापदण्ड बनाउने बताइएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

यसैबीच बिहीबार बोलाइएको पदाधिकारी बैठकमा आफ्ना तर्फबाट साझा धारणा तय गर्न बुधबार बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसेको छ । महामन्त्री शशांक निवास महाराजगञ्जमा बसेको बैठकमा क्रियाशील सदस्यका बारेमा छलफल भएको एक नेताले बताए ।

ती नेताका अनुसार पार्टी समायोजनका नाममा प्रक्रियाविपरीत क्रियाशील सदस्यता वितरण भएकाले त्यसको निष्पक्ष छानविन हुनुपर्ने धारणा बैठकमा नेताहरुले राखेका छन् । साथै निश्चित मापदण्ड बनाएर मात्रै क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्नेमा उनीहरुको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment