Comments Add Comment

बिटिएस ब्यान्डले कसरी विश्वकै तन्नेरीलाई आफ्नो वशमा पार्दैछ ?

अहिले नेपाली किशोरपुस्ताले सर्वाधिक सुन्ने गीत कुन होला ? उनीहरुले मन पराउने संगीत-शैली कस्तो होला ? कुन गायक वा सांगीतिक समूहले उनीहरुको मन जितेको होला ? मोबाइलमा कसको वालपेपर राखिएको होला ?

यसको जवाफ खोज्दै जाँदा ‘बिटिएस’मा गएर ठोक्किन्छ ।

बिटिएसको बारेमा भनिहालौं । के-पप अर्थात् कोरियन पप संगीतको सर्वश्रेष्ठ समूह हो, बिटिएस । यसको मूल उच्चारण, बाङतान सोन्योन्दान । यसमा किशोर उमेरका सात जना सदस्य छन् । कलकलाउँदो उमेरका । उस्तै बान्की परेका । एकै छिमलका ।

उनीहरु सबैले गीत गाउँछन्, एकमुष्ठ । सबै नाच्छन् । यसमा छन्, जंग कुक । उनी व्यान्डका मुख्य भोकलिस्ट हुन् । अर्का भोकलिस्ट छन्, भि अर्थात किम ते ह्याङ । लिड भोकलिस्ट छन्, जिमिन । त्यसपछि र्‍यापर छन्, सुगा, किम नाम जुन, जाङ हो सक ।

यी सातै जनाले अहिले वैश्विक संगीत सत्ता आफ्नो पोल्टामा पार्दैछन् । अहिले यस्ता किशोर-किशोरी सायदै होलान्, जो बिटिएसलाई चिन्दैनन् । बिटिएसलाई सुन्दैनन् । बिटिएसलाई अनुशरण गर्दैनन् ।

यस्तो संगीतले युरोप-अमेरिकामा तहल्का मच्याइरहेको छ, जसको मूल भाषा अंग्रेजी होइन । दक्षिण कोरियाको सांगीतिक समूह मेरिकी एल्बम चार्टमा पहिलो नम्बरमा उक्लिरहेको छ ।

बिटिएसले संगीत इतिहासमा नयाँ-नयाँ कीर्तिमानी कायम राखेका छन् । चाहे कन्सर्टको हिसाबले होस् वा युट्युबमा भ्युजको हिसाबले, अपत्यारिलो र अपरिचित यात्रामा छ यो ब्यान्ड । आफ्नो मुलुकको कला-संस्कृतिलाई विश्वभर फैलाइरहेको यस व्याण्डले दक्षिण कोरियाको अर्थव्यवस्थामा समेत ठोस योगदान दिइहेको छ ।

कीर्तिमानी यात्रा

उसो त वैश्विक मञ्चले उनीहरुकै ब्यान्डलाई आमन्त्रण गरिरहेको छ ।  बिलबोर्डले बिटिएसलाई शीर्ष भ्रमण कलाकारको ४५ औं स्थानमा राखेको थियो । बिलबोर्ड संयुक्त राज्य अमेरिकास्थित सबैभन्दा लोकपि्रय संगीत एल्मब सूचीकरण गर्ने एक रेकर्ड चार्ट हो । भनिन्छ, बेलायती सांगीतिक समूह ‘द बिटल्स’ पछि द्रूत रुपमा आफ्ना एल्बमहरु सार्वजनिक गर्ने सांगीतिक समूह पनि हो यो ।

यसैगरी फोब्र्सको कोरियाली संस्करणले बिटिएसलाई सर्वाधिक प्रभावशाली हस्तीहरुको रुपमा सन् १९१८ र सन् २०२० मा सूचीकृत गरेको थियो । विख्यात म्यागजिन ‘टाइम’को अन्तर्राष्ट्रिय संस्करणको आवरणमा ‘अर्को पुस्ताको नेता’ को रुपमा चित्रित गरिएको थियो भने त्यसमा बिटिएसलाई २५ सबैभन्दा प्रभावशाली इन्टेरनेट व्यक्तित्वको रुपमा समावेश गरेको थियो ।

सन् २०१९ सम्ममा बिटिएसले दक्षिण कोरियाको अर्थव्यवस्थाको लागि ४ दशमलव ६५ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गर्ने विश्वास गरिएको थियो ।

ग्रामी अवार्डको मनोनयनमा पर्ने पहिलो कोरियन ब्यान्ड हो यो । उनीहरुको लोकपि्रय गीत ‘डाइनामाइट’ ग्रामी अवार्डको सर्वश्रेष्ठ पप डुओ तथा ग्रुप पफर्मेन्स विधामा छनौट भएको थियो ।

युनिसेफको साझेदारीमा उनीहरुको लभ माइसेल्फ हिंसा विरोधी अभियानको स्थापनापछि बिटिएसले संयुक्त राष्ट्रको ७३ औं महासभालाई सम्बोधन गरेका  थिए । यसैगरी बिटिएसले कोरियाली भाषा र संस्कृति फैलाएकोमा उनीहरुको योगदानका लागि दक्षिण कोरियाका राष्ट्रपतिबाट सबैभन्दा कम उमेरको सम्मान प्रदान गरेका थिए ।

यस ब्यान्डको गीत ‘डाइनामाइट’ सार्वजनिक भएको चौबिस घण्टा नबित्दै दश करोड बढी पटक हेरिएको थियो । त्यसबेला युट्युबमा एकै दिनमा सर्वाधिक भ्युज कमाउने भिडियो बनेर कीर्तिमानी बनाएको थियो ।

यही गीतका लागि ब्यान्डले ‘टप सेलिङ सङ’ अवार्ड उचाल्यो । त्यसैगरी ब्यान्डको पछिल्लो म्युजिक भिडियो ‘बटर’ सार्वजनिक भएको १३ मिनेटमै एक करोड भ्युज पाएको थियो ।

कसरी उदय भयो बिटिएस ?

दक्षिण कोरियाको सिओलबाट यो व्यान्डको उदय भएको हो । सन् २०१० मा आधा दर्जन बढी कलिला किशोर समूहले एउटा सांगीतिक समूह गठन गरे । त्यसको तीन वर्षपछि उनीहरु आधिकारिक रुपमै प्रकट भए । सन् २०१३ मा ‘टु कुल फोर स्कुल’ जारी गर्दै संगीत यात्रा सुरु गरे । छोटो अवधिमा छलाङ मार्दै विश्वमाझ आफ्नो चिनारी दिन सफल भए ।

कलकलाउँदो युवाहरुको यो सांगीतिक समूहले दक्षिण कोरियाको कला-संस्कृतिलाई विश्वको रंगमञ्चमा फैलाइरहेका त छन् नै अर्थतन्त्रमा पनि ठोस योगदान दिइरहेका छन् ।

बिग हिट इन्टरटेनमेन्ट नामक रेकर्ड लेबल अन्र्तगत सांगीतिक समूहको रुपमा यसको गठन भएको थियो । सन् २०१५ मा ‘द मोस्ट ब्युटिफुल मोमेन्ट इन लाइफ’, सन् २०१६ मा ‘द मोस्ट ब्युटिफल मोमेन्ट इन लाइफः योङ फरएभर र बिङ्गस गीति संग्रहसँगै बिटिएस सर्वव्यापी भए ।

सन् २०१७ सम्ममा आइपुग्दा बिटिएस अन्तर्राष्ट्रिय संगीत बजारमा प्रवेश गरिसकेको थियो । रमाइलो कुरा, यस समूहको गीतले अमेरिकामामा असंख्य कीर्तिमानी तोड्दै अमेरिकाको रेकर्डिङ उद्योग संघबाट प्रमाणपत्र प्राप्त गर्ने पहिलो कोरियाली सांगीतिक समूह बनेको थियो ।

‘लभ योरसेल्फः टियर’ बिलबोर्ड २०० को शीर्ष स्थान प्राप्त गर्ने पहिलो कोरियाली एल्बम हो । त्यसपछि बजारमा ल्याएको लभ योरसेल्फः एन्सर्स, म्याप अफ द सोलः पर्सोना, म्याफ अफ द सोलः ७ सँगै बिटिएसले विश्व संगीतमा कीर्तिमानी र अपराजित यात्रा तय गर्‍यो ।

किन रुचाइयो ?

युवाहरुको गीतमा प्रेम एवं विरहको कुरा गरिन्छ । तर, बिटिएस त्यसमा फरक छन् । उनीहरुको गीतमा बुलिङ, आफू स्वयंलाई स्वीकार्ने, मानसिक स्वास्थ्य जस्ता विषय समेटिन्छन् ।

गीतको मीठास छँदैछ, त्यसमाथि उनीहरुको प्रस्तुतिले लोभ्याउँछ । एकै छिमलका यी युवाहरुको हाउभाउ र आकर्षक पहिरन शैली पनि चाखलाग्दो हुन्छ । अक्सर भिडियोमा सात जना नै देखापर्छन् । त्यसैगरी स्टेजमा पनि उनीहरु सबै सम्मिलित हुन्छन् । उनीहरुलाई प्रत्यक्ष सुन्न लालायित भिड बढ्दो छ । जसले गर्दा स्टेज प्रस्तुतिको लागि पनि यो ब्यान्डको दौडधुप कम छैन ।

संगीत, पर्फमेन्स, स्टाइल, फेसनको एउटा परिपूर्ण प्याकेज हो, बिटिएस ।

मूलतः यो हिपअप सांगीतिक समूह हो, जसको सांगीतिक शैलीमा हरेक किसिमको संगीत सामेल छ । उनीहरुको गीत अक्सर व्यक्तिगत टिप्पणीमा केन्दि्रत हुन्छ । मानसिक स्वास्थ्यको विषयमा हुन्छ । कम उमेरको बच्चाको समस्या, युवाको प्रेम अनि दुःख, सामाजिक विषय र व्यक्तित्ववादलाई उनीहरुले गीतमा उधिन्छन् ।

नयाँ क्षेप्यास्त्र

उत्तर कोरियामा कोरियन पप अर्थात के पप सुनेमा समेत कडा सजाय तोकिएको छ । के-पपका गायकले झँै स्टाइल पारेको, कपाल काटेको, कुर्कुच्चामाथि हुनेगरी पाइन्ट लगाएको आरोपमा तीन जना युवालाई जेल शिविरमा पठाएका थिए ।

उत्तर कोरियाले के-पपलाई दक्षिण कोरियाको सांस्कृतिक अतिक्रमणको रुपमा बुझेको छ । सोही कारण यसलाई निषेध गर्नका लागि जोडतोडले लागिपरेको छ । त्यहाँका शासक किम जोंग उनले दक्षिण कोरियाको के पपलाई ‘क्रुर क्यान्सर’को संज्ञा दिएका छन् ।

यता दक्षिण कोरियाका सरकारले भने आफ्नो मुलुकको सांस्कृति विस्तारमा योगदान गरेको भन्दै यस्ता ब्यान्डलाई धाप मारिरहेका छन् । खासगरी बिटिएसलाई । दक्षिण कोरियाका राष्ट्रपतिले बिटिएसलाई सम्मान समेत गरिसकेका छन् ।

बिटिएसले संगीतमार्फत विश्वमा दक्षिण कोरियाको भाषा, शैली, फेसनलाई फैलाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment