+
+
Shares

फोहोर पानी सिधै खोलामा नछाड्न उद्योग विभागको निर्देशन

डिप बोरिङबाट सफा पानी बगाउन आग्रह

उद्योग विभागका अनुसार उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्ड विपरीत सिधै खोलामा विसर्जन गरी प्रदूषण बढाएको भन्दै उजुरीहरू प्राप्त भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योग विभागले प्रशोधन नगरिएको फोहोर पानी नदी र खोलामा सिधै नछोड्न उद्योगहरूलाई निर्देशन दिएको छ ।
  • दीपावली र छठको मुखमा वीरगञ्ज–पथलैया करिडोरको सिर्सिया नदी आसपास प्रदूषण बढेपछि स्थानीयले समस्या भोगेको भन्दै विभागले सूचना जारी गरेको छ ।
  • विभागले वातावरणीय मापदण्डअनुसार मात्र पानी निष्कासन गर्न र संयुक्त अनुगमन तथा निरीक्षण गर्ने जनाएको छ ।

१३ कात्तिक, काठमाडौं । उद्योग विभागले नदी तथा खोलामा प्रशोधन नगरिएको फोहोर पानी सिधै नमिसाउन उद्योगहरूलाई निर्देशन दिएको छ ।

विशेषगरी दीपावली तथा छठजस्ता चाडपर्वको मुखमा नदी प्रदूषणका कारण स्थानीयलाई समस्या भएको गुनासो बढेपछि विभागले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

विभागका अनुसार उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्ड विपरीत सिधै खोलामा विसर्जन गरी प्रदूषण बढाएको भन्दै उजुरीहरू प्राप्त भएका छन् ।

विशेषगरी वीरगञ्ज–पथलैया करिडोरको सिर्सिया नदी आसपास उद्योगहरूले निष्कासन गरेको प्रदूषित पानीले स्थानीयलाई दीपावली र छठ पर्व मनाउन समेत कठिनाइ भएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ ।

यसैलाई मध्यनजर गर्दै चाडपर्वका अवसरमा नदीको स्वच्छता कायम राख्न सम्पूर्ण उद्योगलाई विशेष संवेदनशील हुन आग्रह गरिएको छ ।

विभागले नेपाल सरकारले निर्धारण गरेको वातावरणीय मापदण्ड अनुरूपको पानी मात्रै उद्योगबाट बाहिर पठाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

साथै, चाडपर्वको समयमा नदी स्वच्छ बनाउन उद्योगहरूलाई आफ्नै ‘डिप बोरिङ’ वा अन्य स्रोतबाट स्वच्छ पानी पठाएर नदी सफा गर्ने कार्यमा थप सहयोग गर्नसमेत अनुरोध गरिएको छ ।

उल्लिखित व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन भए वा नभएको जाँच्न सरोकारवाला निकायहरूको ‘संयुक्त अनुगमन तथा निरीक्षण’ गरिने सूचनामा उल्लेख छ । जसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग, वातावरण विभाग, प्रदेश अन्तर्गतका उद्योग विभाग, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसम्मको सहभागिता रहने छ ।

प्रचलित वातावरणीय कानुन तथा मापदण्ड परिधिभित्र रही नदी प्रदूषण नियन्त्रण गर्नु सबैको साझा दायित्व भएको स्मरण गराउँदै विभागले तत्काल आवश्यक व्यवस्था मिलाउन सम्पूर्ण उद्योगलाई सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?