Comments Add Comment

तनहुँमा बाढीपहिरो : दुई जनाको मृत्यु, २६ परिवार विस्थापित

छाब्दी खोलामा आएको बाढी ।

१७ असार, पोखरा । बन्दीपुर गाउँपालिका उपप्रमुखको टोली बुधबारमात्रै विभिन्न क्षेत्रमा अनुगमनका लागि गएको थियो । अनुगमनका क्रममा बन्दीपुर-३ तामुङको एक घर पहिरोको उच्च जोखिममा देखियो ।

घरमाथिबाट पहिरो आउन सुरु गरेर बाटोमा रोकिएको थियो । पहिरोको उच्च जोखिममा केही घर थिए । ‘माथि बाटोमै आएर पहिरो रोकिएको थियो । त्यतिबेलै यहाँ नबस्नुस् आफन्तको गएर सुरक्षित बस्नुस् भनेर फर्किएका थियौं,’ पालिका उप-प्रमुख करुणा गुरुङले भनिन् ।

गुरुङको टोली त्यहाँबाट फर्किएको केही समयपछि निरन्तर परेको पानीबाट बाटोमा रोकिएको पहिरो बस्ती छिर्‍यो । पहिरोमा परी दुई जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बदीपुर-२ तामुङका ७२ वर्षीय हरिमाया सार्की र ३० वर्षीय सरस्वती थापा छन् । ‘दुई जनालाई बिहानै पुरिएकै अवस्थामा उद्धार गरियो । उहाँहरुको अवस्था गम्भीर भए पनि अहिले क्रमिक रुपमा सुधार आइरहेको जानकारी आएको छ,’ उनले भनिन् ।

पहिरोमा परी थापाका आफन्त ६६ वर्षीय दिलबहादुर थापामगर, ५८ वर्षीया दाउरीमाया थापामगर र २६ वर्षीय सुवास थापा मगर घाइते भएका छन् । घाइतेहरुको दमौली अस्पतालमा उपचार भइरहेको गुरुङले जानकारी दिइन् ।

बन्दीपुरकै ५ नम्बर वडामा पनि ३ घर पहिरोले पुरिएका छन् भने ८ घर विस्थापित भएको गुरुङले बताइन् । ‘१ नम्बर वडामा पनि ८ वटा घर पुरिएका छन् । १८ भन्दा बढी घर विस्थापित भएका छन्,’ उपाध्यक्ष गुरुङले भनिन्, ‘अरु वडामा पनि धेरै घरमा आंशिक क्षति पुर्‍याएको छ ।’

बन्दीपुरकै तल्लोडुम्रे बजार क्षेत्रमा बाढीका कारण बजार नै डुबानमा परेको छ । बाढी, पहिरोका कारण सडक बगाउँदा वडा कार्यालय जाने अवस्था नै नरहेको उप-प्रमुख गुरुङको भनाइ छ ।

तनहुँकै व्यास नगरपालिकाको छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाइदिएको छ । व्यास १ र १३ जोड्ने पक्की पुल बाढीले बगाएका कारण आवतजावत ठप्प छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment