Comments Add Comment

चार जना सहसचिव सचिवमा बढुवा, प्रशासनतर्फ अझै ३ सचिव पद रिक्त

Photo Credit : फाइल तस्वीर

१८ असार, काठमाडौं । सरकारले चार जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

मन्त्रिपरिषदको बिहीबारको बैठकबाट डा. दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, डा. कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्य सचिवमा बढुवा भएका हुन् । डा. दामोदर रेग्मी र पाण्डे प्रशासनतर्फ तथा आचार्य र बज्राचार्य प्राविधिकतर्फबाट सचिवमा बढुवा भएका हुन् ।

रेग्मी ज्येष्ठताको आधारमा बढुवा भएका हुन् । ज्येष्ठताको आधारमा बढुवा हुने लाइनमा उनी एकमात्र अधिकारी थिए । प्रशासनसेवातर्फ सिफारिस भएका तीन जना वरिष्ठ सहसचिवमध्ये गणेशप्रसाद पाण्डेलाई सचिवमा बढुवा गरिएको छ ।

यसैगरी सचिव बढुवा सिफारिस समितिले प्रशासनतर्फबाट बढुवा गर्न पाण्डेसँगै मधुसुदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई पनि सिफारिस गरेको थियो । यी तीनजनामध्ये मन्त्रिपरिषद बैठकले पाण्डेलाई चुनेको हो ।

सिफारिस समितिले कृषि तथा वनसेवातर्फ रिक्त रहेको एक सचिव पदका लागि वरिष्ठ सहसचिव डा. कृष्णप्रसाद आचार्यसहित निरु दाहाल पाण्डे र दीपक खरालको नाम पनि सिफारिस गरेको थियो । सिफारिस सूचीको एक नम्बरमा रहेका आचार्यलाई नै मन्त्रिपरिषद बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले इन्जिनियरिङ सेवातर्फ सहसचिव बज्राचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिले बज्राचार्यसँगै सहसचिवद्वय सुशीलचन्द्र तिवारी र गोविन्द सिग्देललाई सिफारिस गरेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रशासनतर्फ अझै तीन सचिव पद रिक्त छ । अब बढुवाको सिफारिस हुने लाइनमा सहसचिवहरु मधुसुदन बुर्लाकोटी, खगेन्द्र नेपाल, किरणराज शर्मा, रामप्रसाद घिमिरेलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment