 
																			१९ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको हो ।
यसअघि बिहीबार राति पनि यी दुई नेताबीच संवाद भएको स्रोतको भनाइ छ । नेता नेपालले ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए भने ओलीले भने बैठकमा सहभागी हुन निम्तो दिएका थिए ।
तर ओली र नेपाल आ–आफ्नो अडानमा कायमै छन् । अध्यक्ष ओलीले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी १८ असारमा केन्द्रीय कमिटी बैठक राखेका थिए । उक्त बैठकबाट अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको चेतावनीयुक्त डेडलाइन दिएका हुन् ।
अध्यक्ष ओलीले शनिबार पनि बैठक बोलाएका छन् । तर माधव नेपाल समूह यो बैठक अवैध भएको सहभागी नहुने अडानमा छ । दुवै नेता अडानमा कायमै रहँदा संकटमा परेको एमाले एकता जोगाउन भने दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।
अहिले पनि दोस्रो तहका नेताहरु ललितपुरस्थित समिट होटलमा छलफलमा छन् । त्यहाँ नेताहरुबीच संवाद भएपछि उपमहासचिव घनश्याम भुसाल माधव नेपाल निवास कोटेश्वर पुगेका थिए । भुसालले माधव नेपाल निवास पुगेर दुई नेताबीच टेलिफोन सम्वाद गराएका एक नेताले बताए ।
ओली र नेपालबीच टेलिफोन कुराकानी भएपछि भुसाल समिट होटल फर्किएका छन् । ‘घनश्याम भुसाल कोटेश्वर पुगेपछि दुई नेता बीच टेलिफोनमा कुराकानी भएको छ । त्यसपछि उहाँ (भुसाल) फर्कदै हुनुहुन्छ । फेरि पनि हामी छलफलमा बस्छौं’, समिट होटलमा रहेका एक नेताले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4