Comments Add Comment

पर्सामा पनि विपक्षी गठबन्धन सक्रिय

१९ असार, वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चावन्दीमा रहेका विपक्षी गठबन्धन पर्सामा पनि एकजुट भएका छन् ।

शनिबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गरी एकजुट भई अघि बढ्ने जानकारी दिएका छन् ।

संविधान, विधिको शासन, समाजवाद उन्मुख समृद्धिको मार्गचित्रलाई विलुप्त गरी पुनः अध्याँरो सुरुङभित्र देशलाई धकेल्ने वर्तमान संघीय सरकार र राष्ट्रपति कार्यालयको भूमिकाविरुद्ध ५ राजनैतिक दल मोर्चावद्ध भएको वक्तव्यमा उल्लेख छ ।

विगतमा गरिएको एकल प्रयासहरु निश्प्रभावी भएका कारण एकजुट भई अगाडि बढ्न लागिएको नेकपा एमाले माधव नेपाल समूहका अध्यक्ष बालगोपाल थापाले जानकारी दिए । पर्सामा असार १७ गते ५ राजनीतिक दलका नेताहरुको संयुक्त बैठक बसेको थियो ।

उनीहरुले तत्कालका लागि कोरोना महामारी, प्राकृतिक प्रकोप, अतिवृष्टि, चट्याङ, बाढी, डुबान र प्रहरी हस्तक्षेपविरुद्ध एक्येबद्ध भई अघि बढ्ने निर्णय गरेका छन् ।

‘…संविधानको रक्षार्थ र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासलाई प्रतिगमन विरुद्ध उभिनु कत्र्तव्य ठानेका छौं र एकजुट भएका हौं’ ५ दलको संयुक्त वक्तव्यमा भनिएको छ ।

पाँच राजनीतिक दलले महामारीप्रति राज्य जति गम्भीर हुनुपर्ने, पूर्वतयारी गर्नुपर्ने, रोकथाम तथा उपचारका उपायहरु गर्नुपर्ने जति अवलम्बन नगरेको ठहर गरेको छ ।

राहतका नाममा भ्रष्टाचार, अस्पतालमा आवश्यक उपकरण र औषधीजन्य वस्तुको खरिद एवं व्यवस्थापनमा देखादेखी भ्रष्टाचार बढेको आरोप उनीहरुले लगाएका छन् ।

संयुक्त बक्तव्यमा राहत स्वरुप संकलन भएको सहयोगमाथि पनि प्रश्न उठाइएको छ । पाँच दलले बाढी, पहिरो र चट्याङबाट समस्यामा परेकाहरुको उद्धार र राहत वितरणमा सक्रिय हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment