Comments Add Comment

२२ वर्षमै गुपचुप विवाह गरेका थिए आमिर खानले

आमिर खान आफ्नो मर्जीका मालिक हुन् । आफ्नो विवाह पनि उनले आफ्नै मर्जी अनुसार गरे । रीना दत्तसँग उनको गुपचुप प्रेम थियो । आमाबुवा, भाइबहिनी कसैलाई पनि खबर नगरी अचानक उनले रीनासँग विवाह गरे । उता रीनाको परिवारमा पनि उनीहरूको विवाहबारे थाहा थिएन । रीना र आमिरले कानूनी विवाह गरे, सन् १९८६ मार्च १४ मा ।

यसको भेउ पाएकी थिइन्, रीनाकी बहिनी अञ्जुले । उनले आमाबुवालाई भनिदिने धम्की पनि दिएकी थिइन् । रीनाका पिता एअरइन्डिया मुम्बईका म्यानेजर थिए । कुनै कामले उनी कोलकाता गएका थिए । त्यसैले यो विवाहको राज खुल्न समय लाग्यो ।

आमिर-रीना दत्तको जब विवाह भयो, त्यसबेला रीना विद्यार्थी थिइन् । उनी आफ्नै घरमा बसेर विद्यालय धाइरहेकी थिइन् । आमिर खान २२ वर्षका लक्का जवान थिए । आमिर त्यसबेला  ‘कयामत से कयामत तक’को छायांकनमा थिए । त्यसैले आमिर र रीनाको प्रेम भइरहेको कुरा धेरैले भेउ नै पाएनन् ।

यो पनि पढ्नुहोस आमिर खानले गरे डिभोर्स

रीनालाई आमिरले मन पराउँथे । रीना घरमा खेलेको आमिरले नियालिरहेका हुन्थे । कहिलेकाहीं आमिरले रीनालाई आफ्नो घरमा लैजान्थे । आमा, काकीहरूसँग भेट गराइदिन्थे ।

पछि आमिर र रीना एक भए । उनीहरूको कोखबाट दुई सन्तान जन्मिए । १७ वर्षसम्म उनीहरूको घरजाम कायम रह्यो । सबैकुरा ठीकठाकै देखिन्थ्यो । तर, रीना र आमिर अलग हुने निर्णयमा पुगे । यो अनपेक्षित कुराले धेरैलाई आश्चर्यमा पार्‍यो । आमिर र रीनालाई उनीहरूका साथीले सम्झाई-बुझाई गरे । दुवैले एकसाथ रहने प्रयास पनि गरे । तर, परिणाम सकारात्मक निस्किएन । आखिर यो विवाह टुट्यो । आमिर र रीना अलग भए । दुवैलाई यो पीडाबाट बाहिर आउन समय लाग्यो ।

आमिरले केही अघि बताएका थिए, रीनाले फिल्म ‘लगान’मा गरेको काम अझै पनि उनले भुल्न सक्दैनन् । उक्त फिल्मका लागि रीनालाई निर्माणको अभिभारा दिइएको थियो । शुरुमा रीनाले फिल्मको काममा आफ्नो कुनै अनुभव नभएको बताएकी थिइन् । तर, पछि फिल्ममेकरसँग भेट्ने, छलफल गर्ने र बुझ्ने काम गरिन् । सोही अनुभव उनले फिल्म ‘लगान’को लागि खर्चिइन् ।

यही बखत आमिर खानको भेट भयो, किरण रावसँग । उनीहरू एकअर्काका साथी जस्तै थिए । तर, त्यो मित्रता प्रेममा बदलियो । प्रेम विवाहमा । त्यसबेलासम्म आमिरले रीनासँग सम्बन्धविच्छेद गरिसकेका थिए ।

किरणले आमिरलाई फिल्मको काममा सघाउँदै आएकी थिइन् । उनीहरू अक्सर एकसाथ देखिन्थे । दुवै एक छोरोका आमाबुवा पनि भइसकेका थिए । यस्तो लाग्थ्यो, सबैकुरा ठीकठाक छ । तर, अचानक उनीहरूले सम्बन्धविच्छेद गर्ने घोषणा गरेर सबैलाई अचम्मित तुल्याइदिए ।

सम्बन्धविच्छेद गरे पनि दुवै व्यावसायिक साझेदार रहने बताएका छन् । साथै आफ्ना बच्चाको लालनपालनमा पनि दुवैको सहभागिता रहने बताइएको छ । उनीहरूले यसलाई एक अन्त्यको रुपमा नभई नयाँ अध्यायको सुरुआतको रूपमा लिन आग्राह गरेका छन् ।

त्यसो त पूर्व पत्नी रीना र किरणबीच राम्रै सम्बन्ध छ । उनीहरू एकअर्काको राम्रो मित्र बनेको आमिरले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment