Comments Add Comment

मेयर शाक्यलाई कलाकारको प्रश्न : कलाको शहरमा कलाकै हत्या ?

२० असार, काठमाडौं । कोरोना महामारीमा अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्रकला महानगरपालिकाले मेटाएको विरोधमा कलाकारहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्दै फ्रन्टलाइनरको सम्मान गर्न महानगरपालिकालाई आग्रह गरे ।

दुजाङ शेर्पासहितका कलाकारले रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा संक्रमितको उपचार र सर्वसाधारणको सेवामा खटिएकाहरुको सम्मानमा चित्रकला बनाएको थियो । तर महानगरपालिकाले उक्त चित्र मेटाइदिएको थियो । त्यसको विरोधमा आइतबार महानगरप्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापन पत्र बुझाउन गएका कलाकारले टोलीले पुन: चित्र कोर्न दिन माग गरेको छ ।

‘स्वास्थ्यकर्मी लगायत कोरोना महामारी नियन्त्रणका लागि दिनरात लाखौं बिरामीहरुको उपचार गरेकालाई उचित सम्मान र हौसला नभएकोले महामारीमा खटिएकाहलाई उच्च सम्मान प्रकट गरौं भनी सकारात्मक सन्देशमा लिई उक्त स्थानमा पुनः फ्रन्टलाइनरमा खटिएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, पत्रकार, शव व्यवस्थापनमा खटिएका व्यक्ति र सरसफाइकर्मीको चित्र कोर्न पाउँ भनी अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।

वडा कार्यालयसँग अनुमति लिएर चित्रकला बनाए पनि अचानक मेटाउँदा फ्रन्टलाइनर र कलाकर्मीहरुको चित्त दुखेको चित्रकलाको परिकल्पनाकार दुजाङ शेर्पाले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

प्रदर्शनका क्रममा कलाकारहरुले ‘कलाको शहरमा कलाकै हत्या ?’ भन्दै मेयर शाक्यलाई प्रश्नसमेत गरेका छन् ।

तस्वीर : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment