News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र क्षेत्रका संस्थाहरू केवल चुनाव र औपचारिकतामा मात्र सीमित नभई चलचित्रकर्मीको क्षमता विकासमा लाग्नुपर्ने आवाज उठेको छ।
नेपाली चलचित्र क्षेत्रमा आज संस्था धेरै छन् । निर्देशक समाज, कलाकार संघ, निर्माता संघ, प्राविधिक संघ, पत्रकार संघ लगायत विभिन्न नामका संगठन सक्रिय देखिन्छन् । कुनै पनि पेशागत क्षेत्रमा संगठन हुनु आफैंमा नराम्रो होइन । संगठनले अधिकारको आवाज उठाउँछ, पेशागत सुरक्षा दिन्छ र सामूहिक शक्ति निर्माण गर्छ । तर अहिले फिल्म क्षेत्रभित्र उठिरहेको मुख्य प्रश्न भने फरक छ– संस्था केवल नामका लागि हुन् कि वास्तवमै कामका लागि ?
हालै चलचित्र कलाकार संघको चुनाव सम्पन्न भयो । नयाँ नेतृत्वका रूपमा उत्तम केसी चयन भएका छन् । कलाकारहरूको हकहित, सुरक्षा, अवसर र पेशागत सम्मानका लागि स्थापित यो संस्थाले अब कलाकारका वास्तविक समस्या बुझेर समाधानमुखी काम गर्न सक्छ कि सक्दैन भन्ने चासो धेरैमा देखिन्छ ।
त्यसैगरी चलचित्र निर्देशक समाजले पनि नयाँ नेतृत्व पाएको छ । समाजको अध्यक्षमा अरुण कुमार प्रधान निर्वाचित भएका छन् । नयाँ पुस्ता, नयाँ सोच र व्यावसायिक वातावरण निर्माण गर्ने जिम्मेवारी अब उनको काँधमा आएको छ । निर्देशकहरूबीच सहकार्य, सिर्जनात्मक बहस र पेशागत सुरक्षामा संस्थाले प्रभावकारी भूमिका खेल्नुपर्ने अपेक्षा गरिएको छ ।
उता चलचित्र प्राविधिक संघमा भने पुस्कर लामा लामो समयदेखि नेतृत्वमा देखिँदै आएका छन् । अन्य व्यक्तिले नेतृत्व लिन नसकेको हो, वैकल्पिक नेतृत्व तयार नभएको हो वा उनी प्रभावशाली भएकैले निरन्तर दोहोरिइरहेका हुन् भन्ने कुरा प्राविधिक क्षेत्रकै मानिसहरूले राम्रोसँग बुझ्लान् । तर एउटै व्यक्तिमा लामो समय नेतृत्व केन्द्रित भइरहँदा नयाँ सोच, नयाँ ऊर्जा र नयाँ पुस्ताको सहभागिता कति बढिरहेको छ भन्ने प्रश्न भने स्वाभाविक रूपमा उठ्ने गरेको छ ।
चलचित्रको गुणस्तर केवल कलाकार वा निर्देशकले मात्र निर्धारण गर्दैनन् । प्राविधिक पक्ष बलियो नभएसम्म चलचित्र पनि बलियो बन्न सक्दैन । तर, नेपाली चलचित्र क्षेत्रमा अझै धेरै प्राविधिकहरू आधुनिक उपकरण र नयाँ प्रविधिसँग पर्याप्त रूपमा परिचित छैनन् भन्ने गुनासो सुनिन्छ । क्यामेरा, लाइट, साउण्ड, भिएफएक्स जस्ता क्षेत्रमा नियमित तालिम, वर्कशप र क्षमता अभिवृद्धिका कार्यक्रम आवश्यक भए पनि सम्बन्धित संस्थाहरू त्यसतर्फ प्रभावकारी रूपमा सक्रिय हुन नसकेको आरोप छ ।
एक प्राविधिक भन्छन्, ‘आज नयाँ र अत्याधुनिक क्यामेरा आयो भने चलाउन सक्ने मानिस नै अभाव हुन सक्छ । साउण्डदेखि भिएफएक्ससम्म धेरै क्षेत्रमा क्षमता विकास आवश्यक छ । तर नेतृत्वको ध्यान वास्तविक समस्याभन्दा बाहिरी गतिविधितर्फ बढी केन्द्रित देखिन्छ ।’
वास्तवमा नेपालका अधिकांश चलचित्रसम्बन्धी संस्थाहरू राम्रो उद्देश्यका साथ स्थापना भएका हुन् । कलाकार, निर्देशक, निर्माता, प्राविधिक र पत्रकारहरूको हकहित संरक्षण गर्ने, पेशागत सुरक्षा दिने, राज्यसँग समन्वय गर्ने र उद्योगलाई व्यवस्थित बनाउने उनीहरूको मूल उद्देश्य थियो । तर व्यवहारमा हेर्दा धेरै संस्था आफ्नो उद्देश्यअनुसार प्रभावकारी रूपमा अघि बढ्न नसकेको गुनासो स्वयं फिल्मकर्मीहरूबाटै आउने गरेको छ ।
कतिपय संस्था चुनावको समयमा मात्र सक्रिय हुने गरेको आरोप पनि लाग्ने गर्छ । चुनाव सकिएपछि गतिविधि शून्यजस्तै हुने आरोप लाग्दै आएको छ । पदाधिकारीहरू कार्यक्रममा उपस्थित हुने, खादा र माला लगाउने, फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने काममै सीमित हुने प्रवृत्ति बढेको भन्दै आलोचना हुने गरेको छ । तर कलाकार, प्राविधिक वा पत्रकारले भोगिरहेका वास्तविक समस्या भने उस्तै छन् ।
फिल्म क्षेत्रभित्र बेरोजगारी, असुरक्षित कार्य वातावरण, न्यून पारिश्रमिक, अवसरको असमानता, श्रम शोषण, प्राविधिक कमजोरी र पत्रकारिताभित्र बढ्दो अराजकता जस्ता थुप्रै समस्या अझै समाधानको प्रतीक्षामा छन् । त्यसैले अब संस्था नाम, पद र औपचारिक कार्यक्रममा सीमित नभई परिणाम देखिने गरी काम गर्नुपर्ने आवाज उद्योगभित्रैबाट उठ्न थालेको छ ।
चलचित्र निर्देशक समाजका नवनिर्वाचित अध्यक्ष अरुण कुमार प्रधानले आफू निर्देशकहरूको सच्चा प्रतिनिधिका रूपमा संस्थामा आएको बताएका छन् । उनका अनुसार अब संस्था केवल औपचारिक कार्यक्रममा सीमित रहने छैन । निर्देशकहरूको क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय स्तरका वर्कशप, अक्षयकोष स्थापना, डिजिटल डाटाबेस निर्माण लगायतका योजनाहरू अघि सारिएको उनले बताएका छन् ।
‘अब संस्था खादा ओढ्ने र भाषण गर्ने थलो मात्र बन्नु हुँदैन’ उनी भन्छन्, ‘यसले चलचित्र उद्योगलाई बलियो बनाउने दिशामा व्यवहारिक काम गर्नुपर्छ ।’
यता चलचित्र निर्देशक तथा निर्देशक समाजका पूर्वअध्यक्ष केपी पाठक पनि संस्थाहरू चुनावमुखी सक्रियता र कार्यकालभर निष्क्रियताको चक्रमा फसेको बताउँछन् । उनका अनुसार सदस्यहरूको हकहित, क्षमता विकास र पेशागत सुरक्षामा प्रभावकारी काम नहुँदा संस्थाप्रतिको विश्वास कमजोर बन्दै गएको छ ।
पाठक भन्छन्, ‘अब नेतृत्व पदका लागि होइन, कामका लागि चाहिन्छ । पारदर्शीता, जवाफदेहिता र निरन्तर सक्रियताबिना संस्थाको औचित्य पुष्टि हुँदैन ।’
आज नेपाली फिल्म उद्योग संक्रमणको चरणमा छ । नयाँ पुस्ता विश्वस्तरको सोच बोकेर अघि बढिरहेको छ । डिजिटल प्लेटफर्म, अन्तर्राष्ट्रिय बजार र नयाँ प्रविधिसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । यस्तो समयमा संस्थाहरू केवल चुनाव गराउने र पद बाँड्ने माध्यममा सीमित भए भने त्यसले उद्योगलाई कुनै फाइदा पुर्याउने छैन ।
फिल्म निर्माण केवल व्यवसाय होइन, सिर्जनात्मक उद्योग पनि हो । त्यसैले चलचित्र क्षेत्रमा नयाँ सोच, स्वस्थ समीक्षा संस्कृति, प्राविधिक दक्षता र सृजनात्मक बहसलाई प्रोत्साहन गर्ने वातावरण आवश्यक छ ।
अब संस्थाहरूले भाषणभन्दा बढी काम, प्रचारभन्दा बढी परिणाम र पदभन्दा बढी जिम्मेवारी देखाउन सक्नुपर्छ । अन्यथा फिल्म क्षेत्रमा उठिरहेको प्रश्न अझै तीव्र हुनेछ– ‘यी संस्थाहरूको वास्तविक औचित्य आखिर के हो ?’
प्रतिक्रिया 4