Comments Add Comment

दुर्भाग्य ! संविधान पुस्तिकामा चुच्चे नक्सा छैन : डा. देवकोटा

फाइल तस्वीर

२१ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले सरकारले पुरानै नक्सा प्रचलनमा कायमै राखेको भन्दै आपत्ति जनाएका छन् ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकमा पहिलो पटक बोलेका देवकोटाले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा, जुन चुच्चे नक्साका रुपले पनि चर्चित छ, त्यसको प्रयोगमा जोड दिएका हुन् ।

राष्ट्रियसभा अध्यक्षले आफूलाई सपथ खुवाएर सांसद पदको लोगो लगाइदिनुका साथै  संविधानको पुस्तिका, प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली, डायरी भएको झोला दिएको भन्दै उनले भने, ‘दुर्भाग्य ! यहाँले मलाई दिनुभएको संविधानको पुस्तिकामा, डायरीमा र प्रतिनिधिसभाको नियमावलीमा पुरानै नक्सा छ ।’

उनले अघि भने, ‘सरकारका अंगहरुलाई नयाँ नक्सा प्रयोग गर भनेर निर्देशन दिने निकायले यसरी पुरानै नक्सा अंकित दस्तावेजहरु प्रयोग गर्न मिल्ला र अध्यक्ष महोदय ?’ आफूलाई दिएको डायरीमा त प्रदेशहरुको नाम समेत अंकमा रहेको उनले बताए । संसदको वेबपेजमा पनि पुरानै नक्सा अंकित संविधानको दस्तावेज रहेको र सरकारी वेबसाइटमा पनि त्यस्तै भएको उनले बताए ।

उनले अघि भने, ‘मैले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय लगायत अधिकांश मन्त्रालयका वेबपेजहरुमा संविधानको दस्तावेज देखिन । भएको पनि त्यही पुरानो नक्सा भएको छ । यो त हाम्रो संविधानप्रति भद्दा मजाक होइन र ?’

राष्ट्रियसभा सदस्य डा. भट्टराईले संघीय सरकारमा सबै मैले गर्ने हो भने केन्द्रीकृत सोच र मानसिकता देखिएको बताए । प्रदेश र स्थानीय तहमा कर्मचारीको ठूलो समस्या रहेको, २०३ वटा स्थानीय तह निमित्तको भरमा चलिरहेको र अधिकांश वडामा वडासचिव नभएको भन्दै उनले भने, ‘कर्मचारी समायोजनमा प्रदेश र स्थानीय तहलाई अवमूल्यन हुने गरी गरिएको छ ।’

अर्का राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले ठूलो दल विभाजन उन्मुख हुनु दुःखद भएको बताए । राष्ट्रिय सहमति बनाएर जान सके संघीयता तथा लोकतन्त्रविरुद्ध उठ्ने आवाज निस्तेज पार्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment