Comments Add Comment

५३ प्रतिशतले बढ्यो सामसुङको नाफा, ३ महिनाको नाफा ११ अर्ब डलर

काठमाडौं । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले पछिल्लो तीन महिनामा कीर्तिमानी मुनाफा हात पारेको छ । चालू वर्ष सन् २०२१ को दोश्रो त्रैमासिकमा कम्पनीको मुनाफामा ५३ प्रतिशतले बढोत्तरी भएको छ ।

चिपको मूल्य तथा मागमा भएको तीव्र वृद्धिसँगै सामसुङले अप्रिलदेखि जूनसम्मको अवधिमा साढे १२ ट्रिलियन कोरियन वन अर्थात् ११ अर्ब डलर मुनाफा कमाएको हो ।

विश्वको सबैभन्दा ठूलो मेमोरी चिप तथा स्मार्टफोन निर्माता कम्पनी सामसुङले यस अवधिमा १० अर्ब डलरसम्म मुनाफा हासिल गर्नसक्ने प्रक्षेपण यसअघि विश्लेषकहरुले गरेका थिए ।

दोश्रो त्रैमासिकमा सामसुङको कूल आम्दानीमा पनि १९ प्रतिशतले वृद्धि भएर ६३ ट्रिलियन वन पुगेको कम्पनीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

मेमोरी चिप्सको मूल्यमा भएको वृद्धिसँगै कन्जुमर एलेक्ट्रोनिक्स र डाटा सेन्टरका ग्राहकहरुको मागमा पनि वृद्धि हुँदा सामसुङको चिप डिभिजनको मुनाफा यसपटक गत वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतले बढेको छ ।

सर्भर, मोबाइल फोन तथा अन्य कम्प्युटिंग डिभाइसहरुमा प्रयोग हुने डिआरएएम चिप्सको मूल्य पहिलो त्रैमासिकमा भन्दा दोश्रो त्रैमासिक अवधिमा २७ प्रतिशतले बढेको छ । त्यस्तै डाटा स्टोरेजमा प्रयोग हुने एनएएनडी फ्लास चिप्सको मूल्यमा पनि ८.६ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको मेमोरी चिप्सको व्यापार अपेक्षाभन्दा उच्च हुँदा स्मार्टफोन बिक्रीमा भने केही गिरावट आएको छ । चालू वर्षको पहिलो त्रैमासिकमा ७ करोड ६० लाख स्मार्टफोन बिक्री गरेको सामसुङले दोश्रो त्रैमासिकमा जम्मा ५ करोड ९० लाख गोटामात्रै स्मार्टफोन बेच्न सक्यो ।

पहिलो त्रैमासिकमा लञ्च भएको सामसुङको फ्लागशीप मोडेलको बिक्री दोश्रो त्रैमासिकमा आइपुग्दासम्म सुस्त बनेको पाइएको छ । विश्लेषकका अनुसार भारत तथा भियतनाम लगायतका देशहरुमा फैलिएको कोरोनाको दोश्रो लहरका साथै मोबाइल प्रोसेसर चिपको आपूर्ति प्रणालीमा व्याप्त समस्याका कारण सामसुङको स्मार्टफोन व्यापारमा पनि असर परेको छ ।

उता हिमपात र आँधीका कारण क्षतिग्रस्त भएको अमेरिकाको टेक्सासस्थित चिप्स उत्पादन गर्ने कारखाना पुनः सञ्चालनमा आएसँगै आगामी दिनमा सामसुङको चिप व्यवसायबाट हुने मुनाफामा अझै वृद्धि हुने अपेक्षा गरिएको छ ।

टेक्सासस्थित सामसुङको चिप कारखाना बन्द हुँदा अमेरिकी चिप उत्पादक कम्पनी माइक्रोन टेक्नोलोजीले उच्च आम्दानी गर्न सफल भएको थियो ।

–रोयटर्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment