Comments Add Comment

म रुपा सुनार, सरस्वती प्रधान, प्रहरी वा प्रधानमन्त्री भएको भए …

कसैलाई आफ्नो परिस्थिति बुझाउन भन्ने गरिन्छ, ‘मेरो ठाउँमा उभिएर हेर्नु ।’ अंग्रेजीमा पनि एउटा भनाइ छ जसको नेपाली भावार्थ हुन्छ, ‘अर्काको जुत्ता लगाउनु ।’

अर्थात्, कसैको अवस्थाको अनुकरण गर्न सके मात्रै घटनाको यथार्थ बुझ्न सकिन्छ । अझ सजिलो गरी भन्दा, त्यो ठाउँमा म भएको भए के गर्ने थिएँ वा के सोच्ने थिएँ भन्ने कुराले निष्कर्षमा फरक पार्न सक्छ ।

अर्काको अवस्था वा अनुभूतिलाई अवमूल्यन गर्नाले र कम आँक्नाले पनि समस्याहरु झन् कचल्टिन्छन् । नेपालमा अहिले यसरी नै  कचल्टिएको घटना छ, बबरमहल कोठा भाडाको घटना । जहाँ एउटी युवती रुपा सुनारले जातको कारण कोठा पाइनँ भन्ने सोच्न बाध्य भइन् र घरबेटी भनिएकी सरस्वती प्रधानले आफ्नो सम्पत्तिमाथिको हक र मानवअधिकार हनन् भयो भन्ने ठानेकी छिन् ।

सो घटनामा भएको बहसका आधारमा समाज बाँडिएको छ, जहाँ व्यक्तिगत सम्पत्तिमाथिको हक र जातीय विभेदको श्रृङ्खलाका विवादहरु लामा–लामा र झन् लामा हुँदै तन्किएका छन् । समस्या के भयो भने, यो घटनामा ‘एकले अर्काको जुत्ता लगाउने’ वा ‘अर्काको ठाउँमा उभिएर नियाल्ने’ कोशिश गरेको देखिंदैन ।

सरस्वती प्रधानको विनम्र र हल्का नै भए पनि रुपा सुनारमाथि ‘प्याट्ट लागेकै’ हो । जन्मजात अकारण नै लागेको चोटमा प्याट्ट लाग्दा रुपाले हामीले सोचेभन्दा बढी पीडा महसूस गर्नु, उनको आत्मसम्मानमा चोट पर्नु स्वाभाविक हुन्छ ।

यसैले यो लेखमा म सो घटनासँग जोडिएका वा जोडिनुपर्ने पात्र वा संस्था भएको भए के गर्ने थिएँ भन्ने बारेमा लेख्दैछु । मैले यो लेखमा सरस्वती प्रधानले रुपा सुनारको जात थाहा पाएपछि भाडामा कोठा नदिएको हो भन्ने मानेको छु ।

यसका लागि रुपा सुनारको दाबी मात्रै होइन, सरस्वती प्रधानको ‘बाध्यतावश दिन नसकेको स्वीकारोक्ति’ लाई पनि आधार बनाएको हुँ । आशा छ, घटना निष्कर्षमा लैजान थोरै भए पनि यो लेखले सहयोग गर्नेछ ।

म रुपा सुनार भएको भए …

मानौं, एउटा मिल्ने वयस्क साथीले पछाडिबाट आएर के छ भन्दै हल्का किसिमले अर्को समवयी साथीको ढाडमा प्याट्ट हान्यो । ढ्याप पाउने साथी कहालियो । पीडाले हुरुक्कै भएजस्तै हल न चल भयो । त्यो देखेर साथीले भन्ला, ‘के विधि नाटक गरेको ? सधैंजसो यसो ढाडमा हानेको त हो ।’

यहाँसम्म हामीलाई पनि प्याट्ट हान्ने साथीकै तर्क ठीक लाग्छ । ढाडमा प्याट्ट छुँदैमा कहालिएर साथीले नाटक गरेझैं लाग्छ । तर प्याट्ट लागेकै ठाउँमा त्यो साथीको आलो चोट रहेछ भने ? वा पिलो आएको रहेछ भने ?

रुपा सुनारको घटनामा पनि भएको त्यस्तै हो । सरस्वती प्रधानको विनम्र र हल्का नै भए पनि रुपा सुनारमाथि ‘प्याट्ट लागेकै’ हो । जन्मजात अकारण नै लागेको चोटमा प्याट्ट लाग्दा रुपाले हामीले सोचे भन्दा बढी पीडा महसूस गर्नु, उनको आत्मसम्मानमा चोट पर्नु स्वाभाविक हुन्छ ।

त्यसपछि उनीसँग दुईवटा विकल्प रहन्थे, १. चुपचाप दुखाइ सहने । २. प्रतिकारमा उत्रिने । र, प्रतिकारमा उत्रिनका लागि कानूनी प्रक्रिया भन्दा उत्तम विकल्प सभ्य समाजमा अर्को शायदै हुन्छ । यदि म रुपा सुनार भएको भए रुपा सुनारले गरेझैं गर्ने थिएँ ।

म सरस्वती प्रधान भएको भए …

जुन देश र समाजमा सरस्वती प्रधान हुर्किइन्, त्यसमा तल्लो भनिएका जातहरुलाई घरमा राख्दाको अफ्ठ्यारो बुझ्न गाह्रो पर्दैन । त्यसमाथि वृद्ध व्यक्ति नै घरमा रहँदा घरायसी समस्या पर्न सक्ने सम्भावना बढी नै हुन्छ । विभेद वा अन्याय मन नपर्दा नपर्दै पनि सबै मानिसहरुमा त्यो प्रति विद्रोह वा प्रतिकार गर्ने क्रान्तिकारिता हुँदैन ।

सबै कुरा भइरहन दिएर आम जिन्दगी सरल रुपमा बिताउन चाहनु पनि आममानिसका लागि व्यावहारिक रुपमा त्यतिविघ्न गलत काम पनि होइन । सरस्वती प्रधानले त्यस्तै जिन्दगी बिताउन चाहिन् शायद । उनलाई सामाजिक विभेद भन्दा पारिवारिक कलह ठूलो लाग्यो, सामाजिक समानता भन्दा घरभित्रको शान्ति महत्वपूर्ण लाग्यो र रुपालाई कोठा दिइनन् ।

तर म सरस्वती प्रधान भएको भए रुपा सुनारलाई भन्ने थिएँ, ‘नानी, मैले त थाहै पाएको रहेनछु, घरमा अर्कैले कोठाभाडामा लगाइसकेछन् वा पाहुना आउन लागेकाले हामीलाई नै केही समय कोठा चाहिने रहेछ । पछि खाली भयो भने खबर गर्छु ल ।’

हो, मैले यसरी भनेको भए विभेदलाई कायम राखिरहेको हुन्थें, विभेद घटाउनमा मेरो योगदान रहन्न थियो तर रुपा सुनारको आत्मसम्मानमा चोट पर्थेन र यो घटना हुन्थेन ।

तर दुर्भाग्य, मैले बोल्न हेक्का राखिनँ, रुपाको आत्मसम्मानमा चोट परिसक्यो र घटना सार्वजनिक भइहाल्यो । म थाहा पाउनेबित्तिकै सुरुमा नै रुपाले जस्तै भिडियो बनाएर सार्वजनिक रुपमा आफूबाट भएको विभेदप्रति आत्मालोचना गर्थें वा व्यक्तिगत रुपमा भेटेर नै रुपासँग माफी माग्थें र घटनालाई अगाडि बढ्न दिने थिइनँ । एउटा अमूक जात मेरो पक्षमा आउँदा भन्ने थिएँ, ‘यो मेरो क्रियाको प्रतिक्रिया मात्रै हो । मप्रतिको चासो र समर्थनका लागि धन्यवाद छ तर जरुरत छैन ।’

यदि यी माथिका केही गर्न नसके पनि म रुपाले लकडाउनमा कोरोनाभाइरस फैलाएको, अपराध गर्न कोठा लिन खोजेको र आफ्नो मानवअधिकार हनन् गरेको भन्दै मानवअधिकार आयोगमा त कुनै हालतमा पनि जाने थिइनँ ।

र, कथंकदाचित मानवअधिकार आयोगमा रुपाको विरुद्धमा उजुरी दिएको रहेछु भने अब आफ्ना सबै गल्तीहरु सार्वजनिक रुपमा सच्याउने थिएँ । विभेदका विरुद्धमा नयाँ उदाहरण बनाउने थिएँ ।

म नेपाल प्रहरी भएको भए …

म रुपा सुनारको उजुरी लिने नेपाल प्रहरी भएको भए ढिलो नगरी कानूनी प्रक्रिया शुरु गर्ने थिएँ । आरोपी सरस्वती प्रधानलाई आरोप प्रमाणित नहुँदै अपराधी जस्तो व्यवहार गर्ने थिइनँ ।

केही प्रश्नको अनुसन्धान गरेर पक्कै म निष्कर्षमा पुग्ने थिएँ कि सरस्वती प्रधानबाट रुपा सुनारलाई थप आक्रमण वा विभेदको सम्भावना छैन, सरस्वती प्रधानबाट प्रमाण नष्ट हुने अवस्था छैन । म सरस्वती प्रधानलाई तीन दिनसम्म थुनामा राख्ने थिइनँ तर एकदमै संवेदनशील रुपमा कानूनी प्रक्रिया अगाडि बढाउने थिएँ ।

म शिक्षामन्त्री भएको भए …

आफ्नो क्षेत्राधिकारभित्र पर्दै नपरेको यो घटनामा मलाई किन केही भूमिका निभाइनस् भनेर कसैले खोजी गर्ने पनि थिएन । यसैले सके विपक्षमा उभिने थिएँ वा भोटको लोभमा परेर विपक्षमा उभिन नसक्ने भए म पक्षमा पनि देखिने थिइनँ ।

तर म आफ्नो जात खोज्दै जातिवादी बनेर आरोपीलाई आफ्नै गाडीमा राखेर घर पुर्याउन पुगें । मेरो मतिभ्रष्ट भयो । म सार्वजनिक रुपमा आफ्नो मतिभ्रष्ट कामप्रति आत्मालोचना गर्ने थिएँ ।

म प्रधानमन्त्री भएको भए ….

म सार्वजनिक रुपमा विभेदका विरुद्धमा आवाज उठाउँथें । कानूनी कारबाही अगाडि बढाउने साहस देखाएर कानूनी राज्यमा विश्वास गरेकोमा धन्यवाद भन्ने थिएँ । कानूनी कारबाही पारदर्शी बनाउन निर्देशन दिन्थें । र, आफ्ना शिक्षामन्त्रीलाई उचित कारबाही गर्न अगाडि सर्ने थिएँ ।

यहाँ बाहुन वा क्षत्री वा नेवारको मात्रै कुरा होइन, हरेक उपल्लो भनिएका जातले आफूभन्दा तलका भनिएका जातलाई विभेद गरेको छ । इतिहासमा राज्यले कानून नै बनाएर विभेद गरेको छ । ती गल्तीहरु मनन् गर्थें । मुलुकको कार्यकारीका रुपमा आत्मालोचना गर्ने थिएँ । माफी माग्ने थिएँ ।

अबदेखि विभेद हुन नदिन मुलुकले थप प्रयास गर्नेछ भन्ने प्रतिबद्धता जनाउने थिएँ । सबै विभेदको प्रतिनिधित्व गर्दै, क्षमा माग्न र क्षमा दिन वर्षमा एकदिन ‘क्षमा दिवस’ मनाउने घोषणा गर्ने थिएँ ।

तर …

तर म रुपा सुनार वा सरस्वती प्रधान वा नेपाल प्रहरी वा प्रधानमन्त्री केही पनि होइन । म गणेश कार्की हुँ । म क्षत्री बाबु र बाहुन आमाको सन्तान । म नाक चुच्चे वर्गमा समेटिएको । मैले जानीजानी जातीय विभेद गरिनँ । तर, मेरो जात आधुनिक नेपालको उदयदेखि नै राज्यसत्तामा रहेको वा निकट रहेको वा प्रत्यक्ष/अप्रत्यक्ष सहुलियत पाएको ।

म मान्छु, यो विभेदलाई बढावा दिन मेरा पूर्वजहरुको पनि प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका छ । म मेरो भागमा पर्ने गल्तीहरु स्वीकार्छु । म मेरा पूर्वजहरुको गल्तीमा पीडितहरुसँग माफी माग्छु ।

नागरिकका रुपमा विभेद हटाउन मैले भन्न सक्ने र गर्न सक्ने कामहरु पनि छन् । हाम्रो समाजमा जातीय विभेद नै छैन भन्नु र विभेद मात्रै छ भन्नु दुवै अतिवाद हुन् । नेपाली समाज ‘कालो र सेतो’ मात्रै थिएन र छैन । विभेद थियो, छ र त्यसलाई बदल्नु छ । आफैं हट्छ वा समय लाग्छ भन्ने कुराले विभेदको समर्थन मात्रै गर्छ ।

समय लाग्छ भनेर हजारौं वर्षदेखि चलेको कुप्रथाका लागि अझै कति हजार वर्ष वा सय वर्ष पर्खिएर बस्नु ? परिवर्तनको प्रयत्न जानकारीमा नआएको हुन सक्छ तर कसै न कसैले कुनै न कुनै किसिमले कुनै न कुनै समयमा प्रयास गरेपछि मात्रै परिवर्तन भएको हुन्छ । यसैले आफैं हुन्छ भनेर प्रयास गर्नेहरुको योगदानको अवमूल्यन नगरौं । विस्तारै हुन्छ भनेर पीडकहरुको आत्मविश्वास नबढाऔं।

यदि विकसित, सक्षम र समृद्ध देश चाहने हो भने सबैले संयमित हुनु छ । धेरै कुरा पहिलेदेखि नै असल र उदाहरणीय थिए, तिनलाई झन् सबल बनाउनु छ । धेरै कुरा पहिलेदेखि नै खराब थिए वा समय फेरिंदै जाँदा खराब भए, तिनलाई हटाउनु छ । विविधतालाई स्वीकार गरेर सबैको सम्मानजनक परिचय बनाउनु छ । मन अलिक चौडा बनेर छलफल चलाउनु छ ।

नत्र विभिन्न बहानामा एकअर्कालाई पाखा लाएरै हामी सकिन्छौं। पछि परेरै हाम्रो अझै निकै पुस्ता सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment