Comments Add Comment

तनहुँमा १७८ घरपरिवार पहिरोको उच्च जोखिममा

फाइल तस्वीर

२४ असार, तनहुँ। गत बुधबारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्रमा १७८ घरपरिवार उच्च जोखिममा रहेका छन् ।

घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् । बन्दिपुर गाउँपालिकामा मात्रै १३२ र ऋषिङ गाउँपालिकामा ४६ गरी उक्त सङ्ख्याका घरपरिवार विस्थापित भएका छन् ।

उक्त गाउँपालिकाको वडा नं २ स्थित खहरे खोलाले पाँच घर बगाएको छ । त्यसैगरी धारापानी, रामकोट र कल्चोकमा गरी उक्त सङ्ख्याका घरपरिवार विस्थापित भएका हुन् ।

घटना भएको जानकारी पाएसँगै उपाध्यक्ष करुणा गुरुङको नेतृत्वमा बाढी पहिरोबाट प्रभावितलाई भेटघाट गरी सुरक्षित स्थानमा स्थानान्तरणको लागि पहल गरिएको छ । जोखिममा रहेका घरमा नबस्न र सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको उपाध्यक्ष गुरुङले बताए ।

त्यसैगरी बन्दिपुर गाउँपालिका–१ स्थित कौसिनी छाप ठाडो खहरे खोलाले आसपास क्षेत्रका ६० घर परिवार पहिरोको कारण उच्च जोखिममा रहेको वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए ।

सुरक्षित स्थानमा एकीकृत बस्ती विकास गरी स्थानान्तरणको लागि पहल गरिदिन स्थानीय नरबहादुर चेपाङले आग्रह गरेको उनले बताए । त्यसैगरी ऋषिङ गाउँपालिका–५ मा १२ घर परिवार विस्थापित हुने अवस्थामा रहेका छन् ।

नेत्रबहादुर पाटा, धनबहादुर सोती, सुकबहादुर दरै लगायतका करिब ४६ घर परिवार उच्च जोखिममा रहेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । उनका अनुसार ६ घरमा पूर्ण र ४० घरमा आंशिक क्षति भएको छ ।

ऋषिङ जाने सडक तथा मार्गहरु अवरुद्ध भएकाले उद्दार गर्न नसकिएको उनले बताए । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । पहिराका कारण भित्र्याउने समयको मकै खेती र धानबालीमा पूर्ण क्षति भएको छ ।

तनहुँमा बिहीबार र केही अघि अविरल वर्षापछि गएको पहिरामा परी तीन जनाको मृत्यु एक बेपत्ता भएका छन् । बन्दिपुर गाउँपालिका–३ तामुङमा एक महिला एक पुरुषको मृत्यु भएको थियो भने ऋषिङ गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । एक पुरुष अझै वेपत्ता भएका छन् ।

बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिराले पुरिएर तनहुँमा एक जना बेपत्ता भएका छन् । यसरी पुरिएर बेपत्ता हुनेमा ऋषिङ गाउँपालिका कार्यालयका सुरक्षा गार्ड रहेका छन् ।

ऋषिङ गाउँपालिका-८ निवासी वर्ष ३८ का खुमबहादुर थापा पहिरामा परी बेपत्ता भएका हुन् । घरमाथिबाट आएको पहिराले गोठ पुर्दा थापा बेपत्ता भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । डोजर लगाएर उनको खोजी कार्य भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment