Comments Add Comment

रुपन्देहीमा फेरि बढ्यो कोरोना संक्रमण 

फाइल तस्वीर

२४ असार, बुटवल । रुपन्देहीमा पछिल्ला दिनमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पाँच दिन यता नयाँ संक्रमित थपिने क्रम निरन्तर बढेको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकले देखाएको छ ।

पछिल्लो २४ घण्टामा २०७ जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै तिलोत्तमाका २३ जना छन् भने बुटवलमा १३ जना, सैनामैनामा ५, कञ्चनमा २ जना छन् । यस्तै देवदह, मायादेवी र सिद्धार्थनगरमा १–१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

रुपन्देहीमा असार २० गते १८ जना, २१ गते २८ जना, २२ गते ३३ जना र २३ गते ४२ जना संक्रमित थपिएका थिए ।

पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै लापरबाही बढेकाले कोरोना संक्रमण दर बढ्न थालेको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए । निषेधाज्ञा खुकुलो भएर बजार व्यवसाय खुल्दा व्यापारी र उपभोक्ताबीच आपसमा संक्रमण फैलिएको हुनसक्ने डा. पाठकको भनाइ छ । संक्रमित धेरैजसो व्यवसायी रहेको पाइएको उनले बताए ।

‘निषेधाज्ञा खुकुलो भएसँगै अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या बढेको छ,’ डा. पाठकले भने, ‘बिहीबार दिउँसोसम्म अस्पतालको आकस्मिक कक्षमा मात्रै कोरोना संक्रमण पुष्टि भएका २१ जना बिरामी भर्ना भएका छन् ।’

दुई हप्ता अघिसम्म दिनमा ५–७ जना मात्र संक्रमित भर्ना हुन आउने गरेकोमा अहिले एक्कासी बढेको उनको भनाइ छ । अस्पतालमा बिहीबारसम्म आईसीयूमा ८ जना र जनरल वार्डमा १८ जना कोभिडका बिरामी उपचाररत् रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment