Comments Add Comment

हाइटीको राष्ट्रपतिको हत्यामा अमेरिका र कोलम्बियाका पूर्व सैनिक संलग्न

२५ असार, काठमाडौं । हाइटीको राष्ट्रपति जोभोनेल मोइसेको हत्यामा अमेरिका र कोलम्बिया मानिसहरुको समूहको संलग्नता रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार २८ जनाको उक्त टोलीमा २६ जना कोलम्बियाका नागरिक छन् भने दुई जना हाइटी मूलका अमेरिकी रहेको प्रहरी प्रमुख लिओन चाल्र्सले बताएका छन् ।

यो समुहका मानिसहरुमध्ये तीन जना प्रहरीबाट मारिएका छन् भने १५ जना कोलम्बियाका र दुई अमेरिकी नागरिक पक्राउ परेका छन् । अझै आठजना फरार छन् ।

मंगलबार राति हतियारधारी समुहले हाइटीका राष्ट्रपति मोइसेको हत्या गरेका थिए । आक्रमणमा मोइसेकी पत्नीलाई पनि गोली लागेको छ । अहिले उनको अमेरिकाको फ्लोरिडामा उपचार भइरहेको छ ।

अहिलेसम्म यो आक्रमणको प्रमुख योजनाकार को हुन् र आक्रमणको उद्देश्य भने खुल्न सकेको छैन । बिहीबार हाइटीको प्रहरीले केही आरोपीका साथै उनीहरुसँगको हतिया पासपोर्ट तथा अन्य प्रमाणहरु सार्वजनिक गरेको थियो । ‘विदेशीहरु हाम्रो मुलुकमा राष्ट्रपतिको हत्या गर्न आएका थिए’, चाल्र्सले भनेका छन्, ‘हामीले हाम्रो अनुसन्धानको दायरा र खोजी गर्ने तरिका फराकिलो पार्दै अन्य आठ आतंकवादीलाई नियन्त्रणमा लिनेछौं ।’

कोलम्बियाको सरकारले आरोपीमध्ये कम्तीमा ६ जना आफ्नो मुलुकका अवकाश प्राप्त सैनिक भएको बताएको छ । कोलम्बियाले हाइटीलाई अनुसन्धान कार्यमा सघाउने बताएको छ । अमेरिकाको विदेश मन्त्रालयले भने अहिलेसम्म आफ्ना कोही नागरिकहरु पक्राउ परेको पनि थाहा नभएको बताएको छ ।

अझै पनि यो आक्रमणका प्रमुख योजनाकार भने पक्राउ परेका छैनन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment