Comments Add Comment

सातामा प्रतिकिलो ४५ रुपैयाँले महंगियो कुखुराको मासुको मूल्य

२५ असार, काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै तयारी ब्रोइलर कुखुराको मासुको मूल्यमा उच्च वृद्धि भएको छ । एक सातामा तयारी कुखुराको मासुको खुद्रा मूल्य किलोमा ४५ रुपैयाँले बढेको खुद्रा विक्रेताहरुले बताएका छन् । गत आइतबार प्रतिकिलो ३४० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको तयारी कुखुराको मासुको भाउ शुक्रबार ३८५ रुपैयाँ पुगेको हो ।

बिहिबार मात्रै राष्ट्रिय कुखुरा बिक्री व्यावसायी संघले जिउँदो कुखुराको मूल्य बढाएको थियो । संघका सचिव देवकुमार गिरीकाअनुसार यो साता जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य दुई पटक बढेको छ ।

प्रतिकिलो २४० रुपैयाँ कोल्ड स्टोर मूल्यमा कारोबार भएको जिउँदो कुखुराको भाउ मंगलबार बढेर २५० रुपैयाँ पुगेको उनले बताए । यस्तै बिहीबार साँझ किलोमा १० रुपैयाँले बढेर जिउँदो कुखुराको मासुको मूल्य २६० रुपैयाँ पुगेको सचिव गिरीको भनाइ छ ।

‘एक साता अवधिमा जिउँदो कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले बढेको छ । तयारी मासुमा ४५ रुपैयाँको वृद्धि सामान्य नै हो,’ सचिव गिरीले अनलाइनखबरसँग भने ।

निषेधाज्ञा खुलेसँगै मासुको खपत बढेको तर मागको तुलनामा मासुको उत्पादन अत्यन्तै न्युन रहेको संघले जनाएको छ । निषेधाज्ञाका कारण बजारमा खपत नभएपछि देशैभर किसानले वर्षायामको लागि कुखुरा नपाल्दा अभाव भएको सचिव गिरीले बताए । साउन लाग्नै लागेका कारण कुखुरा उत्पादनमा अझै उत्साह नभएकाले मूल्य वृद्धिमा अझै बल पुग्ने संघको भनाइ छ ।

सामान्य अवस्थामा देशभर दैनिक झण्डै १० लाख किलो कुखुराको मासु उत्पादन एवम् खपत हुँदै आएपनि निषेधाज्ञा र वर्षायामका कारण झण्डै ५० प्रतिशतमा झरेको संघले जनाएको छ । वाणिज्य विभागकाअनुसार देशभरमा सबैभन्दा धेरै कुखुराको मासु खपत हुने शहर काठमाडौंलाई सामान्य अवस्थामा दैनिक साढे दुई लाख किलो तयारी मासुको माग छ ।

कोरोनाका कारण पार्टी प्यालेस, होस्टल र रेष्टुराँ व्यवसाय पूर्ण सञ्चालनमा नआएका कारण पूर्ण खपतको अवस्था भने नभइसकेको राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment