Comments Add Comment

दुई पांग्रे सवारीको बजारमा देखिएन उत्साह

२५ असार, काठमाडौं । अघिल्लो वर्ष १ असारमा लकडाउनलाई खुकुलो गरेसँगै धेरै मोटरसाइकल सो-रुमले ग्राहकको माग थेग्न सकेनन् । नेपालमा मोटरसाइकल एसेम्बल र आपूर्ति गरेर बेच्ने सबै कम्पनीका लागि त्यो अवस्था अनपेक्षित थियो ।

कोरोना माहामारीको मारमा परेका व्यवसायीहरुका लागि त्यसले ठूलो राहत दियो । कोभिड-१९ को दोस्रो लहरका कारण यो वर्ष पनि वैशाखदेखि निषेधाज्ञा भयो र असार ७ बाट खुकुलो हुन थाल्यो । व्यवसायीहरुको अनुमान थियो, दुई पाग्रेसवारीको माग उच्च हुनेछ । त्यसअनुसार आयात पनि गरेका थिए ।

तर लकडाउन खुकुलो भएको तेस्रो सातासम्म देखिएको ट्रेण्ड निराशाजनक रहेको व्यवसायीहरु बताउँछन् । निषेधाज्ञा खुलेपनि दुई पांग्रे सवारीको व्यापार सामान्य अवस्थमा फर्किन नसकेको मोटरसाइकल तथा स्कुटर विक्रेताहरुको गुनासो छ ।

टीभीएसका आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवाल गत वर्ष र यो वर्षको माग तुलना नै हुन नसक्ने बताउँछन् । ‘के कारण हो भन्न सक्दैनौं,’ उनी भन्छन्, ‘यो वर्ष बजारको अवस्था धेरै सकारात्मक छैन ।’

उनको गत वर्षको अनुभव सुनाउँदै उनी भन्छन्, ‘गत वर्ष त लकडाउन खुलानासाथ दोब्बरसम्म व्यापार बढेको थियो, माग थेगिनसक्नु थियो । यो वर्ष निषेधाज्ञा अघिको तुलनामा ६० देखि ७० प्रतिशतसम्म मात्रै माग आइरहेको छ ।’

नेपालमा सबभन्दा बढी बिक्री हुने बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता एचएच बजाजको पनि अनुभव त्यस्तै छ । कम्पनीका एक अधिकारी भन्छन्, ‘हामीले अपेक्षा गरेभन्दा उल्टो भयो, सामान्य अवस्थासँग तुलनामा ५० प्रतिशत मात्रै बिक्री भइरहेको छ ।’ कोरोना महामारीको दोस्रो लहरले धेरै परिवारलाई दुःख दिएकाले अवस्था सहजै सामान्यीकरण हुन सकेको छैन । यसको असर पनि बजारमा परेको हुनसक्ने उनले सुनाए ।

यामाहाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजका बजार व्यवस्थापक प्रकाशबाबु देवकोटा यो वर्ष बजारमा माग र व्यापार कमजोर रहेको बताउँछन् ।

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मोर्कटिङका सिनियर म्यानेजर दिनेशरत्न बज्राचार्य निषेधाज्ञा खुलेपछि माग ह्वात्तै बढ्ने अनुमान भए पनि त्यसअनुसार नभएको बताउँछन् । सुरुमा बार तोकेर सोरुम खोल्न दिइयो । लगतै पानी पर्ने मौसम भयो, जुन दुईपाग्रे सवारी बिक्रीका लागि अफ सिजन पनि हो । सामान्य अवस्थामा वर्षायामका असार, साउन र भदौ महिना मोटरसाइकल किन्ने/बेच्नेका लागि ‘अफ सिजन’ मानिन्छ ।

अब दशैंअघिसम्म बजार पुरानै गतिमा फर्किने आशा मोटरसाइकल तथा स्कुटर आयात तथा विक्री गर्ने कम्पनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment