+
+

नेपालका सुरुङ मार्गको इतिवृत्त : यस्ता छन् चुनौती

नारायण न्यौपाने/रासस) नारायण न्यौपाने/रासस)
२०७८ असार २७ गते ९:४६

२७ असार, काठमाडौं । मुलुकमा कोभिड-१९ सङ्क्रमण जोखिम बढेसँगै दुई वटा लकडाउन भई कतिपय राष्ट्रिय गौरवका आयोजना पनि थला परिरहेका बेला नागढुङ्गा सुरुङमार्ग निर्माणको काम भने तीव्र रुपमा भैरहेको छ ।

कोरोना महामारीका कारण देशभर नै बन्दाबन्दी रहेको अवस्थामा जोखिम न्यूनीकरणका हरसम्भव उपाय अवलम्बन गरी अत्याधुनिक उच्च प्रविधिमार्फत आयोजनाले कामलाई तीव्रता दिइएको हो ।

केही विदेशी तथा ५० नेपाली इञ्जिनियरसहित ६०० भन्दा बढी मजदुरको अहोरात्र परिचालनपछि हाल आयोजनाको समग्र भौतिक १५.९ र आर्थिक प्रगति २५.५५ पुगेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए ।

काठमाडौँको बलम्बुस्थित तोतीपाखाबाट शुरु भई धादिङको सिस्नेरीखोलामा पुगेर अन्त्य हुने मूल सुरुङ २५८ मिटर र सहायक सुरुङको प्रगति ४९९ मिटर पुगिसकेको छ ।

लकडाउनका कारण लक्ष्यमा पुग्न भएको ढिलाइ दुई महिनाभित्रै सम्बोधन हुने तथा विगतमा छ मिटर खनिँदै आएकामा अहिले दुई सिफ्टमा कर्मचारी खटाएर दैनिक १२ मिटरसम्म सुरुङ अघि बढेको आयोजनाले संसदीय समितिलाई जानकारी गराएको छ ।

जग्गाको मुआब्जा रु छ अर्बसहित करीब रु २२ अर्ब लगानी अनुमान गरिएको दुई दशमलव ६९ किलोमिटर लामो नागढुङ्गा सुरुङमार्ग विसं २०८० वैशाख १३ (सन् २०२३ अप्रिल २६) अघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

कोरोना जोखिमलाई ध्यान दिँदै आयोजना परिसरमै ३२ शय्याको आइसोलेशन केन्द्र पनि बनाइएको छ । प्राविधिक तथा मजदुर गरी यसबीचमा आयोजनामा कार्यरत ८६ जनामा कोभिड-१९ देखिएपछि केही दिन काम प्रभावित भएको थियो ।

आयोजनाको शिलान्याससँगै राज्यले नेपाल सुरुङमार्गको युगमा प्रवेशको घोषणा गरेको सन्दर्भमा उक्त निर्माणको सफलताले आधुनिक सुरुङमार्ग बनाउने दिशामा स्वदेशी प्राविधिकलाई ठूलो हौसला प्रदान गर्ने छ ।

अहिले नै मुलुकमा सम्भावना देखिएका १७ सुरुङमार्गको पहिचान गरी भौगर्भिक अध्ययन गर्ने कार्य क्रमशः अघि बढिसकेको छ ।

हुन त आजभन्दा १०० वर्षअघि चन्द्रशम्शेर जबराकै पालामा थम्सन युनिभर्सिटीमा अध्ययन गरेर फर्किएका इञ्जिनियर डिल्लीजङ्ग थापाले हेटौँडा नजिक चुरियामा निर्माण गरेको ७६१ फिट लम्बाइको सुरुङलाई नेपालको ऐतिहासिक सुरुङ मानिन्छ ।

दक्षिण एशियामै सुरुङ नभएका बेला बेलायती ढाँचामा निर्माण गरिएको त्यो नेपालको पहिलो सडक यातायातका लागि बनाइएको सुरुङ १० फिट अग्लो थियो ।

यद्यपि मुलुकमा सडकबाहेक खानेपानी, सिँचाइ र विद्युत् आयोजना समेतका लागि करीब २७५ किमी सुरुङ निर्माण भइसकेको छ तर सवारी साधन गुड्ने अत्याधुनिक सुरुङमार्गका रूपमा नागढुङ्गा रहने छ ।

नौबिसे-थानकोट सडकखण्डको पिपला घुम्ती उकाल्न र त्यहाँ सडक चौडा गर्न नमिल्ने धरातलीय अवस्थाले राज्यलाई नागढुङ्गा सुरुङ निर्माणका लागि बाध्य बनाएको हो ।

गह्रौ भारवहन लिएर आउने ट्रकलगायतका सवारी साधन त्यस स्थानमा बिग्रिएर अघि बढ्न नसक्दा अत्याधिक जाम भई हजारौँ यात्रुले दुःखकष्ट बेहोर्नु परिरहेको पृष्ठभूमिसँग नागढुङगा सुरुङ निर्माण सम्बन्ध गाँसिएको छ ।

सवारी जामबाट मुक्ति पाइने र हैरानी छल्ने विकल्पको सोचले अघि बढाइएको सुरुङ सञ्चालनमा आएसँगै यात्रामा समयका हिसाबले ४० मिनेट बचत र दूरीका हिसाबले साढे चार किमी कम हुनेछ ।

अहिले जामले आक्रान्त भएर घण्टौँ कुर्नुपर्ने सबै समस्या हट्नेछ । त्यस सडकखण्डमा दैनिक गुड्ने १४/१५ हजार सवारी साधनको ४० मिनेटका दरले समय बचत हुनेछ । मानिसलाई बचत भएको समयको मूल्य सदुपयोग गर्ने ठूलो अवसर प्रदान हुने छ । त्यहाँ भएको सवारीचापकै कारण विदेश यात्रामा रहने कयौँको हवाई उडान छुट्ने गरेको मात्र नभई एम्बुलेन्समा आएका गम्भीर प्रकृतिका बिरामीले सडकमै देहत्याग गर्नुपरेका घटना धेरै छन् ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा भन्छन् , “सुरुङ निर्माणपछि बिरामी बोकेका एम्बुलेन्स रोकिने छैनन् । बिरामीले समयमै अस्पताल पुगी उपचार पाउने र सही उपचार पाएर बच्ने सम्भावना प्रबल रहन्छ । मानिसको ज्यान पैसासँग तुलना हुन सक्दैन ।”

सुरुङ निर्माणपछि समय, तेल, पार्टपुर्जाका आयुका कारण यातायात साधन सञ्चालन खर्चको कमी मात्र होइन दुर्घटना जोखिम सम्भावना पनि न्यून हुनेछ ।

साढे नौ मिटर चौडाइको दुई लेन रहने सुरुङको भित्री भाग यातायातका साधन बिग्रिएमा त्यसको दायाँ-बायाँबाट गाडी चलाउन मिल्ने छ ।

सुरुङभित्र १५ वटा पङ्खा जडान गरिनेछ । उक्त सुरुङको सफल निर्माणसँगै प्रविधि हस्तान्तरण र सीपयुक्त जनशक्ति तयार गर्न सिकाइका हिसाबले पनि कोसेढुङ्गा सावित हुने महानिर्देशक थापा बताउँछन् ।

अप्रत्यक्षरूपमा नागढुङ्गा सुरुङ निर्माणका क्रममा रोडा, ढुङ्गा, गिट्टी, सिमेन्ट र फलाम उपलब्ध गराउने व्यवसायीलाई काम मिलेको छ ।

यो आयोजना सफलतासँगै नेपालको यातायात क्षेत्रको पहिलो फ्लाइओभर बन्नेछ । सुरुङबाट बाहिरिने सवारी साधनको प्रयोगका लागि काठमाडौँको बलम्बु-थानकोट क्षेत्रमा निर्माण हुने फ्लाइओभर १३० मिटर लामो हुनेछ ।

सुरुङभित्र आगलागी वा अरु दुर्घटनामा उद्धार गर्न सजिलो होस् भन्नका लागि मूल सुरुङसँगै अर्को सुरुङ रहनेछ । त्यो पनि साना सवारी साधन नै चल्ने क्षमताको रहनेछ ।

सुरुङभित्रका गतिविधि अध्ययन र अवलोकनका लागि अत्याधुनिक सञ्चार, बत्तीसहित सुविधासम्पन्न नियन्त्रण तथा सूचनाकक्ष रहनेछ । प्रत्येक ३०० मिटरमा आपत्कालीन द्वारको व्यवस्था हुनेछ । सुरुङसँगै दुई अण्डरपास पुल बनाइनेछ । सुरुङ खन्दा निस्केको माटो, ढुङ्गा त्यही प्रयोग गर्न सञ्चयको व्यवस्था मिलाइएको आयोजनाले जानकारी दिएको छ ।

उक्त आयोजनालाई नियमितरूपमा सञ्चालन गर्न कम्तीमा रु चार करोड ४१ लाख वार्षिक बजेट अनुमान गरिएको जानकारी दिइएको छ । त्यस रकममध्ये ५८ प्रतिशत विद्युत्, २८ प्रतिशत कर्मचारी तलबभत्ता र बाँकी अरु कामका लागि खर्च हुनेछ । सुरुङको मुखमा स्थानीयवासीका उत्पादन बिक्रीसमेत प्रयोजनका लागि अत्याधुनिक सेवा केन्द्र रहनेछ । समय र प्रगतिबीच तालमेल मिलाएर आयोजनाले योजनाबद्धरूपमा काम अघि बढाएको छ ।

यस्ता छन् चुनौती

सडक सुरुङ निर्माणको अनुभवमा कमी, गलत ठाउँमा भएमा हुनसक्ने जोखिम, स्थानीयवासीबाट सम्बोधन गर्नै नसक्ने माग र आयोजनालाई हेर्ने गलत दृष्टिकोणलगायत केही आर्थिक, राजनीतिक र स्थानीय समस्या रहेको निर्देशक शाक्य बताउँछन् ।

यसैबीच राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिले लक्ष्यअनुसारको काम समयमै सक्ने गरी आयोजनाको अद्यावधिक प्रगतिलगायत सम्पूर्ण विवरण विभागको वेबसाइटमा नियमित राख्न शुक्रबार निर्देशन दिएको छ ।

कहाँ-कहाँ बनाइँदै छ सुरुङ

भेरी बबई डाइभर्सन परियोजनाको सुरुङ मार्ग ।

सुरुङसम्बन्धी कुनै मापदण्ड नभएको अवस्थामा नागढुङ्गा आयोजनाले अन्य सुरुङ अघि बढाउन उच्च प्रविधिको प्रयोग, आर्थिक विश्लेषण आकलन गर्ने योग्यता तथा क्षमता बढाउने छ ।

सामाजिक र वातावरणीय पक्षमा पनि सिक्ने मौका मिलेको छ । नेपाली कालिगड र श्रमिकले पनि आयोजनाबाट धेरै महत्वपूर्ण ज्ञान आर्जन गर्नेछन् ।

यसकै आधारमा सिद्धबाबा सुरुङ अघि बढ्ने छ । रुपन्देही र पाल्पा सीमा क्षेत्रमा निर्माण हुने सिद्धबाबा सुरुङमार्गको बोलपत्र आह्वान नै भइसकेको छ ।

बर्सेनि हुने पहिराका घटनामा धेरैको ज्यान गएकाले त्यसलाई रोक्न एक दशमलव एक किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । त्यसका साथै चरिकोट-तामाकोशी-लामाबगर सुरुङ निर्माण हुँदैछ ।

काठमाडौँ-तीनकुने-जडीबुटी खण्डमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमुनि सुरुङ निर्माण गर्न जाइकासँग कुराकानी गरिएकामा परामर्शदाता खटाएर अध्ययन भइरहेको छ ।

खुर्काेट-चियाबारी सुरुङमार्ग विपी राजमार्गको मुनि-मुनि निर्माणका लागि अध्ययन सकिएको छ । नवलपरासीको दुम्किवास-दाउन्ने-बर्दघाट क्षेत्रको पनि प्रारम्भिक सम्भव्य अध्ययन भएको छ । आगामी आर्थिक वर्षमा सडक विभागले थप सम्भाव्य अध्ययन गर्ने छ । पाल्पाको प्रभाष-जोर्ते क्षेत्रको पनि काम भइरहेको छ ।

सरकारको २०७८/७९ को बजेटमा सिद्धबाबा, लामाबगर, धरान-लेउती सुरुङ शुरु गर्न रकम विनियोजन भएको छ । टोखा-छहरे-गुर्जेभन्ज्याङ सुरुङका लागि चिनियाँ सरकारसँग अनुरोध गरिएकामा प्रारम्भिक अध्ययन भएको छ ।

कुलेखानी-भीमफेदी चीन सरकारले अध्ययन गरेकामा उद्योगी कुशकुमार जोशीको टिमलाई नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडमार्फत पिपिपी ढाँचामा बनाउन जिम्मा दिएकामा अल्झेर बसेको छ ।

मझिमटार-शक्तिखोर-जोगिमारा निस्कने अर्को सुरुङको पनि सोच अघि बढेको छ । स्वीस सरकारको अनुदानमा गणेशमान मार्गअन्तर्गत थानकोट-चित्लाङसम्म सुरुङको अध्ययन भइसकेको छ । प्रतिनिधिसभा भवन अघिल्लतिर नयाँबानेश्वर चोकमा अण्डरपास बनाउन चीन र जापानसँग कुराकानी भइरहेको जानकारी दिइएको छ ।

गौशाला-चावहिल अण्डरपासको पनि सोच अघि बढेको छ । भौगर्भिक अवस्थाका कारण पहिराबाट आक्रान्त रसुवागढी-बेत्रावती क्षेत्रमा स-साना सुरुङ निर्माण गर्न चीनले अध्ययन गरिरहेको छ । बबई-छिन्चु सुरुङ अर्काे आर्थिक वर्षमा अध्ययन गर्ने सरकारको योजना छ ।

भक्तपुरको ताथली- काभ्रेरवीओ तथा विपीनगर-खुटिया सुरुङको पनि सोच छ । गोदावरी-काभे्र-मानेचौरको अवधारणा अघि आएको छ । चेपाङमार्ग-मलेखु क्षेत्रको महाभारमा सुरुङ मार्गको माग छ । तीमध्ये नागढुङ्गा, सिद्धबाबा र लामाबगर पहिलो प्राथमिकता प्राप्त आयोजना हुन् ।

कसलाई प्राथमिकता दिने, यातायातको चाप कुनमा छ, छिटो बनाउँदा केबाट फाइदा हुन्छ आदि विषयको अध्ययनपछि ढाँचा र रकम सुनिश्चित गरेर मात्र आयोजनालाई अघि बढाइने सडक विभागको भनाइ छ ।

मध्यपहाडी, मदन भण्डारी र सिद्धार्थ राजमार्गको यात्रालाई छिटो छरितो र सुरक्षित तुल्याउन स-साना सुरुङ बनाउनुपर्छ भन्ने सोच सरकारले अघि सारेको छ । नेपाल सुरुङ युगमा प्रवेश गरिरहँदा अध्ययन, विश्लेषण र अभ्यासका काम एकैसाथ अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?