Comments Add Comment

उद्घाटनपछि परीक्षणमा तामाकोशी, उत्पादन अनियमित

२७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बहुप्रतीक्षित तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन गरे । प्रधानमन्त्रीले ७६ मेगावाटको युनिटबाट ७ मेगावाट बिजुली उत्पादन भइरहँदा आयोजनाको उद्घाटन गरेका थिए । तर, त्यसपछि आयोजना उत्पादन नियमित छैन ।  आयोजना परीक्षणमै रहेकाले उत्पादन अनियमित भएको हो ।

परीक्षण सुरु भएकै दिनमा आयोजना उद्घाटन गरिएकाले प्रारम्भिक तवरको समस्या समाधान गर्न काम भइरहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

आयोजनाका एक अधिकारीका अनुसार शुक्रबारसम्म तामाकोशीबाट खिम्ती ल्याएको प्रसारणलाइन व्यवस्थापनको काम नै सकिएको थिएन । १३२ केभीको गर्ज्याङ-खिम्ती प्रसारणलाइनको  बाँकी काम सक्न मंगलबारदेखि नै आयोजनाबाट परीक्षण स्वरुप हुनसक्ने उत्पादन बन्द गरिएको थियो ।

प्रसारणलाइनको काम सकेर आयोजना परीक्षणको काममा व्यस्त छ । प्राधिकरणका प्रवक्ता मदन तिमल्सिना आयोजनाबाट उत्पादित बिजुली समय-समयमा राष्ट्रिय प्रसारणलाइनमा जोड्ने/काट्ने काम भइरहेको बताउँछन् ।

‘परीक्षणका क्रममा कतिपय काम बाँकी होलान्’ उनले भने,’यो आयोजनाले पूर्ण व्यावसायिक उत्पादन सुरु गर्न तीन महिना लाग्छ, त्यसैले समय-समयमा परीक्षणका क्रममा काट्ने र जोड्ने भइरहन्छ ।’

उनले पहिलो युनिटकै पनि परीक्षण भइरहेको बताए । प्रवक्ता तिमल्सिनाका अनुसार सोमबार आयोजनाको दोस्रो युनिटको पनि परीक्षण सुरु गर्ने योजना छ ।

आयोजनाका अधिकारीहरु भने उद्घाटन भइसकेकाले अब आयोजनाका बाँकी परीक्षणको काम थप दबाबमा काम गर्ने पक्षमा छैनन् ।

‘उद्घाटन त भयो, तर हामी त परीक्षणको सुरुआती चरणमै छौं’ आयोजनाका एक अधिकारीले भने,’यो आयोजनाको एउटै युनिट कुलेखानी जलविद्युत आयोजना बराबरकै छ, त्यसैले परीक्षण गर्न समय लाग्छ, त्यसका लागि समय-समयमा सर्ट डाउन लिनैपर्छ ।’

उनका अनुसार परीक्षणकाल जलविद्युत आयोजनाका लागि भर्खर जन्मिएको बच्चाजस्तै हो । यस्तो बेला संवेदनशील भएर काम गर्नुपर्छ । हतार गरेमा त्यसले दुर्घटना निम्त्याउने भएकाले परीक्षणलाई पूर्ण रुपमा प्रोटोकलभित्रै रहेर पूरा गर्ने उनले बताए ।

‘प्रधानमन्त्रीज्यूले उद्घाटन गरेर आफ्नो काम सक्नुभयो, अब हामी हाम्रो काम होसियारीपूर्वक गर्छौं,’ उनी भन्छन्,’भर्खर जन्मिएको बच्चालाई भन्दा बढी संवेदनशील भएर काम गर्नुपर्छ । हामी त्यसैअनुसार काम गर्दैछौं ।’

आयोजनामा रहेका ७६/७६ मेगावाट क्षमताका ६ वटा टर्वाइन छन् । असारभित्रै दुई वटा युनिटबाट परीक्षण उत्पादन थाल्ने योजना छ । पूर्ण क्षमतामा चल्न थालेपछि आयोजना नेपालको जलविद्युत क्षेत्रको विकासका लागि कोसेढुंगा सावित हुने प्राधिकरणले बताउँदै आएको छ ।

सामान्यतया कम्तीमा १५ दिन सफल परीक्षण उत्पादन गरेपछि मात्रै व्यवसायिक उत्पादन सुरु हुन्छ । परीक्षण कालमा उत्पादित बिजुलीको विद्युत प्राधिकरणले खरिदको मूल्य तिर्दैन । परीक्षण अवधिमा कुनै समस्या आइलागे परीक्षण काल लम्बिन सक्छ ।

प्राधिकरणको प्राविधिक टोलीले परीक्षण सफल भएको घोषणा गरेपछि मात्रै प्राधिकरणले व्यावसायिक उत्पादन शुरु भएको प्रमाणित गर्छ र उत्पादित बिजुलीको मूल्य तिर्न शुरु गर्छ । कतिपय आयोजनामा समस्या देखिंदा परीक्षणकाल महिना दिनभन्दा लामो समय लम्बिएको थियो ।

परीक्षण सकेर मात्रै उद्घाटन गर्ने प्रचलनलाई तामाकोशीमा भने निरन्तरता नदिई परीक्षण सुरु भएकै दिनमा उद्घाटन गरिएको थियो ।

पछिल्लोपटक प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् परियोजनाले २०७६ साउन १६ गतेदेखि पहिलो चरणमा ३० मेगावाटको युनिटबाट परीक्षण उत्पादन शुरु गरेको थियो । दुवै युनिटको परीक्षणपछि २०७६ मंसिर २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमै सिंहदरबारबाट आयोजनाको उद्घाटन गरेका थिए ।

त्यसअघि निर्माण सम्पन्न गरेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको परीक्षण उत्पादन २०७४ पुस २८ गते शुरु भएको थियो । तर, त्यसको एक महिनापछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक बिषयमा कलम चलाउने घिमिरे अनलाइनखबर बिजनेसमा कार्यरत छन् ।

ट्रेन्डिङ

Advertisment