+
+

सडक अवरुद्ध भएपछि गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट चामल ढुवानी

रासस रासस
२०७८ असार २७ गते १३:३३
प्रतीकात्मक तस्वीर

२७ असार, गोरखा । सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्‍याइएको छ । बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्गसमेत अवरुद्ध भएपछि ती क्षेत्रमा खाद्यान्न लगिइएको हो । खाद्य तथा वयापार कम्पनी लिमिटेडले नेपाली सेनाको हेलिकप्टरमार्फत चामल ढुवानी गरेको लिमिटेडका सूचना अधिकारी शिव सुनारले जानकारी दिए । उनका अनुसार अनुदानका चामल सिर्दिबास पुर्‍याइएको हो ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलका समन्वयमा दुई दिन लगाएर शनिबार साँझसम्ममा चामल सिर्दिबास डिपोमा पुर्‍याइएको उनले बताए । जिल्लाको चुमनुव्री गाउँपालिका क्षेत्रमा पर्ने सिर्दिबास डिपोबाट सर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक र ल्हो क्षेत्रका बासिन्दलाई सहुलियतमा चामल उपलब्ध गराइँदै आइएको छ ।

‘बाढीपहिरोले सडक मार्ग मात्र होइन खच्चड हिँड्न सक्ने समेत बाटो नभएपछि जिल्ला प्रशासन कार्यालयका पहलमा सेनाको हेलिकप्टर मगाइ दुई दिन गरेर चामल पठाइएको छ,’ सूचना अधिकारी सुनारले भने, ‘मौसम खराबीका कारण भनेको समयमा हेलिकप्टर आउन नसक्दा असार २३ गतेपछि दोस्रो पटक शनिबार थप चामल सिर्दिबास पुर्‍याउन सम्भव भएको हो ।’

पहिलो पटक ८५ क्विन्टल र दोस्रो पटक ६५ क्विन्टल चामल डिपोमा पुर्‍याएर सुरक्षित भण्डारण गरिएको उनले बताए । कम्पनीले यस वर्ष सिर्दिबास डिपोमा तीन हजार ५०० क्विन्टल चामल ढुवानी गर्नुपर्नेमा गत जेठ अन्तिम सातादेखि नै अविरल वर्षा शुरु भएपछि चामल लैजान सकिएको थिएन । हेलिकप्टरमार्फत डिपोमा पुर्‍याइएको चामल अरुवा मन्सुली प्रतिकिलो ५० रुपैयाँ ३० पैसामा बिक्री गरिने सिर्दीबास डिपोले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?