Comments Add Comment

बामदेवको स्पष्टीकरण : केपी ओलीतिर गएको छैन

२६ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी विवादमा आफू अध्यक्ष केपी शर्मा ओलीतिर नमिलेको भन्दै अझै तटस्थ रहेको बताएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि अध्यक्ष ओलीलाई साथ नदिएको स्पष्टीकरण दिए ।

गत हप्ता गौतम अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी भएका थिए । ‘एमाले पुनर्स्थापित भएपछि एमाले रोज्नैपर्यो । एमालेको सदस्य हुँ । त्यसो भएर म केही समय पहिले केपीजीले जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा भाग लिन गएँ’ गौतमले भने, ‘धेरै मानिसहरुले बामदेव केपीतिर गयो भने । यो सभामार्फत म जानकारी गराउन चाहन्छु म कुनैतर्फ गएको होइन । म एमाले भएको प्रमाण पेश गर्नको निम्ति गएको हुँ ।’

उपाध्यक्ष गौतमले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसला आएपछि पार्टी एकढिक्का हुने बताएका छन् । पार्टी विवाद समाधान गर्न गठित कार्यदलले त्यसअघि नै सहमति जुटाउन सके अझ राम्रो हुने बताए ।

‘नेकपा एमालेभित्रको अन्तरविरोध समाधान गर्नको निम्ति दुईवटा समूहबाट एउटा कार्यदल बनेको छ । र त्यसले आज ८ बजे खुसीको खबर आउँछ भनेको थियो । मैले भनेको थिएँ त्यो खुसीको खबर सर्वोच्चको निर्णय पछि आउँछ भनेर’ उनले भने, ‘मेरो भनाइ लागू नहोस्, भरेसम्म खुसीको त्यो खबर आओस् भन्ने चाहन्छु । मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुनेछ ।’

नेता गौतमले आफ्नो पार्टीभित्रको विवादलाई ‘ठूलो घरको ठूलै चहलपहल’ भनी टिप्पणी गरे । ‘ठूलो घरको ठूलै चहलपहल । राम्रो भए पनि राम्रो नराम्रो भए पनि । ठूलो पार्टी भएको नाताले कहिले नेकपा एमाले, कहिले नेकपा, अहिले नेकपा एमाले भएर प्रकट भएका छौं’ उनले भने ।

तथापि, एकपछि अर्को अराजनीतिक क्रियाकलाप, संविधान र ऐन नियमहरु कुल्चिने काम भएकाले शिर निहुर्‍याउनुपर्ने अवस्था आएको पनि उनले बताए ।

पार्टी विवाद समाधानका लागि आफूले भूमिका निर्वाह गर्न नसकेको गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment