+
+

प्रधानन्यायाधीशलाई महेश बस्नेतको चुनौती : एमालेलाई हराउने भए कांग्रेस प्रवेश गरेर आउनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २८ गते १७:५२

२८ असार, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजनीतिको मैदानमा आउन चुनौती दिएका छन् ।

संसद पुनस्र्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने सर्वोच्चको फैसलाविरुद्ध राष्ट्रिय युवा संघले माइतीघर मण्डलामा गरेको विरोध सभामा बस्नेतले जबराले कार्यपालिका, व्यवस्थापिका र अन्य संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको आरोप लगाए ।

संसदलाई ह्वीप उल्लंघनमा कारबाही गर्न पाउँदैन भन्ने आदेश दिएर प्रधानन्यायाधीश जबराले न्यायालयलाई अर्को राजनीतिक संस्था बनाएको उनको आरोप छ । ‘सर्वोच्च अदालतले आज आफूलाई कुनै पार्टीको घोषणा गर्न खोजेको हो ?’ उनले भने, ‘तपाईं एमालेको नेता बन्ने रहर छ भने एमालेमा आउनुहोस् । एमालेलाई हराउने रहर छ भने कांग्रेस प्रवेश गरेर आउनुहोस् ।’

‘नयाँ दल गठन गरेर आउने कुरा त तपाईंका बाउबाजेले नसकेको कुरा तपाईंले सक्नुहुन्न,’ उनले अघि भने । जबराले अहिले देउवालाई प्रधानमन्त्री बनाउने र विश्वासको मत नदिएर ढाल्ने, अनि ६ महिना पछाडि नयाँ स्वरुप ग्रहण गरेर आफू प्रधानमन्त्री बन्ने डिजाइनका साथ फैसला गरेको उनको आरोप छ ।

बस्नेतले भनेका छन्, ‘हामी यो फैसला स्वीकार गर्दैनौं । अब मुलुक द्वन्द्वमा प्रवेश गरेको छ ।’

‘चोलेन्द्रशमशेरजी, जहानियाँ राणा शासन सकियो । तपाईंमा देखिएको यो जहाँनिया शैली अब नेपाली जनताले प्रतिकार गर्छन् । चुनावी सरकार बनाएर प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तपाईंको सपना नजन्मँदै तुहिने छ ।’

सर्वोच्चको यो फैसला प्रधानन्यायाधीशले गरेको नभई अधिवक्ताहरु रमण श्रेष्ठ र शम्भु थापाले गरेको उनको आरोप छ । ‘रमण श्रेष्ठ र शम्भु थापाहरुको संवैधानिक इजलासले गरेको फैसला हो, यो चोलेन्द्रशमशेरले गरेको फैसला होइन,’ उनले भने, ‘निरंकुश, लोकतन्त्र विरोधी, अधिनायकवादी शक्तिहरुले अन्तर्राष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई घाँस खुवाएर फैसला गराएका हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?