
३० असार, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नेपालमा सम्पर्क सचिवालय स्थापना गरेको छ । नेपाली भाषा र साहित्यकोप्रवर्धन गर्न ३० वर्षअघि अमेरिकामा खुलेको नेपाली साहित्यकारहरुको यो संस्था अहिले विश्वका दर्जनौं मुलुकमा छरिएको छ ।
काठमाडौंको पुतलीसडकमा रहेको उक्त सचिवालयले डायस्पोरा अध्ययन केन्द्र पनि सञ्चालन गर्ने भएको छ । केन्द्रले विदेशमा बसेर लेखिएका नेपाली भाषाका साहित्यको खोज, अनुसन्धान एवं प्रकाशनको वातावरण तयार पार्ने बताइएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सचिवालय खोल्न केही वर्षदेखि लागिपरेका अध्यक्ष प्रकाश पौडेल माइलाले आफ्नो कार्यकालमा उक्त काम भएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘हामी अधिकांश आजीवन सदस्यहरु नेपालमै जरा गाडिएका साहित्यकारहरू छौं । संसारको जुनसुकै कुनामा भए पनि दुई चार वर्षमा नेपाल पुगेकै हुन्छौं । तर नेपालमा आफ्नो औपचारिक सम्पर्क कार्यालय नहुँदा संस्था ठूलो भए पनि यसले धेरैखालको अप्ठ्यारो बेहोर्नुपरेको थियो । अब ती समस्या समाधान हुने भएका छन् ।’
पौडेलका अनुसार केन्द्रीय सचिवालयमा कर्मचारीसहितको हेल्प डेस्क, डायस्पोरा डेस्क एवं समन्वय समिति रहनेछ । जसले विभिन्न गतिविधिलाई विधिसम्मत ढङ्गले व्यवस्थापन गर्नेछ । साथै डायस्पोरिक साहित्य अध्ययन गर्नेहरुका लागि सुविधा पनि प्रदान गर्नेछ ।
भानु जयन्तीका अवसरमा सचिवालयको उद्घाटन गर्दै प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय कार्यालय एवं डायस्पोरा डेस्क स्थापना हुनुले नेपाली माटोसँग विश्वभर छरिएर रहेका साहित्यकारलाई नेपालसँग अझै नजिक जोडेको बताए । नेपाली भाषा र साहित्यमा अहोरात्र खटिरहेको संस्थाले पृथ्वीको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म जोडेको मात्र होइन, नेपाली साहित्यलाई सतत् अघि बढाइरहेकोमा उनले प्रशंसा गरे ।
प्रतिक्रिया 4