Comments Add Comment

यी हुन् फेसबुकको पासवर्ड चोर्ने ९ एप, एकाउन्ट सुरक्षित राख्न यसो गर्नुहोस्

विभिन्न ९ वटा एन्ड्रोइड एपहरुले प्रयोगकर्ताहरुको फेसबुकको आइडी तथा पासवर्ड लगायतका डाटा चोर्ने गरेको पत्ता लागेको छ ।

सेक्योरिटी एनालिस्ट कम्पनी डक्टर वेबले ती एपहरुको कर्तुत पत्ता लगाएको हो । ती एपहरु हालसम्म कुल ५८ लाखभन्दा बढी पटक डाउनलोड भैसकेका छन् । प्रयोगकर्ताका फेसबुकबाट पासवर्ड तथा आइडीलगायतका डाटा चोर्ने एपहरुको सूची यस्तो छ :

  1. PIP Photo (5,000,000+ downloads)
  2. Processing Photo (500,000+ downloads)
  3. Rubbish Cleaner (100,000+ downloads)
  4. Inwell Fitness (100,000+ downloads)
  5. Horoscope Daily (100,000+ downloads)
  6. App Lock Keep (50,000+ downloads)
  7. Lockit Master (5,000+ downloads)
  8. Horoscope Pi (1,000 downloads)
  9. App Lock manager (10 downloads)

यद्यपि गुगलले फेसबुकको पासवर्ड चोर्ने यी एपहरुलाई गुगल प्ले स्टोरबाट हटाइसकेको छ । तर तपाईंको मोबाइलमा ती एपहरुमध्ये कुनै डाउनलोड भैसकेको छ भने तत्कालै डिलिट गरिहाल्नुहोस् । साथै आफ्नो फेसबुक अकाउन्टलाई सुरक्षित राख्नका लागि निम्न उपाय अपनाउनुहोस् :

फेसबुक एकाउन्टको पासवर्ड परिवर्तन गर्ने

तपाईंले गर्नुपर्ने पहिलो काम भनेकै आफ्नो फेसबुक एकाउन्टको पासवर्ड परिवर्तन गर्नु हो । पहिलेको भन्दै नितान्त फरक र केही जटिल पासवर्ड छनोट गर्नुहोस् । उदाहरणका लागि नाम मात्रको पासवर्ड परिवर्तन अर्थात् qwerty123 af6 qwerty1234 मात्र नगर्नुहोस् । साथै आफ्नो पासवर्ड अन्य अकाउन्टहरुमा शेयर नगरिएको पक्का गर्नुहोस् ।

फेसबुक अकाउन्टको पासवर्ड कसरी परिवर्तन गर्ने ?

१. फेसबुकको Settings मा जानुहोस् र त्यहाँ रहेको Security and Login अप्सन छनोट गर्नुहोस्

२. Loginखण्डमा रहेको Change Password बटनमा क्लिन गर्नुहोस्

३. तपाईंको हालको पासवर्ड र अब बनाउने नयाँ पासवर्ड तत् तत् कोठामा हाल्नुहोस् र Save Changes बटनमा क्लिक गर्नुहोस्

सबै डिभाइसहरुबाट फेसबुक अकाउन्ट कसरी लगआउट गर्ने ?

आफ्नो पासवर्ड परिवर्तन गरिसकेपछि अब तपाईंले आफ्नो फेसबुक अकाउन्ट लगइन भएका सम्भावित सबै डिभाइसहरुबाट फेसबुक लगआउट गर्नुपर्ने हुन्छ । यसका लागि निम्न कदम चाल्नुहोस् :

१. फेसबुकको Settings मा गएर Security and Login अप्सनमा क्लिक गर्नुहोस् ।

२. त्यहाँ देखापर्ने Where you Login खण्डभित्र रहेको Show More बटनमा क्लिक गर्नुहोस् ।

३. त्यसपछि देखापर्ने Logout या all sessions अप्सनमा क्लिक गर्नुहोस् ।

यसका साथै टु फ्याक्टर अथेन्टिकसनलाई सक्रिय बनाउनुहोस् । यसले तपाइँको फेसबुक अकाउन्टमा सुरक्षाको अतिरिक्त तह थप गर्नेछ र सम्भावित अनधिकृत रोक्नका लागि सहयोग गर्नेछ । यसका लागि निम्न चरण पूरा गर्नुहोस् :

· फेसबुकको Settings खण्डमा गएर Security and Login मा क्लिक गर्ने

· त्यहाँभित्र रहेको Two factor authentication मा गएर त्यसलाई enable गर्ने

· टू फ्याक्टर अथेन्टिकेसनको विधि छनोट गर्ने र सेटअप पूरा गर्ने ।

यसो गरिसकेपछि तपाईंले सबै authorizes logins लाई हटाउनु पर्दछ । यसका लागि Authorised logins मा क्लिक गरी त्यहाँ देखिने सबै रजिस्टर्ड लगइनहरुलाई remove गर्नुपर्दछ । र, नयाँ लगइन हुँदा सूचना पाउनका लागि लगइन अलर्ट सक्रिय बनाउने ।

यो फिचर पनि Settings ट्याबमै उपलब्ध छ । त्यहाँ रहेको Get alerts about unrecognized logins अप्सनमा क्लिक गर्नुहोस् ।

आफ्नो फेसबुक अकाउन्टलाई बढि सुरक्षित राख्नका लागि छुट्टै पासवर्ड बनाउनुहोस् । अन्य थर्ड पार्टी सर्भिसहरु लगइन गर्नका लागि फेसबुकको पासवर्डको साटो random password प्रयोग गर्नुहोस् । फेसबुकले आफ्ना प्रयोगकर्तालाई थर्ड पार्टी वेबसाइटहरुमा लगइन गर्नका लागि फेसबुकको वास्तविक आइडी पासवर्डको साटो random password सिर्जना गर्ने विकल्प दिएको हुन्छ । यो फिचर सक्रिय बनाउनका लागि setting ट्याबमा क्लिक गरी Security and Login भित्र रहेको App Passwords अप्सनमा जानु पर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment