
३१ असार, काठमाडौं । १० दिनसम्म लगातार हिक्क-हिक्क आएपछि ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो अस्पताल भर्ना भएका छन् । उनको आकस्मिक सर्जरीको आवश्यकता हुन सक्ने ब्राजिलको राष्ट्रपति कार्यालयले बताएको छ ।
बोल्सोनारोको आन्द्रामा देखिएको केही अवरोधको विषयमा जाँच गराउन उनलाई साओपाउलोस्थित एक अस्पतालमा सारिएको छ । सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट गर्दै बोल्सोनारोले आफू छिटै नै फर्किने बताएका छन् ।
६६ वर्षीय बोल्सोनारोको स्वास्थ्यको विषयमा सन् २०१८ देखि नै चिन्ता व्यक्त गरिएको थियो । सन् २०१८ मा निर्वाचनको प्रचारको क्रममा आक्रमणकारीको एक समूहले उनीमाथि चक्कु आक्रमण गरेको थियो । जसको कारण उनको आन्द्रमा गम्भीर चोट देखिएको थियो ।
उक्त घटनामा बोल्सोनारोले शरीरको ४० प्रतिशत रगत बगेको थियो र त्यसयता उनले धेरैपटक सर्जरी गराइसकेका छन् । समाचारमा उल्लेख गरिए अनुसार बुधबार ब्रासिलियास्थित सेनाको अस्पतालमा लगिएको थियो, जहाँ उनी चिकित्सकको निगरानीमा थिए । यद्यपि सन् २०२८ देखि बोल्सोनारोको उपचारमा संलग्न डाक्टरले उनलाई साओपाउलो लैजानुपर्ने बताएका थिए ।
बोल्सोनारोका छोरा फ्लावियोले सीएनएनसँगको कुराकानीमा आफ्ना बाबुको सामान्य सर्जरी गरिएको र पेटमा भरिएको पानी बाहिर निकालिएको बताएका छन् । राष्ट्रपति बोल्सोनारोलाई कुरा गर्नमा समस्या भइरहेको उनको भनाइ छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4