Comments Add Comment

तोकिएको समयमै महाधिवेशन हुनुपर्ने संस्थापनइतर समूहको जोड

३१ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले कार्यतालिका अनुसार तोकिएकै समयमा महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ । बिहीबार महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बसेको बैठकले महाधिवेशन समयमै गर्नुपर्नेमा जोड दिएको हो ।

तोकिएको समयमा महाधिवेशन गर्नैपर्छ भन्ने आफूहरुको जोड रहेको भन्दै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘१९ भदौभित्र हामीले पार्टीको महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ । यसमा तलमाथि हुनसक्दैन ।’

नेता केसीका अनुसार बैठकमा क्रियाशील सदस्यताबारे विवादबारे पनि छलफल भएको थियो । उनले पार्टीको पूर्व पदाधिकारी र वर्तमान पदाधिकारी बैठकले तय गरेको मापदण्ड अनुसार क्रियाशील सदस्यताको टुंगो लाग्नुपर्नेमा नेताहरुले जोड दिएको बताए ।

‘वडाबाट सिफारिस भएका क्रियाशील सदस्य छन् भने स्वीकृत गर्ने र कहीँ विवाद छ भने क्रियाशील सदस्यता छानविन समितिले सहमति गर्ने,’ उनले भने, ‘समितिमा सहमति नभए पुरानैलाई मान्यता दिनुपर्ने मापदण्डमा उल्लेख छ । सोही अनुसार समितिले काम गर्नुपर्दछ भन्ने हाम्रो निष्कर्ष हो ।’

छलफलका क्रममा नेताहरुले कांग्रेस नेतृत्वको सरकारलाई गल्ती गर्ने छुट नभएको धारणा राखेका थिए । साथै पार्टीका तर्फमा मन्त्रीको नाम पठाउँदा छलफल गरेर मात्र अघि बढ्नुपर्ने नेताहरुको राय थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment