Comments Add Comment

मुस्ताङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

प्रतीकात्मक तस्वीर

३ साउन, बलेवा । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् ।

ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलाको काठेपुल भत्किँदा आइतबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी रामेछापको गोकुलगंगा गाउँपालिका–१ का ३८ वर्षीय चित्रबहादुर श्रेष्ठ र उनकी श्रीमती २६ वर्षीया मोनिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक जितबहादुर केसीले जानकारी दिए ।

ट्रकमा सातजना सवार रहेका बताइएको छ । नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–३ का ट्रक चालक ३६ वर्षीय शिवराम ठाडा मगर सामान्य घाइते भएको उनले बताए । चालक ठाडा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा परी बागलुङको ढोरपाटन नगरपालिका–२ का २२ वर्षीय सुशील घर्तीमगर, २५ वर्षीय लुद्रबहादुर कामी, पर्वतको जलजला गाउँपालिका–४ का १८ वर्षीय सहचालक दिनेश दर्जी र ओखलढुङ्गाको सिन्चीदोम्बा गाउँपालिका–७ का २९ वर्षीय दावा शेर्पा घाइते भएका छन् । उनीहरुको जोमसोम जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको ट्राफिक कार्यालयले जनाएको छ ।

ट्रकमा १०० बोरा सिमेन्ट, चार थान प्लाइउड र ५० वटा फलामको ट्रस पाइप रहेको सहचालक दर्जीले जानकारी दिए । जीर्ण भएको काठको कच्ची पुलले ट्रकको भार थाम्न नसक्दा उक्त दुर्घटना भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment