Comments Add Comment

उच्च अदालत तुलसीपुरमा ५९ प्रतिशत मुद्दा फर्छ्योट

३ साउन, दाङ । उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्षमा करीब ५९ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा अदालतमा दर्ता भएका ६०९ र आर्थिक वर्ष २०७६/७७ बाट जिम्मेवारी सरेर आएका १७४ गरी कुल ८८३ मुद्दामध्ये ५२० मुद्दा फर्छ्योट भएको उच्च अदालत तुलसीपुरका रजिष्ट्रार यमबहादुर बुढाले जानकारी दिए । यो कुल मुद्दाको ५८ दशमलव ८९ प्रतिशत हो ।

गत आर्थिक वर्षमा ९४ देवानी मुद्दामध्ये ४० मुद्दा, ५७१ सरकारवादी फौजदारी मुद्दामध्ये ३९४ र ३२ दुनियाँवादी फौजदारीमध्ये १८ मुद्दा फर्छ्योट भएको अदालतले जनाएको छ ।

गत असारमा ६१ मुद्दा दर्ता भएकोमा कोरोना संक्रमणको जोखिमकाबीच पनि ५८ फैसला भएको अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षितले बताए । गत आर्थिक वर्षमा २३ वटा मुद्दा मेलमिलापको लागि पठाएकोमा पाँच वटा मात्र मेलमिलाप भएको उनले जानकारी दिए ।

मुख्य न्यायाधीश गौतमले न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार उच्च अदालतमा २०७७ भदौ १ गतेदेखि र जिल्ला अदालतमा २०७७ साउन महिनादेखि फरक मुद्दा व्यवस्थापन पद्धति लागू भएको र सो अनुसार मुद्दालाई सरल मार्ग, सामान्य मार्ग र विशेष मार्ग गरी तीन प्रकारले विभाजन गरेर काम भइरहेको बताए । सरल मार्गमा ६ महिनाभित्र, सामान्यमा एक वर्षभित्र र विशेष मार्गमा डेढ वर्षभित्र फछ्र्योट गरी सक्नुपर्ने व्यवस्था रहेको उनले बताए ।

छिटोछरितो न्याय सम्पादनका लागि अदालतले नागरिक सहायता कक्ष, निःशुल्क रुपमा निवेदन लेखिदिने व्यवस्था र अदालतको सेवालाई  प्रविधिमैत्री बनाएर समयमा नै प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सफल भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment