Comments Add Comment

पश्चिमी युरोपमा बाढी : मृत्यु हुनेको संख्या १८३ पुग्यो

३ साउन, काठमाडौं । पश्चिमी युरोपमा बाढीका कारण मृत्यु हुनेको संख्या १८३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विस्तारै बाढीको स्तर कम भएसँगै उद्धारकर्ताहरुले हराएका मानिसहरुको खोजी गरिरहेका छन् ।

जर्मनीको राइनल्याण्ड–पलाटिनेट प्रान्तका एहरवीलर इलाका बाढीबाट सबैभन्दा प्रभावित भएको छ । त्यहाँ ११० भन्दा धेरै मानिसको मृत्यु भएको छ, यो आँकडा बढ्न सक्ने स्थानीय प्रशासनको आशंका छ ।

जर्मनीको सबैभन्दा घना बस्ती रहेको नर्थ राइन–वेस्टफालिया प्रान्तमा ४५ जनाको मृत्यु भएको पुष्टि भएको छ । जर्मनीपछि बेल्जियम पनि बाढीको कारण निकै प्रभावित बनेको छ । बेल्जियममा अहिलेसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

जर्मनी चान्सलर एन्जेला मर्केलले एहरवीलर क्षेत्रमा बाढीबाट सबैभन्दा धेरै प्रभावित भएको एक गाउँ स्कुल्डको यात्रामा जाने तयारी गरेकी छन् । जर्मनीका राष्ट्रपतिले पनि यो क्षेत्रमा शनिबार भ्रमण गरेका थिए । उनले यो क्षेत्रमा लामो समयसम्म सहयोगको आवश्यकता पर्ने बताएका थिए । अधिकारीहरुले बाढीको भरपाइको लागि जर्मनीलाई ३० करोड युरो आवश्यक हुने बताएका छन् ।

अहिले भने जर्मनी, बेल्जियम र नेदरल्याण्ड्सको बाढी प्रभावित क्षेत्रमा वर्षा रोकिएको छ । पश्चिमी र मध्य युरोपको अन्य स्थानमा भने अझै पनि वर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment