Comments Add Comment

महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसलगत्तै बसेको ठाकुर पक्षका सांसदहरुको बैठकले देउवालाई मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए ।

उनले भने, ‘उहाँले हाम्रो माग मुद्दा सम्बोधन गर्ने मौखिक बचन दिनुभएको छ । संसदमा बोल्दा पनि यसबारे भन्छु भन्नु भएकाले विश्वासको मत दिने निर्णय गरेका छौं ।’

ठाकुर पक्षका एक नेताले भने सांसदहरु उपेन्द्र यादव पक्षतिर लागेपछि बाध्य भएर यो निर्णयमा पुगेको सुनाए । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री देउवाले दाबी पेश गर्दा उपेन्द्र यादव पक्षका १२ सांसदले मात्र हस्ताक्षर गरेका थिए । त्यतिबेला ३२ मध्ये २० जना ठाकुरतिर लागेका थिए ।

प्रतिनिधिसभा विघटन भएपछि सरकारमा गएको ठाकुर पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री बनेका थिए । उनीहरुमध्ये सरकारमा पार्टीको नेतृत्व गरेका राजेन्द्र महतो उपप्रधानमन्त्री समेत भए । तर सर्वोच्च अदालतको आदेशका कारण १९ दिनमै पदमुक्त भए ।

संसद पुनर्स्थापना भएसँगै ठाकुर पक्षमा रहेका सांसदहरु उपेन्द्र यादवतिर लाग्न थाले । सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल आइतबार उपेन्द्र यादव पक्षले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका थिए भने रुही नाज मिकरानी पनि आफूहरु तिर आएको यादव पक्षका नेताहरुले बताएका छन् ।

ओली नेतृत्वको सरकारमा महिला, बाबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी रेणुका गुरुङ पनि आइतबार यादव पक्षमा लागिन् ।

एकपछि अर्को सांसद यादवतिर लागेपछि देउवालाई मत दिने निर्णय गरिएको एक नेताले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment