Comments Add Comment

गोविन्दा र मेरो विवाहको कुरा एक बर्षसम्म गुपचुप राख्यौं – सुनीता आहूजा

अभिनेता गोविन्दा पत्नी सुनीता आहूजा आफुलाई नेपाली मुलको बताउने गर्छिन् । नेपाललाई उनी माइतीघर मान्छन् । बेलामौकामा गोविन्दासँग नेपाल आएकी छिन् । भनिरहनु परेन, गोविन्दाले एक्सन र डान्सिङ हिरोको रुपमा करियर सुरु गरे । पछि कमेडी हिरोको रुपमा आफुलाई स्थापित गरे । ९० को दशकमा गोविनले कुली नम्बर वन, हिरो नम्बर वन, दीवाना मस्ताना, बडे मियाँ छोटे मियाँ, अनाडी नम्बर वान जस्ता सुपरहिट फिल्म दिए ।

उनै गोविन्दाले नेपाली मुलकी सुनीतासँग विवाह गरेका हुन् । उनीसँग कसरी गोविन्दाको प्रेम भयो ? विवाह, घरजामदेखि अनेक चर्चा र अपवाहका विषयमा उनले खुलेर कुराकानी गरेकी छिन् ।

गोविन्दासँग तपाईंको पहिलो भेट कहिले, कहाँ र कसरी भयो ?

मेरो ठूली बहिनीको विवाह गोविन्दाको मामासँग भएको छ । तिनीहरु त्यहाँ करियरका लागि संघर्ष गर्न आएका थिए । त्यहाँ दुई-तीन बर्ष बसे । सोही ठाउँमा गोविन्दा र मेरो भेट भयो थियो । सोही भेटपछि हामीले एकअर्कालाई मन पराउन थाल्यौं । यो खबर हाम्रो घर–परिवारसम्म पुग्यो । उनीहरु हाम्रो विवाहका लागि राजी भए । यसरी तीन बर्षको अफेयरलाई हामीले विवाहमा बदल्यौं । सन् १९८८ मा हामी छोरीको आमाबुवा भयौं ।

केही बर्ष त विवाहको कुरा ढाकछोप गर्नुभयो, त्यस क्रममा तपाईंहरुको मनस्थिती कस्तो थियो ?

त्यो यस्तो जमाना थियो कि, स्टारले आफ्नो विवाहको बारेमा गोपनियता राख्नुपर्ने । यदि उसले विवाह भएको कुरा गरेरमा महिला फ्यान फलोइङ कम हुन्थ्यो । यसैले जबसम्म छोरी जन्मदैन, तबसम्म हामीले विवाहको कुरा बाहिर ल्याएनौं । त्यसबेला उनी एकदमै व्यस्त भइसकेका थिए ।

विहानदेखि रातीसम्म पाँच-पाँच शिफ्टमा सुट गर्थे । त्यसपछि घर आइपुग्थे । त्यो व्यस्ततामा हामीले थाहै पाएनौं कि एक बर्ष कसरी वित्यो । मेरी सासुले पनि धेरै कुरामा सहयोग गर्थिन् । छोरीको एकदमै राम्ररी हेरचाह गर्नुहुन्थ्यो । त्यसैले गोविन्दाको अभाव मैले महसुष गर्नु परेन ।

आखिर मान्छेलाई कसरी थाहा भयो कि तपाईंहरुको विवाह भयो ?

छोरोको पहिलो जन्मदिन थियो, जसलाई एकदमै भव्य तरिकाले मुम्बाईको फाइभ स्टार होटल लीला पेन्टा होटलमा मनाएका थियौं । त्यसबेला उनले फिल्म उद्योगमा जो–जोसँग काम गरेका थिए, ति सबै आएका थिए । त्यही बेला प्रेस सम्मेलन गरेर हामीले स्पष्ट ग¥यौं कि हाम्रो विवाह भएको कुरा । अचानक यो कुरा स्पष्ट गरेका थियौं, त्यसैले कतिलाई शंका पनि भयो । तर, त्यसले हामीलाई कुनै फरक पर्नेवाला थिएन । हुने कुरा त भइहाल्छ नि ।

के पनि सुनिन्छ भने तपाईंले दोस्रो पटक विवाह गर्नुभयो, यसको कारण ?

हो, २५ औं वर्षगाँठमा फेरी विवाह गरियो । पहिलो विवाह हामीले गुरुको अगाडि गरेका थियौं । यो सामान्य रुपमा हाम्रो परिवारभित्र भएको थियो । दोस्रो पटक २५ औं विवाहको वर्षगाँठमा लन्डनमा गएर पुरा विधी विधान अनुसार विवाह ग¥यौं । त्यहाँ गोविन्दाले मान्ने गरेका भाई छन् । उनले गोविन्दालाई ठूलो दाजु मान्छन् । उनैले हाम्रो विवाहको मेलोमेसो मिलाएको थियो । विवाहमा बच्चा गएका थिएनन् । किनभने आमाबुवाको विहे बच्चाले हेर्नु हुँदैन । बाँकी घर परिवार, आफन्त सामेल भएका थिए ।

मेहुल कुमारले भनेका थिए, गोविन्दा अलराउन्डर हुन् । पहलाज निहलानीले भनेका थिए गोविन्दको प्रतिस्पर्धी कुनै अभिनेता छैनन् । त्यसो भए फेरी किन उनको करियर ठप्प भयो ?

उनको जमानामा फिल्म बनाउने ढंग केही फरक हुन्थ्यो । अहिले त्यो पुरै बद्लिएको छ । अहिले के पनि भएको छ भने हाम्रो उद्योगमा गु्रपिज्म बढी भयो । त्यस बेला यस्तो ग्रुपिज्मको कुनै नाम नै थिएन । यहाँ सबैलाई थाहा छ कि गोविन्दा जस्ता अद्भूत अभिनेता छैन । मेरो हिसाबले त अहिलेसम्म देखेको छैन । अहिले सबै आ आफ्नो ग्रुपमा बसेर सिनेमा बनाउँछ । विषय पनि हेर्नुहोस्, पहिले जस्तो बन्दैन । यसैले उनले ब्रेक लिए । उनले भनेका छन् कि, जबसम्म मेरो रुचीको कथा मिल्दैन, तबसम्म फिल्ममा काम गर्दिन ।

छोरालाई पनि फिल्ममा डेब्यु गराउने कुरा थियो, छोरी के गर्दैछिन् ?

यसै वर्ष डेब्यु गराउनेबारे हामीले सोचेका छौं । किनभने दुई बर्ष त लकडाउन नै भयो । यस बर्ष उनी तयार भएका छन् । उसले लन्डनमा नृत्य, एक्टिङ सबै सिकेका छन् । यहाँ आएर व्यायाम, जिम आदि गरेका छन् । उसलाई कोरियोग्राफर गणेश आचार्यले डान्स सिकाएका छन् । राम्रो कथा र व्यानर पाइयो भने उसलाई लन्च गर्छौं । ऊ रोमान्टिक एक्सन फिल्म गर्न चाहन्छ, किनभने उसलाई एक्सन फिल्ममा बढी रुची छ ।

मेरो छोरीले एउटा फिल्म गरिसकेकी छिन् । उसले दुई, तीन एल्बम पनि निकालेकी छिन् । अहिले उनी गोविन्दाको डिजाइनिङ गर्छन् । उनले पनि लन्डनमा फेशन डिजाइनिङ सिकेका हुन् । गोविन्दाले शो र सुटिङमा जति कपडा लगाउँछन्, त्यो छोरीले डिजाइन गरेको हो ।

तपाईंले भन्नुभयो कि, त्यसबेला गोविन्दा एकदमै विजी हुन्थ्यो । पिताको कमी गोविन्दाले कसरी पुरा गर्थे ?

बालबच्चा विस्तारै हुर्किए । तब उनीहरुलाई आउटडोर सुटिङमा लगेर जान्थे । जब त्यहाँ सुटिङको काम हुँदैनथ्यो, बच्चाहरुसँग घुम्ने टाइम निकाल्थे । आउटडोर जान्थे, तर सेटमा एकदमै कम जान्थे । कहिले उसले काममा बाधा गर्दैनथ्यो । मेरो छोरा तीन महिनाको थियो, तब स्विट्जरल्यान्डमा पहिलो पटक सुटिङमा जानुपर्ने भयो । त्यहाँ हिरो नम्बर वानको सोना कितना सोना है गीतको छायांकन थियो । त्यहाँ हामी आउटडोर जान्थ्यौं । सपिङ गरिन्थ्यो ।

त्यसबेला गसिपबाजी खुब हुन्थ्यो । पहिलो पटक गोविन्दाको गसिप कहिले सुन्नुभयो ?

हेर्नुहोस्, म यी सबै कुरामा विश्वास गर्दिन । मान्छेसँग विश्वास र भरोसाले विवाह गरिन्छ । गसिपको चक्करमा आउनु, घर बर्बाद गर्नु ठीक थिएन । मैले यस्ता गसिपलाई कहिल्यै विश्वास गरिन ।

गोविन्दाको एउटा कुरा, जुन सुरुदेखि अहिलेसम्म बद्लिएको छैन । त्यो के हो ?

गोविन्दा जतिबेला मसँग अफेयरमा थिए, आजपनि त्यस्तै छन् । उनमा कुनै परिवर्तन छैन ।

फिल्म उद्योगमा मिल्ने साथीहरु को को हुन् ?

शक्ति कपूर, राजपाल यादव, रवि किशन, अल्का याज्ञनिक, उदित नारायण ।

अहिले घरमा तपाईंहरुको दिनचर्या कस्तो हुन्छ ?

हामी घरमा सबै साढे पाँचमा उठ्छौं । विहान उठेर योग, प्राणायाम, वाक, व्यायाम गर्छौं । व्यायाम त घरमा हामी सबै गर्छौं । कोरोना छ, आयुर्वेदिक औषधि खाँदैछौं । समयमै खाने, सुत्ने काम हुन्छ । लेट नाइट बस्दैनौं । हाम्रो खाना एकदम सादा हुन्छ । हाम्रो घरमा धेरैजसो भिन्डी, पालक पनिर, दाल, रोटी, चामल हुन्छ । गोविन्दा भिन्डीको सब्जी, पालक पनिर, मुंगको दाल औधि मन पराउँछन् । आधा रोटी खान्छन्, थोरै राइस, ग्रीन सलाद र प्राउड सलाद खान्छन् । यी सबै उनको मनपर्ने कुरा हुन् ।

अहिलेसम्म यस्तो भएको छ, कुनै हार्डकोर फ्यान होस् ?

धेरै अगाडिको कुरा । एउटा राम्रै घरकी युवती थिइन् । उनले भनिन्, म नोकर हुँ । त्यसपछि उनी हाम्रो घरमा काम गर्न थालिन् । उसलाई भाँडावर्तन सफा गर्न राखिएको थियो तर विचरीलाई त्यो काम गर्न नआउने । त्यो देखेर मेरी सासु भन्ने गर्थिन्, तिमीलाई काम गर्न नै आउँदैन । हुनपनि ठूलो घरानकी युवती थिइन्, किन पो काम गर्थिन् । खासमा उनी गोविन्दाको ठूलो फ्यान रहिछन् । उनलाई लागेको रहेछ कि यसरी नै गोविन्दालाई पगालेर विवाह गर्छु । एक सप्ताहमा उनको पोल खुल्यो र बुवाआमालाई बोलाएर फिर्ता पठायौं । उसको वुवाको पाँच पाँच गाडी रहेछ । धेरै धनी केटी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment