Comments Add Comment

लक्ष्यको आधा पनि आएन वैदेशिक सहायता

४ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सरकार वैदेशिक सहायता प्राप्तिमा असफल देखिएको छ । सरकारले यो वर्ष उठाउन तोकेको लक्ष्यको आधा समेत प्रगति प्राप्त नभएको अर्थ मन्त्रालयको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

अर्थसचिव शिशिर कुमार ढुंगानाका अनुसार यो आर्थिक वर्षमा सरकारले कुल १ खर्ब ३९ अर्ब रुपैयाँ वैदेशिक ऋण प्राप्त गर्न सकेको छ । ऋण लिने लक्ष्य भने २ खर्ब ९९ अर्ब रुपैयाँ थियो । यो आर्थिक वर्षमा सरकारले वैदेशिक अनुदान प्राप्ति कुल २४ अर्ब रुपैयाँ गरेको छ । त्यसमध्ये सिधा भुक्तानीका रुपमा आएको हो ।

यो वर्षको अनुदान प्राप्तिको लक्ष्य भने ६० अर्ब रुपैयाँको थियो । वैदेशिक ऋण र अनुदान प्राप्तिलाई कुल लक्ष्यको तुलनामा हिसाव गर्दा प्रगति मात्र ४५ प्रतिशत हुन आउँछ ।

अर्थात् वैदेशिक सहायता प्राप्ति लक्ष्यको आधा समेत भएन । अर्थ मन्त्रालयका अनुसार वैदेशिक सहायता तथा ऋण धेरैजसो पुँजीगत खर्चका कार्यक्रममा लक्षित रहेको हुन्छ । सो प्रयोजनको खर्च नै कम भएका कारण प्राप्ति समेत उत्साहजनक रहन नसकेको अर्थ मन्त्रालयको विश्लेषण छ । यो वर्ष पूँजिगत खर्च लक्ष्यभन्दा १ खर्ब २४ अर्ब कम प्रगति भएको छ ।

प्रतिवद्धता उत्साहजनक, प्राप्ति कमजोर

सरकारले यो आर्थिक वर्षमा अन्तर्राष्ट्रिय सहायता प्रतिवद्धता भने उत्साहजनक रुपमा प्राप्त गरेको थियो । अर्थ मन्त्रालयको आव २०७७/७८ मा करीव साढे २ खर्ब बराबरको वैदेशिक सहायताको प्रतिवद्धता प्राप्त भएको थियो ।

यसरी प्राप्त भएको प्रतिवद्धतामा ९० प्रतिशत हाराहारी ऋण र १० प्रतिशत हाराहारी अनुदान हो । तर, यसरी प्राप्त भएको प्रतिवद्धता अनुसारको रकम आउन भने कार्यक्रम र आयोजनाको कार्यान्वयन समेत सोही गतिमा हुनुपर्छ । त्यसो हुन नसक्दा प्राप्ति कमजोर हुने गर्छ ।

लक्ष्यअनुसार आन्तरिक ऋण

सरकारले यो वर्ष आन्तरिक ऋण भने लक्ष्यअनुसार नै संकलन गर्न सफल भएको छ । अर्थसचिव ढुंगानाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो ।

प्राप्ति भने २ खर्ब २४ अर्ब भएको छ । आन्तरिक ऋण लक्ष्य अनुसार नै उठेको उनले जानकारी दिए ।

राजस्वले चालु खर्च धान्न पुग्यो

यो आवमा राजस्व संकलनबाट प्राप्त रकमले सरकारको चालु खर्च मात्र धान्न पुगेको छ । सरकारले आव २०७७/७८ मा कुल १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो ।

तर, प्राप्ति भने ९ खर्ब ७८ अर्ब रुपैयाँ भएको छ । कोरोना भाइरसको महामारीका बीच समेत राजस्व संकलन भने लक्ष्यको नजिक-नजिक पुगेको छ ।

यो बीचमा भन्सार राजस्व लक्ष्यभन्दा केही बढी उठेपनि आन्तरिक राजस्व संकलन प्रभावित भएको छ । आन्तरिक राजस्वमा समेत गैरकर राजस्व कम उठेको छ ।

अर्थसचिव ढुंगानाका अनुसार गैरकर राजस्व कम उठ्नुको मूख्य कारण भने कोरोना महामारीका कारण आर्थिक गतिविधि संचालन हुन नसक्नु हो । गत आवको पहिलो दुई महिना र अन्तिम दुई महिना आर्थिक गतिविधि करीव ठप्प भएका थिए ।

उठेको राजस्वले सरकारको चालु खर्च मात्र धान्न पुगेको छ । आव २०७७/७८ मा चालु खर्च ८ खर्ब ५१ अर्ब खर्च भएको छ । पूँजिगत खर्च ३ खर्ब ५२ अर्ब लक्ष्य राखिएको थियो । खर्च प्रगति भने २ खर्ब २८ अर्ब प्रगति भएको छ । पँजीगत खर्च प्रगति ६४.६९ प्रतिशत रहेको छ ।

महत्वकांक्षी लक्ष्य

सरकारले गत आवमा वैदेशिक स्रोत प्राप्तिमा कमजोर प्रदर्शन गरेसँगै चालु आर्थिक वर्षको लक्ष्य समेत महत्वकांक्षी देखिएको छ ।

यो वर्ष सरकारले वैदेशिक ऋणबाट ३ खर्ब २९ करोड र आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब उठाउने लक्ष्य राखेको छ ।

वैदेशिक अनुदान भने ६३ अर्ब ३७ करोड रुपैयाँ बेहोर्ने लक्ष्य चालु आवको बजेटले लिएको छ । अध्यादेशबाट आएको यो बजेट आजै प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी मुलतः पर्यटन तथा नागरिक उड्डयन बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment