+
+

तनहुँका नेतालाई रामचन्द्रको आग्रह : मेरो पक्षमा माहोल बनाइदिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ४ गते ११:५७

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँका नेताहरुलाई महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका छन् ।

तनहुँ जिल्लाबाट केन्द्रीय सदस्य रहेका नेताहरुसँग छलफल गर्दै वरिष्ठ नेता पौडेलले आसन्न महाधिवेशनमा सहयोगका लागि आग्रह गरेका हुन् ।

तनहुँबाट कांग्रेस केन्द्रीय समितिमा पौडेलसहित शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई र ध्रुव वाग्ले रहेका छन् । वाग्ले आमन्त्रित केन्द्रीय सदस्य हुन् ।

आइतबार काठमाडौंमा चार जना केन्द्रीय सदस्यसँगको छलफलमा नेता पौडेलले आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सहयोगका लागि आग्रह गरे । संस्थापनइतर समूहमा आधा दर्जन बढी नेतृत्वका आकांक्षी रहेका बेला पौडेलले गृहजिल्लाका नेताहरुको साथ खोजेका हुन् । ‘अब म अगाडि बढिसकें । अघिल्लो पटक प्राविधिक रुपमा सभापतिमा हारेको हुँ । अहिले मेरो पक्षमा माहोल छ,’ पौडेलले भने, ‘तपाईंहरुले पनि मलाई सहयोग गर्नुपर्‍यो ।’

तनहुँका चारैजना केन्द्रीय सदस्य पौडेल समूहमा छैनन् । केन्द्रीय सदस्य भटट्राई, भण्डारी र वाग्ले संस्थापन समूहका नेता हुन् भने अर्का केन्द्रीय सदस्य पौडेल तेस्रो समूहसँग नजिक छन् ।

संस्थापनइतर समूहमा नेता पौडेललाई आफ्नै जिल्लाका नेताहरु मिलाउन नसकेको आरोप लाग्दै आएको थियो । छलफलमा सहभागी एक केन्द्रीय सदस्यले गृह जिल्लाका नेताहरुसँग नेता पौडेलले संवाद गर्नु सकारात्मक भएको प्रतिक्रिया दिए । ‘उहाँ सभापतिमा लड्छु भन्नुहुन्छ तर आफ्नै जिल्लाका नेताहरुलाई मिलाउन नसकेको भनेर आलोचना भइरहेको थियो,’ ती केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, ‘उहाँले तपाईंहरु जहाँ हुनुहुन्छ, त्यहाँ मेरो पक्षमा माहोल बनाइदिनुस् । यसपटक मलाई तपाईंहरुको सहयोग चाहिन्छ भन्नुभयो ।’

केन्द्रीय सदस्यहरुले नेता पौडेललाई आफ्नो समूहबाट साझा उम्मेदवार बन्न सुझाव दिए । ‘तपाईं पहिला आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार बन्नुस् । त्यसपछि बल्ल सहयोगबारे कुरा हुन्छ,’ अर्का एक केन्द्रीय सदस्यले भने, ‘तपाईं स्वभाविक उम्मेदवार हो भनेर हामीले भन्यौंै ।’

संस्थापननिकट एक केन्द्रीय सदस्यले नेता पौडेललाई सभापति शेरबहादुर देउवासँग सहकार्य गर्न सुझाव दिएका थिए । तर पौडेलले भने आफू सभापतिमै उम्मेदवारी दिने भन्दै अन्य लाभका पदमा चासो नरहेको प्रतिक्रिया दिएका थिए ।

नेता पौडेल १३ औं महाधिवेशनमा सभापतिमा पराजित भएका थिए । उनले आसन्न महाधिवेशनमा पनि नेतृत्वमा प्रतिस्पर्धा गर्ने चाहना राखेको भए पनि उनकै समूहभित्र विरोध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?