Comments Add Comment

ओलीको घोषणा : बाटो बिराएका सबैलाई ‘आममाफी’

७ साउन, काठमाडौं । फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले भनेका छन्, ‘ बाटो बिराएका भडि्कएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’

उनले अघि भनेका छन्, ‘जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौं ।’

यो कार्यक्रम लगतै बसेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टी एकताका लागि तत्कालीन कार्यदलका सदस्यहरुबीच सम्वाद भइरहेको भन्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘यो प्रयासलाई अझ थप निरन्तरता दिने र कमसेकम नेतृत्वको तर्फबाट पार्टीका सबै साथीहरुलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालिएको छ ।’

बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पनि पार्टीमा योगदान गर्न चाहनेहरुलाई विगतको गल्तीबाट उन्मुक्ति दिई काम गर्ने वातावरण निर्माण गर्ने बताएका छन् । तर अन्तरघात र आन्दोलनलाई अन्तरध्वंश गर्ने प्रवृत्ति क्षम्य नहुने उनले बताएको प्रवक्ता ज्ञवालीले वनजकारी दिएका छन् ।

जबकी सोमबार सुरु भएको केन्द्रीय कमिटीको पहिलो बैठकले नै माधव नेपालसहित फ्लोर क्रस गर्ने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । बैठकलाई सम्बोधन गर्दै ओलीले गल्ती कमजोरी स्वीकार गरे आए अरुलाई ठाउँ लिने, तर माधव नेपाललाई एमालेमा स्थान नभएको बताएका थिए ।

एमालेलाई कसैले रोक्न सक्दैन 

पुष्पलाल स्मृति दिवसको कार्यकममा झण्डै एक घण्टा लामो सम्बोधन गरेका ओलीले एमालेलाई कसैले रोक्न नसक्ने बताएका छन् । पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको भन्दै उनले भने, ‘यो कर्कलोको पातको पानी होइन, कसैले हल्लाउँदैमा भुँइमा खस्छ ।’

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न दुनियाँ लाग्दा पनि खुट्टा समेत हल्लाउन नसकेको र अदालतको परमादेशबाट हराइएको बताए । त्यसका बाबजुद स्थानीय तह, प्रदेश र संघीय संसदमा एमाले प्रमुख शक्ति रहेको भन्दै अध्यक्ष ओलीले भनेका छन्, ‘देशको प्रमुख राजनीतिक शक्ति हो, लोकतान्त्रिक आन्दोलनको प्रमुख राजनीतिक धार हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment