Comments Add Comment

ओली ‘यूटर्न’ को अर्थ : एकताको संकेत कि संकटमोचन कार्ड !

८ साउन, काठमाडौं । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार शुरु भएको नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठक सकिएको छ । चार दिन चलेको बैठकले आन्तरिक एकता कायम गर्न जुटेको दशबुँदे सहमति अनुमोदन, सर्वोच्च अदालतको फैसलाबारे पार्टी निर्णय, अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारले गरेको काम र अन्य केही निर्णय समेत गरेको छ ।

तर धेरैले चासो दिएको र बैठक उद्घाटनसँगै शुरु गरिएको कारबाही प्रक्रिया भने फिर्ता लिइएको छ । बरु, पार्टी एकताको प्रयासहरू जारी राख्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । ‘एकताको लागि प्रयासहरु जारी राख्ने र बाटो बिराएका, आन्दोलनको अहित हुनेगरी गतिविधिमा संलग्न भएका साथीहरुलाई कमी, कमजोरीहरु सच्याएर आउनका निम्ति अपिल गर्दै आजको बैठक सकिएको छ’, बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ज्ञवालीले भने ।

त्यसअघि नै ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई कुनै कारबाही नहुने संकेत दिइसकेका थिए । पुष्पलालको ३९औं स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रम सम्बोधन गर्दै ओलीले ‘आममाफी’ घोषणा गरेका थिए । ‘बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड’, अध्यक्ष ओलीको भनाइ थियो ।

जबकी, प्रधानमन्त्रीबाट पदमुक्त भएर ३० असारमा बालकोट फर्किएपछि ओलीले दिएका अभिव्यक्ति र लिएका निर्णय हेर्दा यो बैठक यसरी सामान्य निर्णय गरेर सकिने अनुमान गर्न सकिन्नथ्यो । बालकोटको बार्दलीबाट नेता नेपाललाई गद्दार घोषणा गर्दै पार्टीमा कुनै ठाउँ नहुने बताउका थिए । पार्टी अध्यक्ष ओलीको त्यो घोषणासँगै उनी समर्थक कार्यकर्ताले माधव नेपालको पुत्ला जलाउने, शवयात्रा निकाल्नेदेखि नयाँ बानेश्वरमा बाँदर जुलुस समेत निकाले ।

लामो समय खर्चिएर दोस्रो तहका नेताहरुले जुटाएको दशबुँदे सहमति बिथोलिने गरी आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाइनुले पनि एकता भाँडिनसक्ने विश्लेषण गरिएको थियो । ‘फ्लोर क्रस गर्दै पार्टीप्रति गद्दारी गर्नेहरुलाई कारबाही गर्नकै निम्ति’ बैठक बोलाइएको अध्यक्ष ओली निकट नेताहरुले बताएका थिए । नभन्दै, बैठक उद्घाटन गर्दै ओलीले माधव नेपाललाई माधव नेपाल बाहेकको एमाले एकता हुने बताए भने प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भयो ।

तर चार दिन चलेको बैठकमा स्पष्टीकरणको जवाफबारे छलफल गरेन । बरू, पठाइसकेको जवाफ अलपत्र पर्यो । स्रोतका अनुसार, स्पष्टीकरण सोध्ने निर्णय नै फिर्ता भनेपछि तयार भइसकेको र कतिपयले बुझाइसकेको जवाफको अर्थ रहेन । बिहीबार दिउँसो माधव नेपालसहित २२ जनाले नै स्पष्टीकरणको जवाफ तयार पारेका थिए । अदालतको फैसला बमोजिम देउवालाई विश्वासको मत दिए बापत कारबाही गर्न नमिल्ने भएकाले स्पष्टीकरण पत्रमा पुराना विषयहरु उल्लेख थियो । कर्णाली प्रदेशमा फ्लोर क्रस, लुम्बनी र बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनमा पार्टी उम्मेद्वारलाई मतदान नदिइनु, २७ वैशाखको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुनु, विपक्षी गठबन्धनमा आवद्ध लगायत समेटेर स्पष्टीकरण सोधिएको थियो । जबकी यी विषयहरुमा यसअघि नै पटकपटक स्पष्टीकरण सोधिएको थियो ।

माधव नेपाल समूहका नेताहरू भने अध्यक्ष ओलीप्रति सशंकित छन् । ओलीले पहिले जस्तै संकटमोचनका निम्ति एकताको कार्ड फालेको आशंका गर्छन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि ओलीले फेरि तिनै विषय उठाएर स्पष्ट?करण सोधेका थिए । अर्थात् अध्यक्ष ओलीको मूड र केन्द्रीय कमिटी बैठक बोलाउनुको प्रयोजन फ्लोर क्रस गर्नेहरुलाई जुनसुकै बाहानामा कारबाही गर्नु नै थियो । तर बैठक समापनपछि भने ओली निकट नेताहरु समेत अलमलमा परे । ‘अध्यक्ष कमरेडको प्रस्तुति पहिले यस्तो हुन्नथ्यो । यसपटक उल्टै हामीलाई सम्झाउने गरी प्रस्तुत हुनुभयो’, उनी निकट एक नेता भन्छन् । हरेक दिन जस्तो बैठकमा ओली निकट नेताहरुले ‘फ्लोर’बाट माधवकुमार नेपाललाई तत्काल निकाल्न माग गर्थे । तर ओली सम्झाउँथे ।

बैठक समापनको दिन त अध्यक्ष ओलीले एकता जोगाउन जोखिम मोलेर खोलामा हाम फालेको बताएका छन् । ‘म तराईमा हुर्किएँ । दाउरा नहुने, बाढी आउँदा ठूलाठूला रुखहरु बगाएर ल्याउथँे । हाम फोलेर ती रुख बाहिर ल्याउनुपर्ने । त्यहाँ जोखिम हुन्छ । म त्यसरी आएको हुँ । अहिले एकताका निम्ति फेरि पनि जोखिम मोल्न तयार छु’ ओलीको भनाइ उदृत गर्दै एक नेताले भने ।

चौथो पटक सोधिएको स्पष्टीकरण पनि फिर्ता लिएका ओलीले अर्को केन्द्रीय कमिटी बैठक चाँडै बस्ने जानकारी दिएका छन् । सँगै, अध्यक्ष ओलीले अहिले कायम पार्टी संरचना क्रियाशील बनाइरहन पनि निर्देशन दिएका छन् ।

केन्द्रीय सदस्य विष्णु रिजाल, अध्यक्ष ओलीले पार्टीमा एकताको संकेत दिएको बताउँछन् । ‘अध्यक्ष कमरेडले अन्तिममा छिट्टै केन्द्रीय कमिटी बैठक आह्वान हुनेछ भन्नुभएको छ । मलाई विश्वास छ, त्यो केन्द्रीय कमिटीको बैठक पार्टीका सवै केन्द्रीय सदस्यहरुको उपस्थितिमा हुनेछ’, उनी भन्छन् ।

तर ओलीले एक्लौटी बनाएको पार्टी संरचनामा सहभागी नहुने माधव नेपाल समूहका अडान कायमै छ । २७ असारमा जुटेको दशबुँदेपछि अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा पनि माधव समूहका नेताहरु अनुपस्थित रहे । ओली र नेपालले दश बुँदे अनुमोदन गरेर सहमति बोलाइएको बैठक र पार्टी संरचनामा मात्रै नेपाल समूह सहभागी हुने बताउँदै आएका छन् ।

ओलीले भने सकेसम्म एकता प्रयास गर्ने, तर नभएसम्म अलपत्र पर्न नहुने भएकाले विद्यमान पार्टी संरचना चलाउनुपर्ने तर्क गरे । ‘आमा र छोरी । आमाले भनिन्– म मरिहाल्छु र छोरीले बिहे गरेर जान्छु । काम नगरी बसे । तर आमा पनि मरिनन्, छोरीको पनि बिहे भएन । यस्तो हुनुभएन’, ओलीले उदाहरण दिएका थिए ।

माधव नेपाल समूहका नेताहरू भने अध्यक्ष ओलीप्रति सशंकित छन् । ओलीले पहिले जस्तै संकटमोचनका निम्ति एकताको कार्ड फालेको आशंका गर्छन् ।

निकट बिगतले पनि यस्तो संशय गरेको देखिन्छ । अध्यक्ष ओलीका पछिल्लो निर्णय र अभिव्यक्ति संगतिपूर्ण देखिन्न । सोमबार बैठक उद्घाटन गर्दा ‘गद्दार’ को संज्ञा दिएका माधव नेपाललाई बुधबार ‘दोस्रो अध्यक्ष मान्न तयार थिएँ’ भने । लगत्तै उनी निकट नेता शंकर पोखरेलले ओलीको अभिव्यक्ति पुरानो सन्दर्भमा भनिएको प्रष्टोक्ति दिए । तर बिहीबार आइपुग्दा ओलीले आमामाफी दिने भन्दै पार्टी एकतामा आउन आउन आग्रह गरेका छन् ।

माधव नेपाल निकट नेता बेदुराम भुसाल, विश्वासिलो वातावरण र सम्मानजनक एकता नभएसम्म गुलियो बचनमा नअल्मलिने बताउँछन् । उनी भन्छन्, ‘एकताको पक्षमा हामी सधैं उभिँदै आएको छौं । नत्र केपी ओलीले त उहिल्यै निकालेका हुन् नि । अझै पनि विश्वासको गर्ने वातावरण छैन ।’

अध्यक्ष ओलीले जस्तै माधव समूहको पनि गतिविधि र निर्णय रोकिएको छैन । बिहीबार मात्रै नेता नेपालले आफू निकट युवा संघले १२ वर्षपछि ब्यूताएको पिपुल्स भोलियन्टर्स (पीभी) घोषणा गरे । ४–५ चैत पछि समानान्तर बनेको संगठन क्रियाशील नै छ । प्रधानन्त्रीबाट ओली हटेको भोलिपल्टै उनी निकट युवा संघले युथफोर्स ब्युताए पछि माधव समूहले अखिल फोर्स बनाएको थियो ।

राष्ट्रपतिको चिन्ता !

माधव समूहका नेताहरुको बुझाइमा, अध्यक्ष ओली एकपछि अर्को संकटमा पर्दै गएका छन् । त्यसैले उनी एकातिर एकता भन्ने, दशबुँदे सहमति एक्लौटी अनुमोदन गर्ने, तर अर्कातिर चर्को अभिव्यक्ति दिने, समर्थकहरुलाई प्रदर्शनमा उतार्नेदेखि ‘अर्थहीन’ स्पष्टीकरण सोध्न गरिरहेका छन् । एक नेता त, अहिले राष्ट्रपति विद्यादेवी भण्डारीकै पद संकटमा परेपछि यस्तो परिस्थिति सिर्जना भएको बताउँछन् । उनको भनाइमा, अध्यक्ष ओली र उनी निकट नेताहरुले आफ्नो पक्षको सांसद संख्या अझै घट्ने अनुमान गरेका छन् ।

३ साउनमा प्रधानमन्त्री देउवाले विश्वासको मत दिँदा ओलीसहित विपक्षमा ८३ मत मात्रै पर्यो । त्यसदिन ७ जेठमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा ओलीलाई साथ दिएका आठ सांसदले त देउवालाई विश्वासको मत दिए । जबकी माधव समूहबाट कार्यदलमा रहेका सहित १० सांसद तटस्थ बसेका थिए । अर्थात् माधव समूहमा सांसद संख्या बढ्दै गएको छ ।

संसद् पुनस्र्थापना र देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग गर्दा माधव समूहमा २३ सांसद मात्रै थिए । अर्थात् ९८ जना ओलीतिर उभिएका थिए । यो संख्या घटेर ८३ मा झर्दा दुई तिहाइबढी सांसद सत्तारुढ तर्फ देखिएको छ । ‘माधव नेपालले अलग पार्टी बनाएमा सत्तारुढ गठबन्धनको दुई तिहाइ पुग्ने भयो । राष्ट्रियसभामा पनि त्यस्तै अवस्था छ’, ओली निकट एक नेता भन्छन् ।

यदि एमाले विभाजन हुने भने राष्ट्रपतिविरुद्ध महाअभियोग पारित गर्न चाहिने दुई संसदमा जुट्न सक्छ । हुन त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिविरुद्ध कुनै कदम नचाल्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् । तर दुई पटक प्रतिनिधिसभा विघटन र अनेक अध्यादेशमा ओलीलाई साथ दिएका राष्ट्रपति भण्डारीविरुद्ध महाअभियोग नआउला भन सकिन्न ।

अझ २७ जेठ र २८ असारको अदालतको आदेशले अनुकुल अवस्थामा रहेका माधव नेपालले अलग पार्टी बनाएमा ओलीले प्रदेश सरकारहरु समेत गुमाउनुपर्ने अवस्था देखिन्छ । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुँदा नै प्रदेश १ र बागमतीका मुख्यमन्त्र विरुद्ध अविश्वासको प्रस्ताव पेश भएको थियो । तर २३ फागुनको सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अविश्वासको प्रस्ताव फिर्ता लिइयो । किनभने दुवै प्रदेशमा एमालेको एकल सरकार छ । तर माधव नेपालले अलग पार्टी बनाएमा यो दुवै प्रदेशमा ओली निकट नेताहरु मुख्यमन्त्रीबाट हट्ने संभावना छ ।

गण्डकी प्रदेशमा ओली निकट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भइसकेका छन् । ओली निकट नेता शंकर पोखरेललाई लुम्बिनीको मुख्यमन्त्री जोगाउन सजिलो छैन । ‘अहिले परिस्थिति कस्तो बन्दै गयो भने केपी ओलीको लडाइ माधव नेपालसँग हुने देखियो । पार्टी फुट्दा सत्ता बहिगर्मनको पहिरो जाने देखिन्छ’, एक नेता भन्छन् । जबकी माओवादी केन्द्रसँग एकता गर्दै बनेको नेकपाको नेतृत्वमा प्रधानमन्त्री बन्दा केन्द्रदेखि वडासम्म ओलीको हालीमुहाली चल्थ्यो । ‘राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाको अध्यक्ष, उपसभामुख, प्रदेश प्रमुखहरु, मुख्यमन्त्रीहरु मन्त्रीहरु, उहाँ (केपी ओली) निकट नभई कुनै पद पाउन सकिन्नथ्यो’, ती नेता भन्छन् ।

थुप्रै आशंकाका बीच यसपटक एकता जोगिनेमा दुवै समूहका नेताहरुको बलियो विश्वास पनि देखिन्छ । विशेषगरी दोस्रो तहका केही नेताहरु कुनै हालतमा एकता भन्ने अभियानमा छन् । देउवालाई विश्वासको मत नदिएर तटस्थ बसेका माधव समूहका नेताहरु, संसद् जोगिएकाले पार्टी जोगाउँछौं भन्ने दुढ संकल्पमा देखिन्छन् । कतिसम्म भने एकता दशबुँदे अनुमोदन गर्न माधव नेपाल तयार नभएको भन्दै सांसद पदबाट राजीनामा घोषणा गरेका भीम रावल समेत फेरि सक्रिय भएका छन् । स्रोतका अनुसार, माधव नेपालले उनकै निवास टोखा पुगेर भेटेपछि बिहीबार बिहानबाटै रावलले सक्रियता बढाएका छन् । बिहान नेता नेपाललाई भेटेका रावलले ओलीसँग टेलिफोन सम्वाद गरेका थिए ।

अध्यक्ष ओली निकट केही नेताहरु पनि दश बुँदेकै जगमा उभिएर एकता जोगाउन लागिपरेका छन् । ‘हाम्रो कुराकानी भइरहेको छ । चाँडै दुई नेता (ओली र नेपाल) बीच भेट हुन्छ’, संसदीय दलका उपनेता नेम्वाङ भन्छन् । उनी ओली तर्फबाट कार्यदल संयोजक थिए भने रावल नेपाल तर्फका संयोजक हुन् । दुवै तर्फका सांसदहरुले समेत एकता जोगाउन भन्दै दबाव अभियान शुरु गरेका छन् । बिहीबार मात्रै दुवै तर्फका सांसदहरुले एकता अभियान थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सइन्द्र राई

राजनीतिक ब्युरोमा कार्यरत वरिष्ठ सम्बाददाता राई मुलतः बामपन्थी राजनीतिक मामिलामा कलम चलाउँदै आएका छन् ।

ट्रेन्डिङ

Advertisment