Comments Add Comment

डिस्चार्ज भए कलेजोको सफल प्रत्यारोपण गराएका भरत शाही

अस्पतालबाट डिस्चार्ज हुनुअघि चिकित्सकहरुसँग फोटो खिचाउँदै भरत विक्रम शाही र उनकी श्रीमती कमला ।

८ साउन, चितवन । चितवनको चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गराएका जाजरकोटका ४७ वर्षीय भरतविक्रम शाही डिस्चार्ज भएका छन् । अस्पतालमा २० दिन बसेका शाहीको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको कलेजो प्रत्यारोपण सर्जन डा. सञ्जय यादवले जानकारी दिए ।

जाजरकोटको कुशे गाउँपालिका वडा नं. ९ घर भएका शाहीको असार १८ गते कलेजो प्रत्यारोपण गरिएको थियो । शाहीलाई उनकै श्रीमती कमलादेवी शाहीले ६० प्रतिशत कलेजो दिएकी थिइन् । कमला भने असार २७ गते नै डिस्चार्ज भएकी थिइन् ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा भरतले आफूले नयाँ जीवन पाएको भन्दै खुसी व्यक्त गरे । ‘मृत्यु नजिक आएजस्तो लागेको थियो, तर प्रत्यारोपण सफल भएपछि बाँच्ने आशा जाग्यो’ शाहीले भने, ‘जीवन जोगाइदिने सबै डाक्टरसाव र नर्सहरुलाई धन्यवाद ।’

सिरोसिस् अफ लिभरको ‘ए’, ‘बी’ र ‘सी’ तीन चरणमध्ये शाही ‘सी’ चरणमा पुगेका थिए । चितवन मेडिकल कलेजमा दोस्रो कलेजो प्रत्यारोपण अघिल्लो भन्दा निकै जटिल थियो । प्रत्यारोपण गरिएका बिरामी शाहीको कलेजोमा रगत जानै नसक्ने ‘ब्लकेज’ Cirrhosis with Portal Vein Thrombosis (PVT) भएको थियो ।

सिरोसिस् भएका १० देखि १५ प्रतिशत बिरामीमा यस्तो समस्या हुने कलेजो प्रत्यारोपण चिकित्सक डा. यादव बताउँछन् । डा. यादवका अनुसार नेपालमा नै पहिलोपटक चितवन मेडिकल कलेजमा पीभीटी भएको बिरामीमा कलेजो प्रत्यारोपण गरिएको छ ।

कलेजो प्रत्यारोपणमा २५ लाख रकम खर्च लाग्छ । चितवन मेडिकल कलेजमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गराउने शाही नेपालमा कलेजो प्रत्यारोपण गराउने नबौं बिरामी हुन् । कलेजले दोस्रोपटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको हो ।

यसअघि कलेजमा २०७७ चैत ८ गते आइतवार भरतपुर महानगरपालिका वडा नं. १० चितवनकी ५४ बर्षिया धनकुमारी लामाको पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो । ३४ वर्षीया छोरी उषा तामाङले कलेजो दिएर प्रत्यारोपण गरिएकी लामा नेपालमा नै कलेजो प्रत्यारोपण गराउने आठौं बिरामी हुन् ।

नेपालमा त्रिवि शिक्षण अस्पतालमा पाँच जना र मानव अंग प्रत्यारोपण केन्द्रमा दुई जनामा कलेजो प्रत्यारोपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment