Comments Add Comment

यी हुन् युट्युबमा सर्वाधिक हेरिएका १० नेपाली फिल्म

नेपाली चलचित्रका निर्माताका लागि डिजिटल बजार पनि कमाइको राम्रो श्रोत बन्ने गरेको छ । नेपालमा पनि युट्युबको राम्रो क्रेज बनाएपछि चलचित्रहरुलाई युट्युबमा विक्री गर्ने क्रम पनि ह्वात्तै बढ्यो । यसले, निर्माताहरुले राम्रो कमाई पनि गर्न थाले ।

हलमा चलेको केही महिना भित्रै युट्युबमा चलचित्र निःशुल्क सार्वजनिक हुँदा हलसम्म पुग्ने दर्शक घटेको विश्लेषण पनि गरियो । तर, निर्माताहरु भने राम्रो कमाई हुने भएपछि युट्युबमा आकर्षित हुन थाले । कोरोना महामारी अगाडि हरेक साता नयाँ चलचित्र रिलिज भएपनि अहिले भने युट्युबमा चलचित्रको रिलिजको संख्या कम छ ।

आज, हामीले यहाँ युट्युबमा सर्वाधिक हेरिएका नेपाली चलचित्रको सूची प्रस्तुत गरेका छौं ।

१. प्रेमगीतः युट्युबमा आजका दिनसम्म सबैभन्दा बढी भ्यूज बटुलेको चलचित्र हो, ‘प्रेमगीत’ । सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । यो चलचित्रमा नायक प्रदिप खड्का र नायिका पूजा शर्माको अभिनय छ । पूजा र प्रदिपको करिअर यही चलचित्रबाट माथि उठेको थियो । यो लभ स्टोरी चलचित्रको तेश्रो सिरिजसम्म बनिसकेको छ । तर, दर्शकले यो चलचित्रलाई युट्युबमा सर्वाधिक रुचाएका छन् । आजसम्म, यो चलचित्रलाई युट्युबमा २ करोड ५० लाख भन्दा बढी पटक हेरिएको छ ।

२. नाई नभन्नु ल ५ः विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘नाई नभन्नु ल ५’लाई युटुबमा सर्वाधिक हेरिएको दोश्रो चलचित्र हो । यो चलचित्रलाई युटुबमा २ करोड २६ लाख पटक हेरिएको छ । चलचित्रमा स्वस्तिमा खड्का दोहोरो भूमिकामा देखिएकी छिन् । उनको साथमा चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मी, सेड्रिना शर्मा र नव–कलाकार अभिषेक प्रधानको अभिनय छ । यो चलचित्रले प्रेम र विछोडको कथा भन्छ । यो चलचित्रले बक्स अफिसमा पनि हिटको व्यापार गरेको थियो ।

३. छक्का पन्जा २ः युट्युबमा सर्वाधिक हेरिएको दोश्रो चलचित्र हो, ‘छक्का पन्जा २’ । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रलाई २ करोड ५ लाख भन्दा बढी पटक हेरिएको छ । यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय छ ।

युट्युबमा २ करोड भन्दा बढी पटक हेरिएपनि यो चलचित्रलाई दर्शकले पनि औषत प्रतिक्रिया दिएका छन् । बक्स अफिसमा भने यो चलचित्रले १४ करोड हारहारीको व्यापार गरेको थियो । चलचित्रले बिदेश जानका लागि गरिने बिहेको कथालाई उठाएको छ ।

४. ए मेरो हजुर २ः निर्देशक झरना थापाको निर्देशनमा तयार भएको लभ स्टोरी चलचित्र ‘ए मेरो हजुर २’लाई दर्शकले हलमा जस्तै युट्युबमा पनि रुचाए । सलिनमान बनियाँ, साम्राज्ञी राज्यलक्ष्मी शाह र सलोन बस्नेतको मुख्य भूमिका रहेको यो चलचित्रलाई युट्यबुमा १ करोड ९७ लाख भन्दा बढी पटक हेरिएको छ । यो चलचित्रले साम्राज्ञी र सलिनको प्रेम, विछोड र पूनःमिलनको कथा भन्छ । चलचित्रको गीतसंगीतले पनि दर्शकको मन जितेको थियो ।

५. हामी तिन भाईः स्वर्गिय निर्देशक शिव रेग्मीको निर्देशनमा बनेको ब्लकबस्टर चलचित्र ‘हामी तिन भाइलाई युट्युबमा पनि रुचाइएको छ । यो चलचित्र युट्युबमा ७ बर्ष अगाडि रिलिज भएको थियो । चलचित्रलाई १ करोड ९१ लाख भन्दा बढी पटक हेरिएको छ । चलचित्रमा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, रेखा थापा, झरना थापा, नन्दिता केसी लगायतको मुख्य भूमिका छ । चलचित्रले तिन भाइको कथालाई निकै मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

६. छक्का पन्जाः बक्स अफिसमा ब्लकबस्टर व्यापार गरेको चलचित्र ‘छक्का पन्जा’ पनि युट्युबमा सर्वाधिक हेरिएको चलचित्रमा पर्छ । यो चलचित्रलाई १ करोड ८९ लाख भन्दा बढी भ्यूज मिलेको छ । ४ बर्ष अगाडि युट्युबमा सार्वजनिक भएको यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, नम्रता सापकोटा, वर्षा राउत लगायतका कलाकारको अभिनय छ ।

७. छक्का पन्जा ३ः बक्स अफिसमा सबैभन्दा बढी कमाई गरेको चलचित्र ‘छक्का पन्जा ३’लाई युट्युबमा पनि दर्शकले निकै रुचाएका छन् । नेपालका सरकारी स्कुलमा हुने गरेको राजनीतिको कथालाई उठान गरेको यो चलचित्रलाई युट्युबमा १ करोड ८६ लाख ९२ हजार भन्दा बढी पटक हेरिएको छ । दीपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाँई लगायतका कलाकारको अभिनय छ ।

८. नाई नभन्नु ल ४ः विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘नाई नभन्नु ल ४’ युटुबमा सर्वाधिक हेरिएको अर्को चलचित्र हो । यो चलचित्रलाई युटुबमा १ करोड ८५ लाख पटक हेरिएको छ । यही चलचित्रबाट नै नेपाली चलचित्र क्षेत्रमा नायक पल शाह, नायिकाद्धय वर्षा राउत र आँचल शर्माले डेब्यू गरेका थिए । त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्रको गीतसंगीतले पनि दर्शकको मन जितेको थियो । चलचित्रमा प्रियंका कार्की र अनुभव रेग्मीको पनि अभिनय छ ।

९. ए मेरो हजुर ३ः झरना थापाको निर्देशनमा तयार भएको चलचित्र ‘ए मेरो हजुर ३’ युट्युबमा सर्वाधिक हेरिएको अर्को चलचित्र हो । यो चलचित्रले नायक अनमोल केसी र नायिका सुहाना थापाविचको प्रेम सम्बन्धलाई प्रस्तुत गरेको छ । एक स्टार र एक फ्यानको प्रेम कथामा तयार भएको चलचित्रलाई युट्युबमा १ करोड ७८ लाख ६० हजार भन्दा बढी पटक हेरिएको छ । चलचित्रले बक्स अफिसमा पनि बम्पर व्यापार गरेको थियो ।

१०. मिस्टर झोलेः रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘मिस्टर झोले’लाई युट्युबमा १ करोड ७२ लाख भन्दा बढी हेरिएको छ । यो चलचित्रमा दयाहाङ राई, बर्षा राउत, दिया पुन, पुष्कर गुरुङ, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ । यो चलचित्रले हलमा पनि राम्रो व्यापार गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment