Comments Add Comment

चित्रबहादुर केसीको प्रश्न : जनताले कम्युनिष्ट र गैर कम्युनिष्ट बीचको अन्तर कसरी छुट्याउने ?

८ साउन, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एकै खालको कार्यशैलीका कारण जनताले कम्युनिष्ट र गैर कम्युनिष्ट पार्टीबीचको अन्तर छुट्याउन नसकेको बताएका छन् ।

ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा नेता केसीले भने, ‘गैर कम्युनिष्ट सत्तामा बस्दा पनि गरिबी, अशिक्षा, अन्धकार हुने । कम्युनिष्ट सत्तामा बस्दा पनि त्यही अवस्था रहने । अनि कम्युनिष्ट र गैर कम्युनिष्टबीच जनताले कसरी फरक छुट्याउने ?’

कम्युनिष्ट आन्दोलनभित्र सिद्धान्त र राजनीतिकको संकट रहेको भन्दै उनले अब सांस्कृतिक आन्दोलन जरुरी रहेको बताए ।

जनताले पाँच वर्षका लागि सरकार चलाउन दुई तिहाई बहुमत दिएपनि त्यो विश्वासलाई पूरा गर्नबाट कम्युनिष्ट पार्टी चुकेको उनको भनाइ थियो ।

‘अरु प्रतिक्रियावादीको विश्वास पहिल्यै गुमेको अवस्था थियो । नेताहरुले आफूलाई बनाउन राजनीति गरेका छन् । आफू वरपरकालाई बनाएका छन् । कम्युनिष्ट बनेर सम्पत्ति कमाइरहने प्रवृति हावी भएको छ । जसले गर्दा जनताको विश्वास गुम्ने अवस्था आएको छ’ नेता केसीले भने ।

पटक-पटक संसद विघटन गर्ने प्रवृति अन्त्य हुनुपर्ने भन्दै नेता केसीले ५ दलको एकताले संविधान र संसद जोगिएकोले अबको दिनमा संसोधन गरेर अझै उत्कृष्ट संविधान बनाउनु पर्नेमा जोड दिए । सर्वोच्चको फैसला स्वीकार्य रहेको भन्दै उनले राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक भएको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विचित्रको काम गरेको उनको भनाइ थियो । जनतालाई कोरोनाबाट जोगाउन खोप उपलब्ध गराउनुपर्ने बेलामा ओली नेतृत्वको सरकारले भोट मागिरहेको र संविधान च्यात्न खोजेपछि संघर्षमा जानुपरेको उनले बताए ।

‘हामीले ओली नेतृत्वको सरकरलाई समर्थन गरेकै हौं, तर तीघ्रामा पिप जम्मा भएपछि निचोरेर फाल्नुपर्छ, पार्टीभित्रकै साथीहरुले संघर्ष गर्नुभयो, ५ दलको एकताले धर्मनिरपेक्षता गणतन्त्र लगायतका उपलब्धीहरुलाई बचाउने काम भएको छ । संसद कम्तिमा पनि १८ महिना बच्ने भयो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment