Comments Add Comment

मोरङमा कांग्रेस सभापतिमा लिम्बु र गच्छदारबीच प्रतिस्पर्धाको सम्भावना

९ साउन, विराटनगर । नेपाली कांग्रेस १४ औं महाधिवेशन मिति नजिकिदै गर्दा मोरङ जिल्ला सभापतिमा ६ जना भन्दा बढी आकांक्षी देखिएका छन् ।

जिल्ला सभापतिमा हालसम्म गोपालराज भण्डारी, प्रदेश सांसद केदार कार्की, जिल्ला सचिव नागेश कोइराला, यदुकुमार विष्ट, रमेशजङ्ग रायमाझी र दिलिप गच्छदार आकांक्षी देखिएका हुन् ।

निर्वाचन मितिसम्म आइपुग्दा उम्मेद्वार भने दुई जना मात्रै रहने जानकारहरु बताउँछन् । कोइराला खेमाबाट वर्तमान सभापति डिगबहादुर लिम्बु र देउवा प्यानलबाट दिलिप गच्छदारबीच प्रतिस्पर्धा हुने काङग्रेस नेताहरु बताउँछन् ।

कोइराला खेमामा लिम्बू सभापतिको दाबेदार भएपछि अन्य सभापतिका दाबेदार पछि हटेका छन् । कांग्रेसका एक जिल्ला नेता भन्छन्, ‘उठ्ने इच्छा देखाउनु स्वाभाविक हो तर माथिको सिग्नल कस्तो रहन्छ त्यसमा भर पर्छ ।’

निवर्तमान सचिव मोदराज घिमिरे पनि लिम्बु र गच्छदारबीच प्रतिस्पर्धा हुने पक्काजस्तै भएको बताउँछन् । सभापतिमा उम्मेद्वार बन्ने बताउँदै आएका उनी लिम्बुले दाबी प्रस्तुत गरेपछि उपसभापति बन्न तयार छन् ।

कांग्रेसको १३ औं महाधिवेशनमा लिम्बुले देउवा प्यानलबाट चुनाव जितेका थिए । संविधानसभा सदस्य लिम्बू १४ औं महाधिवेशनमा शेखर कोइरालासँग नजिकिएका छन् ।

सभापति पदका आकाङ्क्षी नागेश कोइराला वर्तमान सभापति नै दोस्रो कार्यकालका लागि दाबेदार भएकाले आफू पछि हटेको बताउँछन् । ‘स्वाभाविक हिसाबले म सभापतिको दाबेदार हो,’ उनले भने ‘ डिगबहादुर लिम्बू नै उठ्ने भएपछि म सभापतिबाट ब्याक भएँ ।’

सभापति शेरबहादुर देउवा प्यानलबाट दिलिप गच्छदार र रमेशजंग रायमाझी टिकट लिने दौडधूपमा छन् । तर बिजयकुमार गच्छदारको समर्थन दिलिपलाई भएका कारण उनले टिकट पाउने सम्भावना बलियो भएको नेताहरु बताउँछन् ।

निर्वाचन मिति नजिकिए पनि क्रियाशील सदस्यको विवाद टुङ्गिएपछि मात्रै चुनावी अभियानमा लाग्ने लिम्बुले बताए । क्रियाशील सदस्यको विवाद लम्बिएका कारण चुनावी कार्यतालिका नै प्रभावित हुने सम्भावना रहेको उनले बताए ।

मोरङमा यसअघि १५ हजार क्रियाशील सदस्य रहेकामा १४ औं महाधिवेशनका लागि ३० हजार ५ सय ३२ जना क्रियाशील सदस्य छन् ।

विराटनगरमा पाँच दाबेदार

विराटनगर महानगरपालिकाका दाबेदारहरुले घरदैलो अभियान शुरु गरेका छन् । विराटनगरमा देउवा प्यानलबाट सन्तोष न्यौपाने सभापतिको दाबेदार छन् । संस्थापन इतर समूहबाट कृष्ण कार्की, दीपक चापागार्इं, अरुण न्यौपाने दाबेदार छन् ।

चापागाईं आफू शेखर कोइरालाको पक्षको उम्मेदवार भएको बताउँछन् । कार्की पछिल्लो समय देउवा प्यानलसँग नजिक छन् । न्यौपाने विराटनगरका मेयर भीम पराजुलीका निकट हुन् ।

पाँचै जना उम्मेदवारले चुनावी अभियान शुरु गरेका छन् । घरदैलो र कार्यकर्ता भेटघाटमा समय बितिरिहेको सभापतिको दाबेदार कार्कीले बताए । चापागाईं पनि अभियान निरन्तर चलिरहने बताए । १९ वटा वडा रहेको विराटनगरमा ८ हजार पाँच सय क्रियाशील सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment