Comments Add Comment

निर्मला पन्त हत्याको तीन वर्ष पूरा, न्याय अझै अपुरो

दुर्गादेवी भन्छिन्- नयाँ सरकारले न्याय दिन्छ कि भन्ने आशा पलाएको छ

१० साउन, धनगढी । ‘न्याय पाउन मेरा लागि एकादेशको कथा जस्तै भइसक्यो । तर छोरीको आत्मा न्यायका लागि घरमै बत्ती बालेर श्रद्धाञ्जली दिनैपर्‍यो,’ उनले भनिन्, ‘अब उनी फर्केर आउने होइनन् तैपनि आफ्नो सन्तुुष्टिका लागि दीयो बालेर छोरीको सम्झना गर्दै आएकी छु । यस वर्ष पनि गर्छु ।’ तीन वर्षयता यस्तै छ दुर्गादेवी पन्तको नियति ।

तीन वर्षअघि आजकै दिन अथात् १० साउन २०७५ मा छोरी निर्मलालाई गुमाएकी कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की दुर्गादेवी न्याय माग्दै हिँडेको पनि ठीक तीन वर्ष पुग्यो । तर अहिलेसम्म दोषीको पहिचान भएको छैन ।

गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी निर्मला ११ साउनको बिहान स्थानीय उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । त्यसै बेलादेखि छोरीको न्यायका लागि गाउँदेखि नगर, नगरदेखि जिल्ला, जिल्लादेखि प्रदेश र प्रदेशदेखि संघीय राजधानी धाएकी दुर्गादेवीले न्यायको खोजी गर्न थालेको पनि तीन वर्ष बित्यो । भन्छिन्, ‘अपराधी खोजीदिनुस् भन्दै राज्यसँग हारगुहार गर्दागर्दै आज तीन वर्ष भइसक्यो । खै कहिले पत्ता लाग्ने हो । अब त आशा नै मरिसक्यो ।’

प्रधानमन्त्री देउवाको पुरानो आश्वासनले जगाएको ‘आशाको त्यान्द्रो’

न्याय पाउने आशा नै मारिसकेकी निर्मलाकी आमा दुर्गादेवीलाई अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले उल्टाखामस्थित घरमै पुगेर दिएको आश्वासनको सम्झना अझै ताजा छ । २०७५ सालको फागुनतिर प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा हुँदा उनलाई भेट्दै देउवाले भनेका थिए, ‘निर्मलाको न्यायका लागि हामी सरकारलाई दबाब दिन्छौँ । यस्तो जघन्य अपराध गर्ने व्यक्तिलाई कुनै पनि हालतमा छाड्नु हुँदैन् । हामी हत्यारा पत्ता लाग्नुपर्छ भन्ने पक्षमा उभिएका छौँ ।’

निर्मलाकी आमा दुर्गादेवी पन्त ।

संयोग नै मान्नुपर्छ तीन वर्षपछि देउवा दबाब दिने ठाउँबाट न्याय दिने ठाउँमा पुगेका छन् । अझ दुर्गादेवी र देउवाको गृह जिल्ला पनि डडेल्धुरा नै हो । विगतमा न्यायका लागि सरकारलाई दबाब दिन्छौँ भन्ने व्यक्ति नै न्याय दिने ठाउँमा पुगेपछि आशा राख्नु स्वभाविक पनि हो ।

‘अहिलेका प्रधानमन्त्री ज्यूले मलाई भेटेरै निर्मलालाई जसरी पनि न्याय दिलाएर छाड्छौँ भन्नुभएको थियो,’ दुर्गादेवीले भनिन्, ‘अहिले त उहाँ नै सरकारमा हुनुहुन्छ । त्यसैले पनि नयाँ सरकारले निर्मलालाई न्याय दिन्छ कि भन्ने आशा पलाएको छ । अब न्याय दिने/नदिने कुरा उहाँकै हातमा छ । फेरि पनि मेरो एउटै माग छ, छोरीलाई न्याय चाहियो ।’

आफ्नै गृह जिल्लाका देउवा प्रधानमन्त्री भएकाले न्याय पाउने झिनो आशा पलाए पनि नयाँ सरकार बनेपछि कुनै खालको आश्वासन भने नपाइएको उनी बताउँछिन् ।

निर्मलाका बुवा यज्ञराज पन्त पनि न्याय पाउने आशा मारिसकेको तर अहिले आफ्नै ठाउँका देउवा प्रधानमन्त्री भएकाले उनीसँग झिनो आशा रहेको बताउँछन् । ‘छोरीलाई न्याय माग्न थालेको आज तीन वर्ष बितिसक्यो । हामीले त आशा मारिसकेका छौँ,’ यज्ञराजले भने, ‘तर अहिले देउवा प्रधानमन्त्री भएर नयाँ सरकार आएको छ । थोरै भए पनि उहाँसँग आशा छ कि निर्मलाले अवश्य न्याय पाउँछिन् ।’

प्रहरी भन्छ- पहिलो प्राथमिकता, तर पनि अलमल

अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको निर्मला हत्या प्रकरण नेपाल प्रहरीको इतिहासमै सबैभन्दा धेरै प्राथमिकतामा परेको पहिलो घटना भएको अधिकारीहरु बताउँछन् । तरपनि तीन वर्षसम्म घटनाको वास्तविकता बाहिर ल्याउन प्रहरी सफल हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीका भनाइमा निर्मला प्रकरणको अनुसन्धान निरन्तर चलिरहेको छ । त्यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका डीएसपीको नेतृत्वको टोली तीन वर्षदेखि कञ्चनपुरमै छ भने प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट समेत विशेष टोली अनुसन्धानमा संलग्न छन् । तर हालसम्म घटनाबारे सार्वजनिक गरिहाल्नुपर्ने ठोस प्रगति हाँसिल गर्न नसकेको प्रहरी उपरीक्षक चतुर्वेदी बताउँछन् ।

‘कुनै पनि व्यक्तिलाई अपराधी ठहर गर्न सबुत प्रमाण आवश्यक पर्छ,’ चतुर्वेदीले अनलाइनखबरसँग भने, ‘तर त्यो प्रमाणको मात्रा हुँदैन् । अहिले पनि हामी दशी प्रमाणको खोजीमा छौँ । डीएसपीको नेतृत्वमा सीआईबी, प्रहरी प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टिम घटनाको अनुसन्धानमा निरन्तर लागिपरेको छ ।’ तर उनले अनुसन्धानबारे भएको प्रगतिबारे विस्तृतमा खुलाउन नमिल्ने बताए ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवर निर्मला प्रकरणलाई पहिलो प्राथमिकतामा राखेर अनुसन्धान भइरहेले दायरा साँघुरिदै गएकोले चाडै निष्कर्षमा पुग्ने बताउँछन् । ‘हामीले गर्ने काममध्ये एक नम्बर प्राथमिकतामा राखेर निर्मला प्रकरणको अनुसन्धान गरिरहेका छौँ,’ कुँवरले अनलाइनखबरसँग भने, ‘अहिले पनि जिल्ला र प्रदेशसहित सीआईबीको टोली कञ्चनपुरमै छ । अनुसन्धानको दायरा एकदमै साँघुरो बनाएका छौँ । चाडै सफल अनुसन्धान गरेर कार्यान्वयनमा अगाडि बढ्छौँ ।’

यस्तो थियो घटना

साउन १० गते दिउँसोको समयमा साथी रोशनीको घरमा गृहकार्य गर्छु भन्दै गएकी निर्मला घर फर्किनन् । अबेर साँझसम्म पनि घर नफर्किएपछि उनको खोजी सुरु भयो । भोलिपल्ट बिहान भीमदत्त नगरपालिका-१८ र २ को सीमा नजिकैको उखुबारीमा उनी मृत भेटिइन् । शवको प्रकृति र शव परीक्षण रिर्पोटपछि निर्मलाको बलात्कारपछि हत्या देखिएपछि सोहीअनुसार अनुसन्धान थाल्यो ।

भदौँ चार गते २०७५ मा प्रहरीले निर्मलाको बलात्कारपछि हत्या गरेको भन्दै दिलीप विष्टलाई सार्वजनिक गरेको थियो । मानसिक अवस्थासमेत ठीक नभएका विष्टलाई सार्वजनिक गरेपछि वास्तविक हत्यारा बचाउन नक्कली खडा गरेको भन्दै कञ्चनपुर प्रहरीविरुद्ध आन्दोलन चर्कियो ।

आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका-१८ का १४ वर्षीय सन्नी खुनाको ज्यान गयो भने एक दर्जन बढी घाइते भए । सोही क्रममा दिलीपको डीएनए नमिलेपछि उनी छुटे ।

कञ्चनपुर प्रहरीले अनुसन्धानमा लापरबाही गरेको, प्रमाण नष्ट गरेका जस्ता आरोपमा तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदिशप्रसाद भट्ट बर्खास्तसमेत भए ।

गृह मन्त्रालयले अनुसन्धानमा खटिएका सीआईबीका तत्कालीन डीएसपी अंगुर जीसी, जिल्ला प्रहरी कार्यालयका तत्कालीन डीएपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक रामसिंह धामी, हरीसिंह धामी र प्रहरी जवान चाँदनी साउँदलाई पनि निलम्बन गरेको थियो । तर पछि उनीहरुले अदालतबाट प्रमाण नष्ट गरेको तथा याचना दिएको मुद्दामा सफाइ पाएपछि अहिले निलम्बन फुकुवा भइसकेको छ ।

निर्मला हत्या प्रकरणमा गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय समिति, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यात नेतृत्वको समितिले घटनाबारे छुट्टाछुट्टै प्रतिवेदन तयार पारेका थिए । तर ती प्रतिवेदनहरु अहिलेसम्म कार्यान्वयन भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment