Comments Add Comment

सैनामैनामा ५० शय्याको सरकारी अस्पताल निर्माण शुरु

१० साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियामा ५० शय्याको सरकारी अस्पताल बनाउन शुरु भएको छ । संघीय सरकारको ‘एक स्थानीय तह एक अस्पताल’ नीति अन्तर्गत वडा नं ४ मुर्गियामा अस्पताल निर्माण हुन लागेको हो ।

संघीय सरकारको सशर्त अनुदानमा बन्ने १५ शैयाको अस्पताललाई रि-डिजाइन गरेर नगरपालिकाले ५० शय्याको बनाउने गरी स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएको हो । १० कठ्ठा जग्गामध्ये साढे ३ कठ्ठा क्षेत्रफलमा बन्ने अस्पतालको प्लिन्थ एरिया १२ सय ९ वर्गमिटर रहने नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेले बताए ।

अस्पताल भवनमा इमर्जेन्सी, बहिरङ्ग विभाग,अन्तरङ्ग विभाग, प्रसुति इकाइ रहनेछन् । भवनको माथिल्लो तलामा प्रशासनिक कार्यालय, लाइब्रेरी, सभा हल लगायत आधारभुत अस्पतालमा हुने सबै सुविधा रहने इन्जिनियर न्यौपानेले बताए । दुईबटा लिफ्टहरु रहने र चार तलासम्म स्ट्रेचर लैजान मिल्ने गरी र्‍याम्प निर्माण हुने अस्पताल भवन अपांगमैत्री हुने छ । अस्पतालमा पोस्टमार्टम गृह पनि बन्ने छ ।

हालको डिजाइनमा बन्ने भवनमा नगरपालिकाको आन्तरिक स्रोतबाट तला थपेर ५० शय्याको बनाइने नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । अस्पतालमा ३० वटा एचडीयू बेड, १० वटा आईसीयू बेड, १० वटा जनरल बेड र आवश्यकता अनुसार इमर्जेन्सी बेड रहने कार्कीले बताए ।

अस्पताल निर्माणपछि नजिकै रहेको पर्रोहा स्वास्थ्य चौकीमा जनस्वास्थ्य सम्बन्धित कार्यक्रमहरु सञ्चालन, स्टोर, कर्मचारी आवास र प्रशासनिक प्रयोजनमा प्रयोग हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

५० शय्याको अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने उपकरण अहिले नै जुटिसकेको नगर प्रमुख कार्कीले बताए । ‘एचडीयू र आईसीयू बेड, एक्सरे मेसिन, प्रयोगशालाका उपकरण विभिन्न दाताबाट प्राप्त भइसकेका छन्,’ कार्कीले भने ।

अस्पताल निर्माणका लागि श्यामसुन्दर एनबी जेभीले ११ करोड ३६ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी शिलान्याश भएको छ । २०८० साल साउन १० गते भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि समय अगावै काम पूरा गरेर हस्तान्तरण गरिने निर्माण कम्पनीका सञ्चालक नारयण भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment