Comments Add Comment

निर्मला हत्याका दोषी चाँडाे पत्ता लगाउन माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र

१० साउन, महेन्द्रनगर । तीन वर्ष अघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई न्याय माग्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । निर्मलाका बुवा यज्ञराज पन्त र कान्छी आमा लक्ष्मी पन्तले आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले तीन वर्षसम्म छोरीको बलात्कारपछि हत्या गर्ने व्यक्तिको पहिचान हुन नसकेकाले चाँडै दोषी पत्ता लगाएर कानूनको कठघरामा उभ्याउन माग गरेका छन् । ज्ञापनपत्र बुझाउँदै निर्मलाका बुवा यज्ञराजले न्याय पाउने आशा मरिसकेको भए पनि हालै नयाँ सरकार आएकाले झिनो आशा अझै बाँकी रहेको उल्लेख गरे ।

ज्ञापनपत्र बुझाउनु अघि आइतबार निर्मलाको तेस्रो पुण्यतिथिमा महेन्द्रनगर बजारमा मौन र्‍याली निकालेर श्रद्धाञ्जली दिइएको थियो । ज्ञापनपत्र बुझाउने र श्रद्धाञ्जली र्‍यालीमा निर्मलाकी आमा दुर्गादेवी भने देखिइनन् ।

१० साउन २०७५ मा भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित १३ वर्षीया निर्मला साथीको घर गृहकार्य गर्छु भन्दै गएका बेला बेपत्ता भएकी थिइन् । उनी भोलिपल्ट बलात्कारपछि हत्या गरेको अवस्थामा स्थानीय उखुबारीमा फेला परेकी थिइन् । तर निर्मलाको बलात्कार र हत्या कसले गरेको हो ? भन्ने अहिलेसम्म खुलेको छैन ।

पहिलो प्राथमिकतामा राखेर यो प्रकरणको निरन्तर अनुसन्धान भइरहेकाले चाँडै दोषी पत्ता लाग्ने प्रहरीले आश्वासन दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment