Comments Add Comment

बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउँदै

११ साउन, बलेवा । बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । नगर शिक्षा शाखाले चालु शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्ने गरी तयारी थालेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए ।

नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्र्ने अधिकार दिएको छ । उक्त अधिकार भए पनि लामो समयसम्म अभ्यास भएको थिएन । शिक्षा ऐन बनेको धेरै समयपछि नगरपालिकाले पाठ्यक्रमको मस्यौदा निर्माण समिति बनाएको छ ।

समितिको संयोजकमा नगर शिक्षा अधिकारी पोखरेल रहेका छन् । उनको संयोजकत्वमा गठित समितिमा सिगाना मावि तित्याङका प्रधानाध्यापक गोपालकुमार शर्मा, पूर्वआरपी उमानाथ शर्मा, जनताधन माविका प्रधानाध्यापक कुमार पौडेल, पूर्वप्रधानाध्यापक टीकाराम सापकोटा, कालिका कन्या माविका शिक्षक हुमा रिजाल र संस्थागत विद्यालयका प्रतिनिधिका रुपमा महेशचन्द्र प्रधान रहेका छन् ।

यो समितिले कक्षा ३ सम्मको पाठ्यक्रम बनाएर लागू गर्ने योजना बनाएको छ । आइतबार बसेको समितिको बैठकले आगामी भदौ १५ गतेसम्म पाठ्यक्रम तयार पार्ने निर्णय गरेको पोखरेलले बताए । ‘हामीले कम्तीमा भदौ १५ गतेसम्म मस्यौदा बनाइसक्ने र शैक्षिक सत्रभरिमा पाठ्यक्रम बनाएर पुस्तकसमेत छाप्ने योजनामा छौं,’ उनले भने, ‘यो पाठ्यक्रम आएपछि नगरपालिकाको मौलिकपन पनि बढ्ने छ ।’

पाठ्यक्रममा नगरभित्रका धार्मिक क्षेत्र, ऐतिहासिक पक्ष, जनजीवन, भाषा र संस्कृति, भूगोल तथा कृषि क्षेत्र समावेश गरिने बताइएको छ । यसअघि बागलुङकै तमानखोलाले आफ्नो पाठ्यक्रम बनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment