Comments Add Comment

दुई कोरियाबीच एक वर्षपछि पुनः सुरु भयो हटलाइन

१२ साउन, काठमाडौं । उत्तर र दक्षिण कोरियाबीच एक वर्षपछि पुनः हटलाइन सम्पर्क सेवा सुरु भएको छ । गत जुन महिनामा उत्तर कोरियाले हटलाइन सेवा बन्द गरेको थियो ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार दुवै मुलुकका प्रमुखबीच विश्वास बढाउने सम्बन्ध सुधार गर्ने सहमति भएको हो । सोही सहमति अनुसार हटलाइन सेवा पनि सुरु गरिएको हो ।

गत अप्रिलयता दुई मुलुकबीच धेरैपटक व्यक्तिगत पत्रहरु आदानप्रदान भएको दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले बताएको छ । गत वर्षको जुन महिनामा उत्तर कोरियाले दक्षिण कोरियासँगको खटपटपछि हटलाइन सेवा बन्द गरेको थियो । त्यसको केही समयपछि उसले सम्पर्क बढाउन सहयोग पुग्ने उद्देश्यले बनाइएको दुई मुलुकको सीमानजिकको अन्तर कोरियाली कार्यालय ध्वस्त पारेको थियो ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार दुवै मुलुकका अधिकारीबीच सम्पर्क बढाउने सहमतिपछि तीन मिनेटसम्म वार्ता भएको थियो । अर्को वार्ता मंगलबार हुनेछ । त्यसका साथै दैनिकरुपमा यो वार्ता जारी रहने मन्त्रालयले बताएको छ ।

‘एक वर्षपछि पुनः वार्ता सुरु हुँदा हामी खुसी भएका छौं । हामी आशा गर्छौं कि यो सबै कोरियाली मानिसहरुका लागि खुसीको समाचार हुनेछ’, दक्षिण कोरियाका प्रतिनिधिले भने ।

सन् २०१८ पछि यी दुई मुलुकको सम्बन्धमा सुधार देखिएको थियो । उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनबीच त्यतिबेला तीन पटकसम्म भेटवार्ता भएको थियो ।

तर, किम जोङ र त्यतिबेलाका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको दोस्रो शिखर सम्मेलन सफल हुन नसकेसँगै दुई मुलुकको सम्बन्ध पुनः चिसिएको थियो । त्यसपछि उत्तर कोरियाले सबै राजनीतिक र सैन्य सम्पर्क पनि विच्छेद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment