+
+

गोरखा दरबार पुनर्निर्माणको जिम्मा पाएको कम्पनीसँग ठेक्का सम्झौता रद्द

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १२ गते १२:३८

१२ साउन, गोरखा । गोरखा दरबार पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनीसँग पुरातत्व विभागले ठेक्का सम्झौता तोडेको छ । तीन पटकसम्म म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नसकेपछि सम्झौता तोडिएको विभागले जनाएको छ ।

‘दरबारको बाह्य संरचनाको काम लगभग सकिए पनि भित्री काम अझै बाँकी छ,’ विभागकी पुरातत्व अधिकृत मञ्जु सिंह भण्डारीले भनिन्, ‘बीओपी अनुसार काम लगभग सके पनि भेरियसन गरेर बाँकी काम गर्छु भनेको थियो, तर काम समयमै नगरेकाले हामीले दिएनौं ।’

बाँकी कामका लागि छुट्टै बोलपत्र आह्वान गरिने उनले बताइन् । पटकपटक म्याद थप गर्दा पनि काम नसकेकाले निर्माण कम्पनीलाई कामको जिम्मेवारीबाट हटाइएको उनको भनाइ छ ।

अहिले दरबार पुनर्निर्माणको काम रोकिएको छ । असार २४ गतेबाट काम रोकिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । केही दिनमा पुरातत्व विभागबाट प्राविधिक टोली आउने र बाँकी कामको कुल लागत स्टमेट गरेर नयाँ ठेक्का आह्वान गरिने अड्डा प्रमुख हरि भुसालले बताए । ‘हिजो आज नै आउनुपर्ने हो तर लगातार वर्षाका कारण केही ढिलाइ भयो, अब एक/दुई दिनमै आउनुहुन्छ अनि बाँकी काम अघि बढ्छ,’ उनले भने ।

२०७२ सालको भूकम्पले क्षति पुगेको गोरखा दरबार पुनर्निर्माणका लागि २०७४ साल कात्तिक २९ गते पचली भैरव सिभाको जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७६ साल मंसिर मसान्तभित्र काम सक्नुपर्ने थियो । तर तोकिएको समयमा काम सम्पन्न नभएपछि २०७७ जेठ मसान्तसम्मका लागि पहिलो पटक म्याद थप भयो । थप गरिएको समयमा पनि ठेकेदारले काम सम्पन्न गर्न सकेन । पुनः दोस्रो पटक पुरातत्व विभागले मंसिर मसान्तसम्मका लागि म्याद थप गर्‍यो ।

तर दोस्रो पटक थप भएको म्यादमा पनि काम सम्पन्न नभएपछि निर्माण कम्पनी कारबाहीमा परेको थियो । कारबाही स्वरुप गत पुस १ गतेबाट लागू हुने गरी ठेक्का सम्झौता रकमको दैनिक ०.०५ प्रतिशतले जरिवाना तोक्दै २०७८ जेठ मसान्तसम्मका लागी तेस्रो पटक म्याद थप भएको थियो । पटकपटक म्याद थप गर्दा पनि काम नसकेपछि जेठ अन्तिम साताबाट ठेक्का सम्झौता तोडिएको भुसालले बताए ।

निर्माण कम्पनीका सुशीलबाबु श्रेष्ठले सम्झौता अनुसार आफूले काम सकेको दाबी गरेका छन् । ‘सम्झौता अनुसार भित्री संरचनामा चुना सुर्की लगाएर प्लाष्टर गर्ने काम बाँकी हो, अरु काम सकिसके,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?