१२ साउन, काठमाडौं । चिकित्सकहरुले १४ वर्षभन्दा माथिका सबै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
नागरिक समाजका अगुवा एवम् वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणि दीक्षित, चिकित्सक वासुदेव पाण्डे, चिकित्सक सागर भण्डारीले कोरोना महामारीले भयावह अवस्थानिम्त्याउन सक्ने खतरा रहेकोले तत्काल सबै नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ चिकित्सक दीक्षितले १४ वर्ष माथिको उमेरका सबै नागरिकलाई कोरोना विरुद्धको खोपको आवश्यक व्यवस्था तत्काल गर्न आग्रह गरे ।
उनले भने, ‘१४ वर्ष माथिका सबै नागरिकलाई सरकारले तत्काल कोरोना विरुद्धको खोपको व्यवस्था गर्नुपर्छ । कोरोनाको तेस्रो लहर नेपालमा आउने सम्भावना बढेर गएकोले त्यस्तो भयावह अवस्था आउन नदिन स्वास्थ्य सुरक्षाका मापदण्ड नागरिकले पालना गरे/नगरेको विषयमा कडा अनुगमन गर्न सरकारले गृह मन्त्रालय र स्थानीय तहको सरकारलाई जिम्मेवार बनाउनु पर्दछ । निषेधाज्ञालाई खुकुलो बनाउने काम गर्नुहुन्न ।’
त्यसैगरी चिकित्सक डा. सागर भण्डारीले नेपालमा एक महिना भित्रै कोरोनाको तेस्रो लहर आउन सक्नेतर्फ सचेत गराए । उनले तेस्रो लहरबाट जनतालाई बचाउन तीनै तहको सरकारले गम्भीर भएर स्वास्थ्य सुरक्षाका मापदण्डँगै खोपलाई सर्वसुलभ बनाउनु पर्नेमा जोड दिए ।
उनले भने, ‘जुन रुपमा कोरोना संक्रमण हुन नदिन तीन वटै तहको सरकारले समन्वयका साथ काम गर्नुपर्ने हो, त्यो भएको देखिएन। यसले नेपालमा एक महिना भित्रै कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा देखिन्छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गराउँदै आवश्यक खोपको व्यवस्था गरेर कोरोनाको तेस्रो लहर आउन नदिन विशेष निगरानी राख्नुपर्ने हुन्छ।’
वरिष्ठ चिकित्सक डाक्टर वासुदेव पाण्डेले कोरोनाविरुद्धको खोप नेपालमै उत्पादन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । खोपको उत्पादन देश भित्रै हुन नसके यसले भयावह रुप लिने उनको तर्क थियो ।
‘कोरोना खोप स्वदेशमा उत्पादन गर्ने व्यवस्था तत्काल गरौं । नभए कोरोना महामारीको संक्रमण नेपालमा झनै बढेर जानसक्छ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गराउने, बढी प्रभावित क्षेत्रहरुमा नियन्त्रणका लागि विशेष निगरानी राख्ने काममा विशेष ध्यान दिनुपर्दछ ।’
चिकित्सकहरुले सरकारले निषेधाज्ञालाई खुकुलो बनाएर कोरोना संक्रमणको दर बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले सार्वजनिक यातायातको साधनमा भीड हुन थालेको उल्लेख गर्दै त्यसो हुन नदिन सरकारको ध्यानार्षण समेत गराएका छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4