Comments Add Comment

रोकिएका कामदार लैजाने कोरियाली राजदूतको आश्वासन

१३ साउन, काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ्ग सुकीले रोकिएको ईपीएसको काम अगाडि बढाउने आश्वासन दिएका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा उनले यस्तो आश्वासन दिएका हुन् ।

भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिवद्धता जनाउदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गरेका छन् ।

‘ईपीएस अन्तरगत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवा बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु’ मन्त्री शर्माले भने ।

जवाफमा राजदुत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिएका हुन् । नेपालीहरुको मेहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाता खुशी रहेको प्रसंग उल्लेख गर्दै उनले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए ।

भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड-१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरेका छन् ।

कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत लगायतका क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ । कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिटेक्निक कलेजको स्थापना गर्दैछ ।

उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ । मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोशिस गरिने बताए ।

भेटमा राजदुत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाइबारे समेत चासो राखेका छन् । आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment