१४ साउन, रामपुर । बिहीबार बिहान ७ बजेबाट शुरु हुने कक्षा ११ को परीक्षा दिन हतार–हतार गरेर रामपुर नगरपालिका–७ बस्ने सबिना राना रामतुलसी माविमा पुगिन् । उनी परीक्षा शुरु हुने समयभन्दा आधा घण्टा अगावै विद्यालयको प्रवेशद्धार बाहिर परीक्षाको तयारीका साथ बसेकी थिइन् ।
पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषय भएको हुँदा आफूले पढेका प्रश्न आउँलान् कि कस्ता खालका प्रश्न आउँलान्, सबै प्रश्नको उत्तर दिन सकिएला नसकिएला यस्तै–यस्तै मनभित्र करिब २० मिनेट कुरा खेलाउँदै विद्यालयको प्रवेशद्वार बाहिर बसिरहीन् । केहीबेरमा विद्यालयको प्रवेशद्वारमा शिक्षक आएर परीक्षा नहुने भन्ने जानकारी गराएपछि उनी निराश हुँदै घर फर्कन बाध्य भइन् ।
‘पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा अरु विषयभन्दा दुख हुने हुँदा तयारी राम्रै गरेर गरेको थिएँ, बिहानै घरबाट करिब आधा घण्टाको पैदल हिँडेर हतार–हतार विद्यालय पुगे, परीक्षा नहुने खबर पाउँदा दुःख लाग्यो, परीक्षाका लागि धेरै समय खर्चेर तयारी गरेको थिए,’ उनले निराश हुँदै भनिन् ।
परीक्षा दिँदा आफूलाई आवश्यक पर्ने सबै शैक्षिक सामग्रीका साथ सिर्जना रेग्मी पनि परीक्षा शुरु हुनु समयभन्दा आधा घण्टा अगावै विद्यालय पुगेकी थिइन् । अङ्ग्रेजी विषय भएकाले तयारीका साथ परीक्षा दिन उत्साहित हुँदै उनी विद्यालमा परीक्षाको समय पर्खेर बसिरहीन् । केही समय पछाडी परीक्षा हुन्न भन्ने खबर पाएपछि उनी पनि निराश हुँदै घरतर्फ लागिन् ।
उनी भन्छन्, ‘विद्यालय गएर पढ्न नपाए पनि घरमै बसेर तयारी राम्रै गरेको थिए, परीक्षा नै बन्द गरेर शिक्षक आन्दोलनमा उत्रदा हामी विद्यार्थीलाई असर पर्यो, स्थगित भएको परीक्षा कहिले हुने हो टुङ्गो छैन, विद्यार्थीको पढ्ने मनस्थिती नै खलबलियो ।’
संयुक्त शिक्षक संघर्ष समिति पाल्पाले कोरोनाविरुद्धको खोप नलगाउँदासम्मका लागि साउन १४ गतेदेखि जिल्लाभरका सबै शैक्षिक संस्थामा सञ्चालन भइरहेको सम्पूर्ण शैक्षिक गतिबिधि बन्द गर्ने निर्णय गरेपछि तय भएको कक्षा ११ को परस्क्षा पनि स्थगन भएको हो । कोरोनाविरुद्ध खोप लगाउन सम्बन्धित निकायले शिक्षकलाई उपेक्षा गरेको र राज्यले तोकेको उमेर समूह बाहेक सबै शिक्षकलाई खोप उपलब्ध नहुँदासम्म आन्दोलनमा उत्रने नेपाल शिक्षक महासङ्घकी अध्यक्ष धनकला गाहाले बताइन् ।
‘पाल्पामा पाँच हजार ७३१ शिक्षकमध्ये केहीले सरकारले तोकेको उमेर समूहमा परी कोरोना खोप लगाइसकेको भए पनि करिब चार हजार शिक्षकलाई खोप तत्काल आवश्यक परेको छ, कोरोनाविरुद्धको खोप सबै शिक्षकलाई व्यवस्था नभएसम्म पाल्पाका सबै विद्यालयको शैक्षिक गबिबिधि बन्द रहनेछ,’ उनले भनिन् ।
संयुक्त सङ्घर्ष समितिले शिक्षकले खोप नलगाउँदासम्म राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षा र विद्यालयले सञ्चालन गर्ने कक्षा ११ को परीक्षामा समेत सहभागी नहुने निर्णय गरी जिल्लाभरका विद्यालयलाई पत्राचार गरिसकेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा प्याब्सन, एन प्याब्सनसहित विभिन्न दश शिक्षक सङ्घ–सङ्गठनले ऐक्यबद्धता जनाएर संघर्ष शुरु गरेका हुन् ।
बिहीबार शिक्षा समन्वय तथा एकाइ कार्यालयमा खोप उपलब्ध गराउन माग राख्दै शिक्षकले धर्ना दिएका छन् । बुधवार जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयमा कोरोनाविरुद्धको खोप शिक्षकलाई उपलब्ध गराउन ज्ञापन पत्र बुझाइएको थियो ।
परीक्षा दिन उत्साहका साथ विद्यालयमा आएका विद्यार्थीलाई परीक्षा नहुने जानकारी गराएर घर पठाइएको रामतुलसी मावि रामपुरका प्रधानाध्यापक बालकृष्ण लम्साल बताउँछन् । विद्यालयमा कतिपयले परीक्षाको प्रवेश–पत्र बुझ्न बाँकी रहेका विद्यार्थीलाई दिएर घर फिर्ता गरिएको उनले बताए । अनलाइनमार्फत सञ्चालन गरिएको पठनपाठन पनि अहिलेका लागि स्थगन गरिएको छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4