Comments Add Comment

मदन पुरस्कारको श्रेष्ठ सूची : आख्यानको दबदबा

१५ साउन, काठमाडौं । शुक्रबार मदन पुरस्कार गुठीले २०७७ को मदन पुरस्कारका लागि नौ पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको छ । गुठीले गत वर्षभरि प्रकाशित भएका २२२ पुस्तकबाट अन्तिम नौ पुस्तकलाई चयन गरेको हो ।

लकडाउनले साहित्य र पुस्तक प्रकाशन बजार सुस्ताएको वर्ष भए पनि मदन पुरस्कार घोषणाले बजारमा माहोल सृजना गर्ने अपेक्षा गरिएको छ ।

२०१३ सालमा मदनशमशेर जबराको नाममा स्थापना भएको मदन पुरस्कार अहिले चार लाख रुपैयाँ राशिको रहेको छ । अघिल्लो वर्ष चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ ले यो पुरस्कार प्राप्त गरेको थियो ।

यस वर्षका नौ पुस्तक के–के हुन् र कस्ता छन् त ? विस्तृतमा ।

१. एकलव्यको देब्रे हात

गिरि श्रीस मगरको दोस्रो कवितासंग्रह ‘एकलव्यको देब्रे हात’ बागी कविताहरूको सँगालो हो । शीर्षक नै प्रतीकात्मक रहेको यस कवितासंग्रहमा चलिरहेको राज्यसत्ता, जातसत्ता, धर्मसत्ता र रुढी परम्परालाई बिम्बात्मक शैलीले प्रहार गरिएको छ । बुटवल बसेर इन्जिनियरिङको काम गर्दै आएका गिरि श्रीसको कवितासंग्रह ‘बुकहिल पब्लिकेसन’ले प्रकाशन गरेको हो ।

२. करिया

‘रक्तकुण्ड’ उपन्यासबाट चर्चामा आएका कृष्ण अविरलको उपन्यास करियामा दासमोचनको कथा उठाइएको छ । पुस्तक प्रकाशन संस्थासँग पनि आबद्ध अविरल दुई दशकदेखि साहित्यिक लेखनमा सक्रिय छन् ।

उपन्यासमा करियाका दुःखदेखि करिया मोचनका लागि चन्द्रशमशेरलाई उत्प्रेरित गर्ने पृष्ठभूमिका चरित्रसम्म समेटिएको छ । लेखक अविरलले यसलाई खोज–अनुसन्धानमा आधारित ‘ऐतिहासिक उपन्यास’ दाबी गरेका छन् ।

३. कल्प-ग्रन्थ

वर्ष २०७७ मा सर्वाधिक चर्चामा रहेको पुस्तक हो, कल्प–ग्रन्थ । २ हजार २१ रुपैयाँ मूल्य राखेर अग्रिम बुकिङ गरी किन्नुपर्ने यो पुस्तकमा ६५ थान कथा समेटिएका छन् । प्रयोगशील लेखन रुचाउने कुमार नगरकोटीले संग्रहमा सामान्य कथादेखि, चित्रकथा, इन्स्टलेसन कथासम्म समावेश गरेका छन् । ‘बुकहिल’ले प्रकाशन गरेको कल्प–ग्रन्थ नगरकोटीको दशौं पुस्तक हो । पुस्तक गत असार महीनामा मात्र पाठकको हातमा पुर्‍याइएको थियो ।

४. नृत्याक्षर विज्ञान

नृत्यका सिद्धहस्त मानिने नृत्य निर्देशक भैरवबहादुर थापाले नृत्य विज्ञानमा केन्द्रमा राखेर लेखिएको पुस्तक हो, ‘नृत्याक्षर विज्ञान’ । सात दशक कला तथा नृत्य क्षेत्रमा सक्रिय थापा अभिनेत्री भुवन चन्दका पिता समेत हुन् । ८० वर्ष कटेका थापाको पुस्तकमा शास्त्रीयदेखि, लोक तथा आधुनिक नृत्यसम्मको चर्चा गरिएको छ ।

५. फिलिङ्गो

प्रभा बरालको उपन्यास फिलिङ्गोमा नारी पात्रलाई केन्द्रमा राखी विवाह, प्रेम, मातृत्व र महिला शक्तिको विषय सघन रूपले उठाइएको छ । परिवार, समाज, धर्म, संस्कृति लगायत अनेक नाममा महिलामाथि गरिने विभेदका यी शृंखला कहिलेसम्म भन्ने मूल प्रश्नमा उपन्यास लेखिएको छ । बरालको यसअघि गजल, कविता र बाल कवितासंग्रह प्रकाशित छन् ।

६. फुलाङ्गे

दार्जीलिङमा बसेर कविता, कथा र पत्रकारितामा सक्रिय युवा सर्जक लेखनाथ क्षेत्रीको फुलाङ्गे उपन्यासले विधवा विवाहको कुरा उठाएको छ । दार्जीलिङको सन् १९८६ को गोर्खाल्यान्ड आन्दोलन र त्यसबेलाको समाज उपन्यासमा चित्रित छ । क्षेत्रीका दुई कवितासंग्रह ‘बाउको पसिना’ र ‘अक्षर अनप्लग्ड’ तथा भारतीय पत्रकार रविश कुमारको ‘द फ्री भ्वाइस’ को ‘मुक्त आवाज’ शीर्षकको नेपाली अनुवाद पुस्तक प्रकाशित छ । उपन्यास ‘सांग्रिला बुक्स’ले प्रकाशन गरेको हो ।

७. मोक्षभूमि

केशव दाहालको पहिलो उपन्यास मोक्षभूमिमा खस राज्यमा भएको दासमोचनको कथा उठाइएको छ । दास–दासीहरूलाई कसरी मुक्त गरियो र उनीहरूले स्वाधीन जीवनका लागि कसरी संघर्ष गरे भन्ने मूल विषयमा उपन्यास केन्द्रित छ । खस राजा क्राचल्लदेवको पालामा जुम्लाको सिंजामा भएको दासमोचनको घटना उपन्यासको मूल विषय हो । विवेकशील साझा पार्टीमा आबद्ध दाहालको उपन्यास ‘किताब पब्लिसर्स’ ले प्रकाशन गरेको हो ।

८. रमिते

युवा लेखक एवं गायक जेसन कुँवरको ‘रमिते’ नेपाली साहित्यमा चलिरहेको उपन्यासभन्दा बिल्कुलै भिन्न शैली र कथामा लेखिएको उपन्यास हो । नाइट ब्यान्डका गायक रहेका कुँवरले रमितेमा काल्पनिक कथाको सहारामा नेपाली माटोकै कथा भनेका छन् । ‘रेडपाण्डा’ले प्रकाशन गरेको पुस्तकको आवरणमा लेखकको नाम छैन । कथावस्तु, भाषा, चित्र र प्रस्तुतिले यो उपन्यासलाई प्रकाशनपछि चर्चा दिलाएको थियो ।

९. लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह

अनुसन्धानकर्ता भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह (सम्वत् १७१९–२०२०)’ इतिहास सम्बन्धी पुस्तक हो । पुस्तकमा लिम्बुवान क्षेत्रका राज्यव्यवस्था र जनजीवनका दस्तावेज (चिठीपत्र, कागजात, शिलालेख) लाई आधार मानेर लेखिएका खोजमूलक लेख समेटिएको छ । धरानका इङ्नामले यसअघि पनि लिम्बू जातिमाथि खोज–अनुसन्धान गरी पुस्तक लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment